‘नागरिकलाई कोरोनाको कहर, सामाजिक विकास मन्त्रालयलाई विलासिताका सामानको रहर’
2020/06/11, 8:03
 
korona

शेरबहादुर ऐर- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा कोरोना अस्पताल निर्माण गर्न नसकेको प्रदेशको सामाजिक विकास मन्त्रालय अहिले जेनेरेटर तथा विद्युतिय सामाग्री खरिदमा बजेट खर्च गर्न लागेको छ । मन्त्रालयले जेठ २१ गते विद्युतीय उपकरण खरिदका लागि बोलपत्र आह्वान गरेको छ भने २५ गते जेनेरेटर खरिदका लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना जारी गरेको छ ।

b

मन्त्रालयले २१ गते आह्वान गरेको दरबन्दी सूचनामा ल्यापटप, स्टेपलाइजर, प्रिन्टर, एसी लगायतका विद्युतिय उपकरण रहेका छन । मन्त्रालयले कुन कति थान खरिद गर्न लागिएको हो भन्ने कुरा उल्लेख गरेन । मन्त्रालयका लागि एक सय ८० केभिएको ८० किलो वाटको जेनेरेटर आवश्यक परेको भन्दै बोलपत्र आह्वान गरेको छ ।
सुदूरपश्चिमसहित देशभरीनै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बैशाख २१ गते प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले मातहातका मन्त्रालयलाई केही शिर्षकको बजेट रोक्का गर्न परिपत्र गरेको थियो । मन्त्रालयले परिपत्र गरेको एक महिनापछि सामाजिक विकास मन्त्रालयले पनि रोक्का शिर्षकको पालना नगरी विद्युतीय उपकरणहरु खरिद गर्ने तयारी गरेको पाईएको छ ।

b

मन्त्रालयले परिपत्र गरेको सो पत्रको पुजिगत तर्फको खर्च शिर्षक ३११३२ मा कम्प्यूटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं अन्य बैद्धिक सम्पत्ती प्राप्ती खर्च र शिर्षकमा नम्बर ३११२२ मा मेशिनरी तथा औजार’ उल्लेख छ । मन्त्रालयले दुबै शिर्षकलाई नटेरी विद्युतिय सामाग्री तथा मेसिनरी खरिद गर्न लागेको छ । मन्त्रालयका सूचना अधिकारी हेमराज खडकाले विद्युतिय उपकरण तथा मेशिनरी खरिद गर्न लागेको स्वीकार गरे तर, खरिद प्रक्रिया किन अघि बढाइएको भन्नेबारे जानकारी नभएको बताए । मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टले आवश्यकताका आधारमा मन्त्रालयले विद्युतीय सामाग्री तथा मेशिनरी खरिद गर्न लागेको बताए ।

उनले भने –अर्थ मन्त्रालयबाटै ती शिर्षकको बजेट फुकुवा गराएर खरिद प्रक्रिया अघि बढाएका हौं ।’ प्रदेशको पहाडी जिल्लामा कोरोना अस्पताल स्थापना ध्यान दिन नसकेको मन्त्रालय र निर्देशनालयले यसरी विलासिता खर्च गरिरहेको प्रति प्रदेश सभा सदस्यहरु आक्रोसित छन । सुदूरपश्चिम प्रदेशको प्रि–बजेट सम्बन्धी छलफलमै प्रदेश सभा सदस्य लिलाधर भट्टले कोरोना नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको प्रति कटाक्ष गरेका थिए । उनले भनेका थिए–बैतडीमा कोरोना संक्रमित बढेका बढ्यै छन । संक्रमितलाई राख्न अस्पतालमा बेडको पनि व्यवस्था छैन ।

प्रदेश सरकारलाई पहाडी जिल्लामा कोरोना अस्पताल स्थापना गर्न माग गर्दा बजेट अभाव छ भन्ने प्रतिक्रिया आयो ।’ उनी यतिमै नरोकिई भने –‘हामीलाई थाहा छ तपाइहरुको बजेट कहा छन भनेर ।’ उनले प्रदेश सरकारले पा“च लाखका भवन मर्मत, साना योजनाहरुमा बजेट खर्च अघि बढीरहेको आरोप लगाएका थिए ।
सुदूरपश्चिम प्रदेशमा अहिले दुई ४६ वटा आइसोलेसन बेड रहेका छन भने १४ आइसियू बेड र आठ वटा भेन्टिलेटर रहेको छ ।

b

सुदूरपश्चिम प्रदेशमा अहिले भारतबाट फर्केका नेपालीहरू विभिन्न क्वारेन्टाइनमा छन । सम्बन्धीत स्थानीय तहलाई अहिले क्वारेन्टाइन व्यवस्थापन गर्न, क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई खानाको व्यवस्था गर्न समस्या भईरहेको छ । क्वारेन्टाइनमा रहेका व्यक्तीहरूको आरडिटी तथा पिसिआर परिक्षण पनि राम्रोसंग हुन सकेको छैन । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले सदनमा विकास तथा अन्य शिर्षकका बजेटलाई रोकेर कोरोना नियन्त्रण तथा रोकथाममा लगाउन माग गरिरहेका छन् ।

अहिले सदनभित्र र सडकबाटै प्रदेश सरकारलाई पिसिआर परिक्षणको दायरा बढाउन दबाब आइरहेको छ । सुदूरपश्चिम प्रदेश सभाको छैठौं अधिवेशनको बैठकको शून्य समयमा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य दीर्घ सोडारीले प्रदेश सरकारलाई पिसिआर परिक्षणको दायरा बढाउन आग्रह गरेका थिए । उनले भनेका थिए –‘प्रदेशमा पिसिआर मेसिन एक मात्र छ । त्यसले दैनिक दुई सय ५० भन्दा बढी परिक्षण गर्न सक्दैन, त्यसैले प्रदेश सरकारले थप पिसिआर मेसिनको व्यवस्था गरि परिक्षणलाई बढाउन आवश्यक रहेको छ ।’ बुधबार मात्र युवा समुहले प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी आरडिटी परिक्षण रोकी पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै धर्ना दिएको थियो ।