धनगढीमा बाल उद्यान सञ्चालनमा
2021/07/18, 5:41
 
dhangadhi

 बालबालिकाकालाई मनोरञ्जन र पर्यटन प्रवर्द्धन गर्न धनगढीमा बाल उद्यान सञ्चालनमा ल्याइएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा ‘फूलवारी बाल उद्यान’ सञ्चालनमा ल्याइएको हो ।

एक समारोहकाबीच धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र उपप्रमुख शुशिला मिश्र भट्टले संयुक्त रुपमा उद्यानको रिवन काटेर समुदघाटन गरेका हुन्। उद्यानमा चारैतिर सुन्दर पर्खाल, बीच भागमा पानीको फोहरा, लाइटिङ, आरामका लागि प्याराफिट निर्माण लगायतका संरचना बनाइएको छ ।

आकर्षक फूलहरुका बोट रोपिएका छन् भने फोहोरमैला व्यवस्थापनका लागि डस्टविन ‘फोहरमलाई’, ड्यासिङ कार, डुङ्गा, रोटेपिङ, चर्का, ब्रेक डान्सलगायत मनोरञ्जन लिन सकिने आधुनिक साधनहरु राख्न बाँकी रहेको छ ।

उपमहानगरपालिकाका नगर प्रमुख वडले भने, “आवश्यक भौतिक संरचना निर्माण भइसकेको छ । बालबालिकालाई मनोरञ्जनका लागि चाहिने केही सामान राख्न बाँकी छ ।” नगर प्रमुख वडले नजिकै रहेको बसपार्कमा आउने यात्रुहरुलाई पनि आराम गर्नका लागि उद्यानले सहजता ल्याउने बताए ।

उपमहानगरपालिकाकी उपप्रमुख भट्टलेले धनगढी उपमहानरपालिकाका हरेक वडामा बालबालिकाका लागि मनोरञ्जनका लागि बाल उद्यान सञ्चालनमा ल्याउने योजना रहेको बताइन् ।

उनले भनिन् –”बाल उद्यानलाई यस उपमहानगरपालिकाका पर्यटकिय स्थलसंग जोड्ने प्रयास रहेको छ ।” उनका अनुसार बाल उद्यान, मनोरम पार्क, साइकल पथ र पर्यटकीय स्थलसम्म जोडी उपमहानगरपालिकाभित्र पर्यटकलाई आकर्षण गर्ने लक्ष्य रहेको छ ।

दुई करोड ३८ लाख ११ हजार छ सय ७० लागतमा निर्माण भएको सो उद्यानको निर्माण कार्य २०७६ सालदेखि निर्माण कार्य थालिएको थियो ।

धनगढी उपमहानगरपालिकामा हालसम्म धनगढी उपमहानगरपालिका वडा नम्बर १, वडा नम्बर २ र वडा नम्बर १९ मा बाल उद्यान सञ्चालनमा रहेका छन् ।