कञ्चनपुरमा भारतबाट फर्किनेलाई नाकामै खोप
2021/09/01, 12:21
 
aa

 भारतबाट घर फर्किने नेपालीलाई नाकामै कोरोनाविरुद्धको खोप दिन थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किनेलाई खोप दिन लागेको हो ।

सरकारको निर्णयअनुसार भारतबाट फर्किनेलाई अहिले अस्ट्राजेनेकाको खोप दिइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । उनका अनुसार पहिलो डोज नाकामा लगाएकाहरूका लागि दोस्रो डोज भने सम्बन्धित पालिकामै पाउनेछन् ।

‘भारतबाट घर फर्किने सबैलाई खोप लगाउन थालिएको छ,’ स्वास्थ्य कार्यालय प्रमुख सुनारले भने, ‘अधिकांश भारतमै खोप लगाएका आइरहेका छन् ।’ गड्डाचौकी नाकाबाट अहिले दैनिक दुई/अढाई सय जना भित्रिने गरेका छन् । तीमध्ये अधिकांश भारतमै खोप लगाएर आउने भएकाले नाकामा खोप लगाउने संख्या दैनिक एक सयको हाराहारीमा छ । गत फागुनमा कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राका रूपमा अस्ट्राजेनेकाको खोप लगाएको थियो । त्यसबाट बचेको खोप अहिले नाकामा घर फर्किनेलाई लगाउन थालिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबारसम्म गड्डाचौकी नाकामा ३ सय ७५ जनालाई अस्ट्राजेनेकाको खोप लगाइएको छ । गत बिहीबारदेखि खोप दिन सुरु गरिएको हो । बिहानैदेखि घर फर्किनेहरूलाई नाकामै एन्टिजेन परीक्षणपछि कोरोनाविरुद्धको खोप लगाइन्छ । पोजिटिभ आएकालाई एम्बुलेन्सबाट सिधै आइसोलेसनमा लगिन्छ भने नेगेटिभ आएकाहरूलाई खोप लगाइन्छ । नाकामै खोप लगाउन सुरु भएपछि घर फर्किने कामदारहरूलाई निकै राहत भएको छ । भारतमा खोप नपाएका र नेपालमा समेत नपाउने अवस्थाका कारण उनीहरू निकै चिन्तित थिए । ‘भारतमा पनि पाएनौं, गाउँमा पनि पाइँदैन भन्ने चिन्ता थियो,’ भारतको हिमाञ्चलबाट घर फर्किएका जाजरकोटको छेडेगाडका लोकेन्द्र विष्टले भने, ‘नाकामै खोप पाइयो, अब अर्को खोप लाएपछि मात्रै काममा फर्किने हो ।’

दार्चुलाका नरेन्द्र जोशीले पनि सोमबार गड्डाचौकी नाकामै खोप लगाए । दिल्लीबाट घर फर्किन लागेका उनी खोपबारे निकै जिज्ञासु देखिन्थे । उनी खोप लगाए पनि अपनाउनुपर्ने सावधानी, दोस्रो खोप लगाउने समय र त्यसको उपलब्धताबारे सबै खोप लगाउने स्वास्थ्यकर्मीलाई सोधिरहेका थिए । ‘अब सबै कुरा थाहा भयो, खोप पनि लगाइयो,’ उनले भने, ‘भारतमा हुने खाने र किन्न सक्नेले मात्रै खोप लगाउन पाएका छन्, हामीजस्ता सोझासाझाले पाउनै गाह्रो छ ।’

पछिल्लो समय भारतबाट घर फर्किनेहरूमा पनि संक्रमणको दर कम भएको छ । दुई/तीन सय जनाको एन्टिजेन परीक्षण गर्दा १/२ जनामा मात्र संक्रमण देखिने गरेको छ । कुनै दिन एक जनामा पनि संक्रमण देखिँदैन । ‘परीक्षणसँगै नाकामै खोप पनि लगाउन थालेपछि संक्रमणको जोखिम न्यून हुँदै जान्छ,’ स्वास्थ्य कार्यालयका प्रमुख सुनारले भने, ‘तेस्रो लहर रोकथामका लागि यसले सहयोग पुर्‍याउनेछ ।’

दोस्रो लहरका बेला भारतबाट फर्किनेलाई सामान्य स्वास्थ्य परीक्षणसमेत नगरी घर पठाउँदा सीमा क्षेत्रका जिल्लामा संक्रमणको अवस्था भयावह बनेको थियो । कञ्चनपुरमा मात्रै कोरोना संक्रमणका कारण वैशाखयता १ सय ७५ जनाको मृत्यु भएको छ । जबकि पहिलो लहरका बेला १६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।