स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा मध्यम स्थिति रहेको कञ्चनपुरका पालिकाले नयाँ बजेटमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन्। आगामी आर्थिक वर्षका लागि यहाँका पालिकाले बजेट बिनियोजन गर्दा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार, शिक्षा,कृषि र स्वास्थ्यका अन्य क्षेत्रमा लगानी बढाएका छन्।
कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकाले पहिलो प्राथमिकतामै स्वास्थ्य क्षेत्रलाई राखेर कोरोना सङ्क्रमण रोकथाम, जोखिम न्यूनीकरण, आवश्यक उपचारका लागि स्वास्थ्य संस्थाहरुलाई स्रोतसाधन र जनशक्ति विकासमा विशेष जोड दिएकोे छ। नगरप्रमुख सुरेन्द्र विष्टले आगामी वर्ष ‘म स्वस्थ्य मेरो नगर स्वस्थ्य’ अभियान सञ्चालन गर्ने नीति अवलम्बन गरिएको जानकारी दिए। “शारीरिक र मानसिक स्वास्थ्यताका लागि योग, व्यायम र ध्यान गर्न यहाँका सामाजिक संघसंस्थासित सहकार्य गरेर नगर योग केन्द्र सञ्चालन गरिनेछ।” उनले भने– “गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गर्ने नेपालीहरुलाई हेल्थ डेस्क स्थापना गर्नुका साथै होल्डिङ्ग सेन्टर सञ्चालनमा ल्याई थप स्रोतसाधन सम्पन्न बनाइने योजना छ।”
यहाँको महाकाली प्रादेशिक अस्पताललाई कोरोना भाइसर परीक्षणका लागि पीसीआर मेसिन खरिद गरिदिएको नगरपालिकाले निःशुल्क परीक्षणका लागि अस्पताललाई आवश्यक सहयोग गर्ने उनले बताए। “कोरोनाबाट मानवीय क्षेत्र व्यहोरेका लागि राहत सहयोग गर्न पनि पहल गरिनेछ”, उनले भने “कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने कर्मचारीहरुलाई प्रोत्साहन गर्न बजेट बिनियोजन गरिएको छ।”
भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि एक अर्व ५९ करोड बजेट पारित गरेको छ। त्यसैगरी यहाँको वेदकोट नगरपालिकाले पनि स्वास्थ्य क्षेत्र र संक्रामक रोग नियन्त्रणलाई प्राथमिकतामा राखेर आगामी वर्षका लागि बजेट ल्याएको छ। सो नगरपालिकाले ८३ करोड ९२ लाख बराबरको बजेट सार्वजानिक गरेको छ।
नगरप्रमुख अशोक कुमार चन्दले नगरमा अक्सिजन प्लान्ट निर्माणका लागि भवन र आइसोलेशन भवन निर्माण गरिने बताए। “कोभिड नियन्त्रणका लागि जनशक्ति थप गर्नुका साथै कोभिड अस्पताल समेत सञ्चालन गर्ने योजना छ।” उनले भने– “अवस्था सामान्य भए त्यहाँका कर्मचारीहरु बेदकोट नगर अस्पतालमा खटाइनेछन्।”
महामारी र प्राकृतिक प्रकोपबाट बढी जोखिममा रहेका कृषकलाई पारिवारिक पोषण लगायतका खाद्य सुरक्षा कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। त्यसैगरी यहाँको लालझाडी गाउँपालिकाले पनि कोभिड–१९ नियन्त्रण लगायत स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा बजेट मार्फत जोड दिएको छ।
गाउँपालिकाका उपाध्यक्ष कमलादेवी कार्कीले आगामी बर्षको बजेटमा हाल देखिएको कोभिड नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको बताए। त्यसैगरी यहाँको दोधारा चादँनी, शुक्लाफाटा, बेलौरी, पुनर्वास र कृष्णपुर नगरपालिकाले पनि आगामी वर्ष कोभिड–१९ नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन्।
त्यसका साथै सडक लगायतका पुर्वाधार विकास, कृषिलाई प्रोत्साहन हुने, शैक्षिक क्षेत्रको सु्धार र विस्तार लगायतका विभिन्नि क्षेत्रलाई समेटेर बजेट विनियोजित छ। हाल कोरोना सङ्क्रमण न्युन रहेको कञ्चनपुरमा शनिबार एकजनामा पनि पनि सङक्रमण पुस्टि भएन। महाकाली अस्पतालमा पनि सङ्क्रमितको सङ्ख्या घटिसकेको छ ।
यहाँस्थित स्वास्थ्य कार्यालयले सङ्क्रमणदर घट्दै गइरहेको जनाएको छ। सो कार्यालयले यहाँका सीमानाकाबाट स्वदेश फर्किने नागरिकहरुलाई सीमा क्षेत्रमा कोरोना परीक्षण भने जारी राखेको छ। कार्यालय प्रमुख शिवराज सुनारले सङ्क्रमणबाट जिल्लामा १ सय ८६ जनाको मृत्यु भएको बताए। नौ पालिका रहेको यहाँ करिब पाँच लाख जनसङ्ख्या छ।