माया मेट्रो अस्पतालले भित्र्यायो अक्सिजन प्लान्ट, एक सातामै सञ्चालनमा आउने
2021/07/26, 7:38
 
aa

माया मेट्रो अस्पताल धनगढीले आफ्नो लगानीमा भारतबाट अक्सिजन प्लान्ट भित्र्याएको छ ।अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले एक हप्ता भित्र अक्सिजन प्लान्ट जडान गरिसक्ने बताए । यो प्लान्ट सञ्चालनमा आएपछि माया मेट्रो अस्पताल आफ्नै अक्सिजन प्लान्ट भएको सुदूरपश्चिमको पहिलो निजी अस्पताल हुनेछ ।

अस्पतालका अध्यक्ष साउँदले अक्सिजन प्लान्टको क्षमता प्रतिदिन ४५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने रहेको जानकारी दिए । उनले सम्पूर्ण शैयाहरुमा पाईपलाईनबाट अक्सिजन आपूर्ति गरिने बताए । अक्सिजनको अभावमा कोरोनाको दोस्रो लहरमा धनगढीमै करीव तीन सय जनाको मृत्यु भएको थियो ।

तेस्रो लहरमा अक्सिजनको अभाव वा कमिले कसैले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले अस्पतालले आफ्नै लगानीमा अक्सिजन प्लान्ट जडान गर्न लागेको अध्यक्ष साउँदले बताए ।

‘एक साताभित्रै जडान सम्पन्न गरेर उत्पादन सुरु हुन्छ। सुदूरपश्चिममा निजी अस्पतालमा पहिलो पटक यो सुविधा दिन लागिएको हो। दैनिक ४५ सिलिण्डर उत्पादनको क्षमता रहेको छ,’ उनले भने। झण्डै ७५ लाखको लगानीमा अक्सिजन प्लान्ट जडान भइरहेको उनले बताए। प्लान्ट जडान भएपछि उपचारमा निकै सहज हुने अस्पतालले जनाएको छ।