सुदूरपश्चिम सरकारले माग्यो ८ जना ल्याव टेक्निसियन, सेतीमा दुई जना थपिए
2020/06/12, 2:03
 
korona

सुदूरपश्चिम सरकार ८ जना ल्याव टेक्निसियन थप्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को परिक्षण बढाउनका लागि प्रदेश सरकारले ८ जना ल्याव टेक्निसियन थप्नका लागि विज्ञापन खोलेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ती तथा व्यवस्थापन केन्द्रले ८ जना ल्याव टेक्निसियनका लागि सूचना प्रकाशन गरेको केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले जानकारी दिए ।

जेठ ३२ गतेसम्म आवेदन खुला रहने उनले बताए । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले ८ जना ल्याव टेक्निसियन थपिए कोरोना भाइरसको परिक्षणले तिव्रता पाउने बताए । यता सेती प्रादेशिक अस्पतालले संघीय सरकारको समन्वयमा धनगढीमा सञ्चालन गरेको कोरोना परीक्षण प्रयोगशालाका लागि दुई जना ल्याब टेक्नोलोजिष्ट छनौट गरेको छ । अस्पतालले आह्वान गरेको आवेदन अनुसार परेका दरखास्तबाट दुई जना ल्याब टेक्नोलोजिष्टलाई छनोट गरिएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

2

श्रेष्ठका अनुसार अस्पतालले माग गरेको आवेदन अनुसार चार जनाले दरखास्त दिएकोमा अन्तरवार्ता बोर्डले दुई जनालाई  छनौट गरेको हो । यसरी छनौट हुनेमा ल्याब टेक्नोलोजिष्ट रेनुका ज्ञवाली र सुनिलबहादुर सिह रहेका छन । छनौट भएकाहरुलाई जेठ ३२ गते भित्र नियुक्तीका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क राख्न आग्रह गरिएको छ ।

दुई जना ल्याब टक्नोलोजिष्ट थपिएमा धनगढी प्रयोगशालामा तत्काल जनशक्ति अभावका कारण भईरहेको समस्या केही समय सम्म हल हुने विश्वास गरिएको छ । अहिले प्रयोगशालामा पाँच जना प्राविधिक कर्मचारी भएका कारण नमुना परीक्षणमा ढिलाइ भईरहेको छ । प्रयोगशालामा अब थपिने कर्मचारीको सेवा सुविधा भने संघीय सरकार मातहत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले व्यहोर्ने समझदारी भएको सेती अस्पतालले जनाएको छ ।