असार १० गते महाकाली प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा सर्पदंशका एक बिरामी भर्ना भए । कञ्चनपुरको बेदकोट नगरपालिकाका १३ वर्षीय ती बालकको श्वासप्रश्वास लगभग रोकिइसकेको थियो । उपचारमा संलग्न डाक्टरहरूका अनुसार बालकको मुटुले समेत काम गर्न छाडिसकेको थियो । आकस्मिक कक्षमा प्राथमिक उपचारपछि उनलाई सोझै भेन्टिलेटरमा राखियो । ७ दिन भेन्टिलेटरमा उपचारपछि सामान्य वार्डमा सारियो । त्यसको ५ दिनपछि उनलाई डिस्चार्ज गरियो ।
‘भेन्टिलेटरको उपलब्धताले नै ती बालकको ज्यान जोगिएको हो,’ महाकाली प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डा. रमेश जोशीले भने, ‘यदि आईसीयू र भेन्टिलेटरको उपलब्ध नभएको भए उनको ज्यान जोगाउन सकिँदैनथ्यो ।’ उनका अनुसार सर्पले टोकेपछि ती बालकलाई सुरुमा घरमै झारफुक र जडीबुटी दिएर उपचार गर्न थालिएको थियो । अवस्था गम्भीर भएपछि मात्रै अस्पताल ल्याइएको थियो । ‘हामीले आईसीयूमा राख्नेबित्तिक्कै १० भाइल एन्टिस्नेक भेनम चलायौं, त्यसले केही फरक नभएपछि फेरि थप ५ भाइल चढायौं, त्यसले पनि सुधार भएन,’ डा. जोशीले भने, ‘अन्य उपचार पनि जारी राख्यौं दोस्रो दिनदेखि सुधार हुन थाल्यो ।’
उनका अनुसार सर्पदंशका बिरामीलाई बढीमा २० भाइलसम्म एन्टिस्नेक भेनम दिन सकिन्छ । त्यसले पनि सुधार नभए अन्य उपचार पद्धतितर्फ जानुपर्ने हुन्छ । भीमदत्त नगरपालिका– १० जिमुवाका ७० वर्षीय वृद्ध पनि सर्पले टोकेको धेरै बेरपछि मात्रै अस्पताल आएका थिए । उनी पनि बोल्न नसक्ने, श्वासप्रश्वासमा पनि समस्या भइसकेको अवस्थामा पुगेका थिए ।
सुरुमा आफैं झारफुकमा लागेको र निको नभएपछि मात्रै अस्पताल आएका थिए । ‘उनलाई पनि दुई दिन भेन्टिलेटरमा राखेपछि निको भयो,’ वृद्धको उपचारमा संलग्न डा. अर्जुन भट्टले भने, ‘आईसीयू र भेन्टिलेटर खाली भएपछि अहिले सर्पदंशका बिरामीको उपचारमा सहज भएको छ ।’
गत वर्षसम्म महाकाली अस्पतालमा भेन्टिलेटरसहितको सुविधा उपलब्ध थिएन । जसका कारण सर्पदंशका बिरामीको उपचारमा समस्या हुने गरेको थियो । सामान्य बिरामीलाई समेत धनगढी वा भारततर्फ रेफर गर्नुपर्ने बाध्यता थियो । गत भदौदेखि भेन्टिलेटरसहितको आईसीयू सेवा सुरु भएपछि सर्पदंशका बिरामीको उपचारमा निकै राहत भएको छ ।
जेठ अन्तिमसम्म पनि आईसीयूमा कोभिड–१९ का बिरामी थिए । अहिले कोभिड–१९ का बिरामी संख्या कम भएका कारण सर्पदंशका बिरामीको उपचार सजिलो भएको डा. भट्ट बताउँछन् । ‘कोभिडका बिरामीको चाप नघटेको भए सर्पदंशका धेरै बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउने थियो,’ डा. भट्टले भने, ‘तर बर्खा सुरु हुनेबित्तिकै संक्रमण दर घटेकाले सजिलो भयो ।’ महाकाली अस्पतालका अनुसार यो सिजना मात्रै ४६ पुरुष र ३२ महिला गरी सर्पदंशका ७८ बिरामी अस्पताल भर्ना भएका छन् । जसमध्ये २१ महिला र १२ पुरुष गरी ३३ जनालाई आईसीयूमै भर्ना गर्नुपर्यो । तीमध्ये आधाजतिलाई भेन्टिलेटरमै राखेर उपचार भएको छ ।
महाकाली प्रादेशिक अस्पतालका अनुसार चालु आर्थिक वर्षमा सर्पदंशका १ सय ३५ जना भर्ना भएका छन् । जसमध्ये ६८ जनामा विषको प्रभाव देखिएको थियो । तीमध्ये ३३ जनलाई आईसीयूमा राखेर उपचार गरिएको छ भने १५ जनालाई भेन्टिलेटरमै राखिएको थियो । अस्पतालमा सर्पदंशका बिरामीमध्ये १ जनाको मृत्यु र २ जना रेफर गरिएको छ, जुन आईसीयू र भेन्टिलेटर सेवा सुरु हुनुअघिकै हो । आईसीयूमा कोभिड १९ का बिरामीको उपचार भइरहेको अवस्थामा आएका दोधारा चाँदनीका एक जनाको रेफर गरिएको अवस्थामा धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
सुरुमा सर्पले टोकेको थाहा नै नपाउने र थाहा पाए पनि झारफुकमा लाग्ने गरेका कारण बिरामीको अवस्था गम्भीर भएपछि मात्रै अस्पताल आउने गरेको डाक्टरहरू बताउँछन् । जसका कारण शरीरभरि विष फैलिएर बिरामी गम्भीर अवस्थामा पुगिसक्ने गरेको पाइन्छ । ‘थाहा पाउनेबित्तिकै अस्पताल ल्याएमा ज्यान जोगिन सक्छ,’ डा. भट्टले भने, ‘घरमै झारफुकमा लागेर ढिलो गरी अस्पताल आए ज्यान जान सक्छ ।’
अहिले अस्पतालमा ३ जना सर्पदंशका बिरामीको उपचार भइरहेको छ । एक जनाको आईसीयूमा र दुई जनाको सामान्य वार्डमा उपचार भइरहेको छ । उनीहरू पनि ढिलो गरि अस्पताल भर्ना भएका हुन् । ‘सुरुमा घरमै झारफुकमा लाग्यौं, विष बढ्दै गएर गाह्रो भएपछि अस्पताल आएका हौं,’ ४ दिनअघि सर्पले टोकेपछि अस्पताल भर्ना भएकी दोधारा चाँदनीनगरपालिका २ की २४ वर्षीया हरिना धामीले भनिन्, ‘राति सुतेका बेला टोकेको हो, टोक्नेबित्तिकै थाहा पाए, त्यसपछि झराफुकमा लागे, बिहान मात्रै अस्पताल आए ।’
महाकाली अस्पतालमा दिनमा एक/दुई जना सर्पदंशका बिरामी भर्ना हुने गरेका छन् । ४/५ जनामध्ये एक जनामा विषालु सर्पले टोकको प्रभाव देखिने गरेको छ । अधिकांश करेत सर्पले टोकेका बिरामी आउने गरेका छन् । तराईमा अधिकांश सर्प विषालु हुँदैनन । विषालु सर्पले टोके पनि सबैले विष छाड्न पाएका हुँदैनन् । तर बिरामीहरू हतोत्साहित भएर बढी समस्या निम्तिने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । टोकेको थाहा पाउनेबित्तिकै सिधै अस्पताल आएमा जोखिम कम हुने उनीहरू बताउँछन् ।