कोरोनाको कहरपछि भारतबाट सीमामा फर्किनेहरुको घुँईचो लाग्यो । सुरुवातका दिनमा धेरै नेपालीहरु सीममा पुगे पनि खाना र पानी नखाएर तड्पिनुपर्ने अवस्था आयो । तर पछि खाना खुवाउने वढी र भारतबाट आउने कम भएर खाना समेत खेर गयो । कोरोनाका कारण अधिकांश सुदूरपश्चिमेली रोजगारीका लागि घर फर्किएर क्वारेन्टाईनमा वस्दै घर फर्किएका छन भने क्वारेन्टाईनमा वस्नेहरुको संख्या पनि धेरै छ ।
अहिले आएर क्वारेन्टाईनमा वसेकाहरुलाई पनि खाना पानी खुवाउन व्यक्ती, संघ संस्थाहरु लागिरहेका छन् । घर पुगेका र क्वारेन्टाईनमा वसेकाहरुमध्ये प्रायः सवैको कोरोना परिक्षण हुन सकेको छैन् । सुदुरपश्चिममा कोरोनाको खतरा र सन्त्रास वढेको छ । खाना खुवाउने लहरपछि अहिले कोरोना परिक्षण गर्ने पिसिआर मेसिन र टिक खरिदको लहर चलेको छ । पिसिआर मेसिन सहितको प्रयोगशालाका लागि आवश्यक पुर्वाधार र प्राविधिक जनशक्ती भने यो प्रदेशमा छैन् । त्यसैगरी मेसिन खरिद गर्न सजिलो भए पनि त्यसको सञ्चालन गर्न पनि स्थानीय तहलाई हम्मे हम्मे र धौ धौ हुने पक्का छ ।
धनगढीमा चलाउन धौ धौ
सुदूरपश्चिम प्रदेशमा कोरोनाका सम्भावित संक्रमितको नमुना परीक्षणको कामले गति लिन सकेको छैन । प्रदेशमा एउटा मात्र प्रयोगशाला भएका कारण दैनिक संकलित थ्रोट स्वाबको नमुना परीक्षण हुन नसकेको हो । धनगढी प्रयोगशालाबाट दैनिक बढीमा दुई सय ५० नमुना परीक्षण सम्भव भएकाले संकलित नमुना डिप फ्रिजमा थन्क्याउनुपर्ने बाध्यता आईपरेको हो । थ्रोट स्वाबको नमुना संकलन भएको ७२ घण्टाभित्र परीक्षण गर्न सकेमा मात्र प्रयोगशालाले विश्वसनीय रिर्पोट दिने चिकित्सकहरू बताउँछन । पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीमा अहिले सञ्चालनमा रहेको कोरोना परीक्षण प्रयोगशालामा जडान गरिएको आरटी पीसीआर मेसिन पनि संघीय सरकारले उपलब्ध गराएको हो ।
आवश्यक जनशक्तीको पनि समस्या
प्रयोगशालाको कमी मात्रै होईन आवश्यक जनशक्ती अभावका कारण सुदूरपश्चि प्रदेशमा कोरोना परीक्षणमा ढिलाई हुन थालेको छ । पिसीआर विधिबाट धनगढीमा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको भए पनि स्वाब सङ्कलन धेरै भएकाले समस्या भएको हो । धनगढीमा केन्द्रबाट पठाएको प्रयोगशाला सञ्चालनमा आउनुअघि यहाँ संकलन गरिएका स्वाब सुर्खेत र काठमाडौँ प्रयोगशालामा परीक्षणका लागि पठाउने गरिएको थियो । भारतका विभिन्न स्थानबाट स्वदेश फर्किने क्रम बढेसँगै कोरोनाको संक्रमण फैलिने सम्भावना बढिरहेको छ । तर धनगढीको प्रयोगशालामा दैनिक तीन सिफ्मा सञ्चालन गर्न पनि जनशक्ती छैन् ।
एक जना काठमाण्डौंबाट आएका सहित अन्य सेतीमा कार्यरत प्राविधिकहरुलाई प्रयोगशालामा खटाएर नमुना जाँच भईरहेको छ । सुदुरपश्चिम प्रदेशमा अन्य नमुना जाँच गर्ने प्राविधिक जनशक्ती रहेका छैनन् । अहिले दैनिक बढिमा दुई सय देखि दुई सय ५० जनाको परीक्षण गरिरहेको धनगढी प्रयोगशालाले नमूना संकलन भए अनुसार गति दिन नसकिएको जनाएको छ । नमूना मात्रै संकलन गरेर पठाउँदा प्रयोगशालामा उपलब्ध जनशक्ति एवंम उपकरणले परीक्षण गर्न नभ्याउने देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला इन्चार्ज रमेश शाहीले प्रयोगशालामा अहिले नमूनाको चाप बढेको बताए । उनले दैनिक बढिमा दुई सय ५० वटा नमूना परीक्षण भईरहेपनि जनशक्ति अभाव लगायतका कारणले गति दिन नसकिएको जनाए ।
पिसीआर मेसिन किन्नेहरुको होड
सुदुरपश्चिममा संघ संस्था र स्थानीय तहहरुले धमाधम कोरोना परिक्षण गर्ने पिसिआर मेसिन खरिदको निर्णय गर्न थालेका छन् । प्रदेश सरकारले पनि तीन वटा मेसिन किन्ने प्रक्रिया अगाडी वढाएको छ । कोरोना संक्रमण बढ्न थालेपछि सुदूरपश्चिमका स्थानीय तहहरु पिसिआर मेसिन खरिदका लागि अग्रसर देखिएका छन । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बूढीगङ्गा नगरपालिकादेखि भारतसित सीमा जोडिएका कञ्चनपुरको भीमदत्त नगरपालिकासम्मले पिसिआर मेसिन खरिदका लागि रकम विनियोजन गरेर प्रक्रिया अघि बढाएका हुन । प्रदेशमै एकमात्रै पिसिआर प्रयोगशाला धनगढीमा स्वाबको चापका कारण नयाँ कोरोना सङ्क्रमण जोखिम बढेको भन्दै बझाङका पालिका मिलेर पिसिआर मेसिन जिल्लामा भित्र्याएर कोरोना परीक्षणको दायरा बढाउने गृहकार्यमा जुटेका छन । बझाङको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बझाङका प्रत्येक पालिकाले दशदेखि पन्ध्र लाखका दरले रकम संकलन गर्ने बताए ।
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाले पीसीआर जाँच मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ । पीसीआर जाँच समस्याकै कारण सर्वसाधारणले सास्ती भोग्नु परेको र कोरोना संक्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न ३० लाख बजेट विनियोजन गरिएको छ । बाजुराको बूढीगङ्गा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले आरडिटीको भर पर्दा संक्रमण जोखिम झन बढेको बताए । पिसीआर जाँचका लागि नमुनाहरु धनगढी पठाउँदा हप्तौ दिन कुर्नुपर्ने वाध्यता रहेकोले नगरपालिकाले नै मेसिन खरिद गर्ने निर्णय गरिएको बताए ।
कोरोना संक्रमित बिरामीको परीक्षणको दायरा बढाउन भीमदत्त नगरपालिकाले पिसिआर मेसिन खरिद गर्ने भएको छ । खरिद ऐनका आधारमा ई बिडिङ मार्फत खरिद गरिने नगरपालिकाले जनाएको छ । यसका लागि प्रक्रिया समेत बढाईएको छ । नगरपालिकाको कोडिभ १९ रोकथाम तथा नियन्त्रण सम्बन्ध निर्देशक एवम् समन्वय समितिले मेसिन खरिद गर्ने निर्णय गरेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले संक्रमणको उच्च जोखिम देखिनुका साथै संकटसित लड्न पिसिआर मेसिन आवश्यकता रहेको भन्दै खरिद प्रक्रिया अघि बढाईएको बताए ।
त्यसैगरी डडेल्धुराको अमरगढी नगरपालिकाले पनि डडेल्धुरा अस्पतालमा स्थापना गरिने कोरोना परीक्षण प्रयोगशालाका लागि २० लाख दिने निर्णय गरेको नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउँदले जानकारी दिए । कोरोना संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका बढिभन्दा बढी व्यक्तीको कोरोना परीक्षणका लागि ह्युमानिटी फाउण्डेसनले एक व्यक्ती दुई किट अभियान सञ्चालन गरिरहेको छ । डडेल्धुरामा स्थापना गर्ने प्रयोगशाला र पिसीआर मेसिनका लागि स्थानीयस्तरदेखि देश विदेशमा पनि अभियान सञ्चालन गरिरहेको फाउण्डेसनका अध्यक्ष श्याम तायलले बताए ।
अछाम जिल्लामा पनि कारोना भाईरसको परिक्षणका लागि पिसिआर प्रयोगशाला मेसिन खरिदका लागि पहल सुरु भएको छ । जिल्ला स्थित अछाम उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघ संस्था तथा व्यक्तीहरुले मेसिन खरिदका लागि पहल सुरु गरेका हुन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा कोरोनाको लक्षण देखिएका तथा क्वारेइनटाइनमा बसेका ब्याक्तिहरुको समयमा चेकजाँच गर्ने मेसिन तथा किटको अभावले त्रास भईरहेको भन्दै छिटो परिक्षण गर्ने बातावरण सृजना गर्न मेसिन खरिद गर्ने पहल थालिएको अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडाएतले बताए ।
सुदुरपश्चिम सरकारले थप तीन वटा प्रयोगशाला सञ्चालनका लागि उपकरण खरिद भईरहेको जनाएको छ । सुदूरपश्चिमको मन्त्री परिषद्ले गरेको निर्णय अनुसार तीन वटा प्रयोगशाला स्थापनाका लागि टेण्डर आह्वान भईसकेको सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । ‘तीन वटा पीसीआर मेसिन सहित प्रयोगशाला सञ्चालनका लागि आवश्यक थप सामाग्री खरिद गर्न टेण्डर भईसकेको छ,’ मन्त्री सुवेदीले भने, ‘असार दोस्रो सातासम्म बैतडी, डोटी र कैलालीमा मेसिन जडान गरेर सञ्चालनमा ल्याउँछौ ।’
यसैबीच उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले शुक्रबारसम्म थप तीन वटा पिसिआर परिक्षण गर्न मेसिन सुदूरपश्चिम प्रदेश आउने बताएका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण, उपचार एवम् अन्य आवश्यकताको पूर्तिलाई अझै प्रभावकारी र सहज बनाउने उद्देश्य सहित विभिन्न अन्य सरोकारवालाको टोली सहित धनगढी पुगेका भट्टले २ वटा पहाडी जिल्ला र एउटा कञ्चनपुरका लागि पिसिआर मेसिन ल्याउन लागिएको बताएका हुन् ।
विहीवारसम्म संघीय सरकारका मन्त्री लेखराज लेखराज भट्टले पठाउने भनेको ३ वटा मेसिन, प्रदेशको सामाजिक विकास मन्त्रालयले किन्न थालेको ३ वटा मेसिन सहित कञ्चनपुर, डडेल्धुरा, वझांग, वाजुरा र अछाममा गरी ११ वटा पिसिआर मेसिन सुदुरपश्चिम प्रदेशमा पुग्नेछन् । पिसिआर मेसिन धमाधम किन्ने तयारी हुँदा त्यो अनुसारको जनशक्ती र पुर्वाधार भने नरहेको जानकारहरु बताउँछन् ।
पुर्वाधार र जनशक्ती छैन्
सुदुरपश्चिम प्रदेशमा पिसीआर मेसिन किन्ने दौड वढेका वेला त्यो अनुसारको पुर्वाधार भने छैन् । सामान्य प्रयोगशाला सञ्चालनका लागि पनि आवश्यक पुर्वाधार नभएका वेला कोरोना परिक्षण गर्ने प्रयोगशालाका लागि चाहिने मापदण्ड अनुसारका कुनै पनि पुर्वाधार छैनन् ।
सामान्य प्रयोगशालाका पनि मापदण्ड छैन, कोरोनाको कुरै छोडौं
विभिन्न जिल्लाहरुमा पिसिआर मेसिन खरिद गरेमा तिनीहरु सञ्चालनका लागि छुट्टै र व्यवस्थित प्रयोगशाला हुनुपर्ने मापदण्ड सरकारले बनाएको छ । सामान्य प्रयोगशाला सञ्चालनका लागि पुग्ने मापदण्ड सुदुरपश्चिममा नहुँदा अझ कोरोना परिक्षण प्रयोगशालाको त कुरै छोडौं । धनगढी प्रयोगशालाका ईन्चार्ज रमेश शाहीले कोरोनाको पीसीआर परीक्षणका लागि स्थापना गरिने प्रयोगशालाका लागि कम्तीमा तीन वटा कोठा भएको भवन आवश्यक पर्ने बताए । उनले पीसीआर मेसिन मात्र नभएर बायो सेफ्टी मेसिन लगायतका अन्य उपकरण समेत आवश्यक पर्ने भएकाले सबैको व्यवस्थापनका लागि छुट्टाछुट्टै कोठा चाहिने बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले कैलाली, डोटी र बैतडीमा एकै साथ तीन वटा आरटी–पीसीआर मेसिन सञ्चालन गर्नका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न तयारी थालेको छ । तर उक्त मेसिनहरु जडान गरि संञ्चालन गर्नका लागि चाहिले तयारी थाल्न ढिलाई भईरहेको छ । प्रयोगशाला संञ्चालन हुने सुदूर पहाडका जिल्ला अस्पतालहरुको अवस्था बुझ्न पनि वेवास्ता भईरहेको छ ।
सामान्य प्रयोगशाला स्थापनाका लागि धेरै प्रक्रियाहरु पुरा गर्नुपर्ने अवस्थामा कोरोना परिक्षण प्रयोगशाला अझ वढी जोखिम र चुनौतीपुर्ण भएकोले विशेष मापदण्ड राखेर बनाउनुपर्ने हुन्छ । तर त्यसका लागि कुनै पनि जिल्लामा मापदण्ड पुगेको छैन् । सरकारले कोभिड १९ परीक्षण गर्ने प्रयोगशालाका लागि ‘ईन्टेरियम गाइडलाईन फर दि गाइडलाइन फर दी इस्ट्याबलिसमेन्ट एण्ड अपरेशनलाइजेसन अफ मोलिक्युलर ल्याबोरेटोरिज फर कोभिड – १९ टेष्टिन इन नेपाल’ निर्देशिका जारी गर्दै कोरोना परिक्षण प्रयोगशालाका वारेमा उल्लेख गरिएको छ । कोरोना परीक्षणका लागि प्रयोगशाला कस्तो हुने भन्ने मापदण्ड सहितको निर्देशिका बनेको छ ।
सो सम्बन्धीको पुरा निर्देशिका पढ्न तलको पिडिफ फाईल क्लिक गर्नुहोस्
Interim_guideline_for_est_Operationalization_Lab_COVID-19_27-04-2020.PDF
कहाँबाट आउँछन जनशक्ती ?
कोरोना परिक्षण प्रयोगशाला सञ्चालन गर्नका लागि कम्तिमा तीन कोठा भवन आवश्यक पर्छ । जनशक्तीमा माष्टर लेवल मेडिकल माईक्रो वाईलोष्टिज वा जीव विज्ञानमा स्नाकोत्तर गरेको दक्ष प्राविधिक अनिवार्य हुनुपर्ने सरकारकै निर्देशिकामा छ । कम्तिमा सर्टिफिकेट लेवलका र ल्यावका अन्य जनशक्तीहरु हुनुपर्ने भनिएको छ । तर सुदुरपश्चिममा हाल ती जनशक्तीहरु छैनन् । धनगढी प्रयोगशाला ईन्चार्ज रमेश शाहीले एक्लै प्रयोगशाला धानिरहेका छन् । धनगढीमा पनि माईक्रो वायोलोष्टिक काठमाण्डौंबाट पठाईएको छ । अव अन्य स्थानमा माईक्रो वायोलोष्टिक कसरी हुन्छन् भन्ने कुरामै शंका रहेको छ । ११ वटा मेसिनलाई पुर्ण रुपमा सञ्चालन गर्नका लागि एक प्रयोगशालामा कम्तिमा १० जना आवश्यक पर्छ । यो हिसावले कम्तिमा ११० जना जनशक्ती तुरुन्तै खोज्न र खोजिहाले पनि पाउन मुस्किल छ । पाई हालेमा पनि कतिपयले काम गर्न अनिच्छुक हुन सक्छन् । ईच्छुक भएकाहरुलाई पनि सेवा सुविधा तथा पारिश्रमिक कस्ले दिन्छ भन्ने अन्यौलता आउने देखिएको छ । पुर्वाधार व्यवस्थापन गर्न वरु सजिलो भएपनि जनशक्ती व्यवस्थापन गर्न भने निकै गाहे छ ।
जनशक्ती र पुर्वाधारमा ध्यान गएको छैन
स्थानीय तहहरुले धमाधम पिसिआर मेसिन खरिदका लागि दौडधुप गरिरहे पनि त्यसको सञ्चालन तर्फ भने कसैको ध्यान गएको छैन् । पिसिआर मेसिन कम्पनीहरु अनुसार ५० लाखदेखि डेढ करोडसम्म मुल्यांकन हुने गरेका छन् । तर सवैले मसिन किन्नका लागि चासो देखाएपनि आवश्यक जनशक्ती र पुर्वाधारतर्फ वेवास्ता गरिएको छ ।
जिल्ला अस्पताल बैतडीका मेसु डाक्टर बसन्तराज जोशीले पीसीआर मेसिन आइहाले पनि तत्काल जडान गर्न सकिने अवस्था नहरेको बताउँछन् । उनले सानो ठाउँमा धेरै कुराको व्यवस्थापन गर्नुपर्ने भएकाले स्थानको टुङ्गो लगाउन केही समय लाग्ने जनाए । प्रदेश सरकारसँगै सुदूरपश्चिमका अधिकासं स्थानीय तहहरु पनि कोरोना प्रयोगशाला संञ्चालनका लागि आवश्यक पर्ने आरटी–पीसीआर मेसिन सहित अन्य उपकरण खरिदको कसरतमा जुटेका छन् ।
प्रयोगशाला स्थापना गर्नका लागि चाहिने थप तयारी गर्न कसैले पनि चसो देखिएको देखिन्न । कञ्चनपुरको महाकाली अस्पतालका मेसु डाक्टर हरिकुमार श्रेष्ठले प्रयोगशाला स्थापनाका लागि भौतिक संचरना बनाउन स्थान हेरिरहेको बताए । सुदूरपश्चिम सरकारले संञ्चालनमा ल्याउने थप तीनबाट आरटी–पीसीआर मेसिन स्थापनाको तयारी थाल्न ढिलाई भईरहेका बेला स्थानीय तहहरुले प्रयोगशाला संञ्चालनका लागि निरन्तर छलफल भईरहेको दावी गरेका छन । डडेल्धुराको अमगरगढी नगरपालिकाका उप–मेयर संगीता भण्डारीले पनि प्रयोगशाला स्थापनाका लागि आवश्यक तयारी भइरहेको बताईन् । यो संगै प्रयोगशाला संञ्चालनका लागि आवश्यक पर्ने जनशक्ती व्यवस्थापनमा समेत प्रदेश र स्थानीय सरकार उदासिन देखिएका छन । अहिले सुदूरपश्चिममा कोरोना परीक्षण गर्ने प्रयोगशाला अभावकै कारण हप्तौंसम्म हजार बढी नमुना थन्काउनु पर्ने बाध्यता छ ।
“जिल्ला समन्वय समिति र नगरपालिकाले १५ लाख र गाउँपालिकाले १० लाखका दरले रकम सङ्कलन गरेर असार १ गतेभित्र जिल्ला विपद् व्यवस्थापन समितिको खातामा जम्मा गर्ने निर्णय भएको छ ।” बझाङको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले भने, “तत्काल प्रयोगशाला स्थापनाका लागि खरिद प्रक्रिया अघि बढाईनेछ । अन्य कुराहरु तर्फ तत्काल अरु कुराहरुमा ध्यान दिएका छैनौ ।”
बाजुराको बूढीगङ्गा नगरपालिकाका नगर प्रमुख दीपक विक्रम शाह पनि जनशक्तीको चिन्ता लाग्न थालेको बताउँछन् । “हामीले पनि पिसिआर मेसिन खरिद गरेर जिल्लामा कोरोना प्रयोगशाला स्थापनाका लागि ३० लाख बजेट छुट्याएका छौं ।” नगर प्रमुख शाहले भने, “प्रयोगशालाको जनशक्ती र भौतिक पूर्वाधार व्यवस्थापन चुनौतीपूर्ण नै छ । राज्यले जनशक्ति व्यवस्थापनका लागि स्पष्ट कार्यविधि नबनाउँदा समस्या छ । यहाँका सात पहाडी जिल्लामा अहिलेसम्म यो स्तरको प्रयोगशाला कही पनि स्थापना भएको छैन ।” भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट पनि मेसिन खरिद तर्फ नै वढी ध्यान दिएको बताउँछन् । “खरिद प्रक्रियाको नियमावलीमै रहेर प्रक्रिया अघि बढाएर असारभित्रै स्थापना गर्ने गृहकार्यमा छौं ।” नगर प्रमुख विष्टले भने, “प्रयोगशाला सञ्चालनको जिम्मेवारी महाकाली अस्पताललाई दिनेछौँ ।” डडेल्धुराको अमरगढी नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउँद मेयरबाट यो विषयमा पहल भएर प्रक्रिया अघि बढेको वताउँदै भन्छन्, “यहाँका अन्य स्थानीय तह र निकायसित पनि प्रयोगशाला स्थापनाका लागि सहयोग गर्न अपिल समेत गरेका छौँ ।”
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीका अनुसार धनगढीमा सञ्चालनमा रहेको प्रयोगशालामा दैनिक २५० भन्दा बढी परीक्षण गर्न सकिँदैन । “प्रदेश सरकारले डोटी र बैतडीमा प्रयोगशाला स्थापनाको प्रक्रिया अघि बढाएर असार १५ गतेभित्रै सञ्चालनको तयारीमा छ ।” निर्देशक डा अवस्थीले भने, “अहिले एउटा मात्रै प्रयोगशाला हुँदा परीक्षणको चाप धेरै भयो ।” उनले पनि पहाडी जिल्लामा जुनसुकै निकाय वा तहबाट प्रयोगशाला स्थापना भए पनि भौतिक संरचना र दक्ष जनशक्तिका विषयमा पनि पहल आवश्यक रहेको बताए । “पहाडी जिल्लामा प्रयोगशालामा काम गर्न एक जना जनशक्ती पनि नभएको अवस्था छ ।” उनले भने, “भौतिक संरचनाको अवस्था पनि ठीक छैन ।”
सुदूरपश्चिममा कोरोना परीक्षणको दायरा बढाउन उपकरण खरिदको प्रक्रिया सुरु भएपनि प्रयोगशाला स्थापना गर्न आवश्यक पर्ने संरचना तयार गर्न भने वेवास्ता गरिएको छ । प्रदेशको समाजिक विकास मन्त्रालय सहित विभिन्न स्थानीय तहले समेत उपकरण खरिदको प्रक्रिया सुरु गरेपनि प्रयोगशाला स्थापना गर्नका लागि आवश्यक पर्ने संरचना निर्माण गर्न ढिलाई भईरहेको छ । प्रयोगशाला संञ्चालनका प्रदेशका अधिकांश अस्पतालहरुले समेत तयारी सुरु गरेका छैनन् । जसका कारण उपकरण खरिद भएपनि थन्काउनु पर्ने बाध्यता सिर्जना हुन सक्ने देखिएको छ । तर पनि प्रदेश र स्थानीय सरकारको ध्यान त्यसतर्फ जान सकेको छैन ।