धार्मिक आस्थाको केन्द्र ‘उग्रतारा भगवती’ (भिडियो सहित)
2020/06/13, 2:35
 
korona

उग्रतारा भगवती मन्दिर सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रसिद्ध शक्तिपीठ मानिन्छ । यो मन्दिर डडेल्धुरा सदरमुकाम बागजारदेखि करिब पाँच किलोमिटर पश्चिममा छ । यो मन्दिरलाई सूदूरपश्चिमका नौ भगवतीका मन्दिरहरुमा एक मन्दिर मानिन्छ । उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ।

उग्रतारा मन्दिरको उत्पत्ति सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन । तर पनि उग्रतारा भगवती मन्दिरको उत्पतिको किंवदन्ती भने रोचक छ । डडेल्धुराको अमरगढी नगरपालिका–८ मा पर्ने प्रसिद्ध यो मन्दिर सदरमुकामबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमतर्फ विशाल, रमणीय फाँटमा अवस्थित छ ।

2

सुन्दर फाँटमा अवस्थित उग्रतारा देवीको दर्शन गर्न भक्तजनले अमरगढी–८ को टाटेसिल्ङबाट उक्लेर जानु पर्दछ । अहिले उग्रतारा मन्दिरसम्म पुग्न अमरगढी ८ को डकले र रातागौनबाट कालोपत्रे सडक पनि निर्माण गरिएको छ । सरकारले छनोट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा ‘उग्रतारा मन्दिर’ पनि परेको छ । यहाँ दिनहुँ भक्तजनहरु पूजा गर्न आउँछन । 

लकडाउनले सुनसानः 
उग्रतरा भगवतीको दर्शक गर्नका लागि नेपाल तथा भारतका विभिन्न ठाउँहरुबाट भक्तजनहरु दर्शनका लागि आउने गरेका थिए । तर लकडाउनका कारण अहिले मन्दिर क्षेत्र सुनसान जस्तै छ । नजिकका दर्शनार्थीहरु त्यहाँ गएपनि टाढा टाढाबाट कोही पनि त्यहाँ पुग्न सकेका छैनन् । 

1

यस्तो छ किंवदन्तीः 
धेरै वर्ष पहिले उग्रतारा भगवती नजिकै लटाउली गाउँमा साँकी जातिको बसोबास रहेको थियो । जुन कुरा त्यहाँको हाल रहेको भूबनोटको आकृतिबाट पनि प्रष्ट हुन्छ । हाल रहेको उग्रतारा भगवती मन्दिरको वरपर तिनै लटाउलीका साँकी जातिहरुले कृषि कर्म गर्दथे । एक दिन तिनै साँकी जातिका एक किसानले जोतिरहेको अवस्थामा हलोको फाली सिलामा गढेर त्यसबाट निरन्तर रगतको धारा बगिरह्यो ।

त्यही अवस्थामा ती साँकीले रगत रोक्न अनेक प्रयत्न गर्दा गरे तर रोकिएन । रगत धेरै आउँदा रगतको खोलो बग्न शुरु भयो । हाल पनि यो खोलो यहीँ मन्दिरका तलन्वाखोलाको नामले चिनिन्छ । यसरी बग्दै रहेको रगत रोक्न तीनै किसानले आफूलाई खान ल्याएको खिचडी (मासबाट बनेको) त्यही सिलाको फाली लागेको घाउमा लगाउँदा रगत बग्न रोकियो । त्यसपछि त्यस सिलालाई सुरक्षित गरी मन्दिर निर्माण गरियो ।

b

ती किसान नै त्यहाँका पूजारी भए । उनका सन्तानहरु पुजारी हुँदा उग्रतारा क्षेत्रको भित्रै नचनटुक्री भन्ने ठाउँबाट सिधै ओरालो उल्टो शरीर सुती करिब पाँच किलो मिटर तल शैलेश्वर महादेव मन्दिरभित्रको सानो झ्यालबाट भित्र छिरिसकेर अन्य परम्परागत क्रिया गरि वास्तविक गृहस्थ जीवन त्यागी भगवतीको पूजामा रहनु पर्ने प्रचलन छ । यसरी पुजारी अवतार नभएको अवस्थामा मन्दिरको बाहिरी शिलाभन्दा अलि टाढा मात्र ब्राम्हणहरुले पुजा गराउने चलन छ । यिनै पुजारीबारे अर्को किम्वदन्ती पनि छ । एक समय उग्रतारा माताको पुजारीको वृद्ध हुँदा पनि सन्तान नभएकाले सन्तान पाउँ भनी आग्रह गर्दा उग्रतारा माताले पछि दुःख पाइन्छ भन्दा उसले सन्तानको ढिपी गरिरहेर छोरो भयो । छोरो ठूलो भएपछि पुजारीको सबै घर व्यवहार छोराले सम्हाल्थे । तर एक वर्ष उग्रताराको मेला हुने अघिल्लो दिन त्यस गाँउमा थुप्रै पाहुनाहरु आए । जो आज पनि यथावत छ । पाहुनाहरुको सत्कार गर्न त्यो गाउँका मानिसहरु आफ्नो कर्तव्य सम्झन्छन्। त्यही आधारातमा पाहुनाकै सत्कारमा ती वृद्धाको छोरा बुहारीको समय बित्यो ।

b

त्यस अवधिमा आफ्नो कुनै वास्ता नगरेकोले वृद्ध पुनः आक्रोसका साथ उग्रतारा मन्दिरमा गइ पुकार गरी हजुरको दरबारबाट प्राप्त छोरा नष्ट होस् भन्दा भोलीपल्ट मेलाका दिन दिउँसो ठीक १२ बजे छोराको मृत्यु भएको किम्वदन्ती सुन्न पाईन्छ । हरेक वर्ष ‘देहिजात’ मेला उग्रताराको महिमाबारे अर्को किम्वदन्ती पनि छ । कार्तिक पूर्णिमामा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचीनकालमा गर्खाबाट लडाकुहरुले वीरताका साथ लडाई गर्दा रगतको खोला बग्ने गरेपछि जसलाई त्यहाँ न्वाखोलाको रुपमा नामकरण गरिएको छ । देहिजातको रुपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गर्दछन ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउँसेडी मेला सुरु हुन्छ। पण्डित भोजराज भट्टका अनुसार बिहान ४ बजे धार्मिक परम्परागत रुपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंख, घण्टा आदि बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोली सहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवतीको पूजा सुरु हुने गर्दछ । बिहानको पूजापछि दिउँसो भगवती माताको गाँज मन्दिर लगायत सयौं एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाजाका साथ घुमाइन्छ । अष्टमीमा समेत पूजाआजा गरिने मन्दिरमा राँगाको बली दिने प्रचलन छ ।

उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तसँगको भेटघाट हुने मौकाको रुपमा प्रख्यात छ। हराँउदै गएका अन्नबाली फापर, भिमुर, तिललगातय अदुवा, बेसार, चुक, मह, घ्यु, सन्तरा, मौसमी, केरा लगायत स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग र तरकारीको राम्रो व्यापार हुन्छ । स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ । उग्रतारा मेलामा बिक्री गर्ने पूर्व योजनाका साथ स्थानीयले बाँस र निगालाका सामग्रीसँगै खाद्य वस्तु एवम् कृषि औजार, बेर्ना तयार पार्ने गरेका छन । मेलामा भारतका विभिन्न स्थानका व्यापारीले मिठाइका परिकार बनाइ बिक्री गर्छन् । वेद विद्याश्रम सञ्चालनमा अहिले उग्रतारा मन्दिर परिसरमा वेद विद्याश्रम पनि सञ्चालनमा ल्याइएको छ ।

यहाँ २५ जना विद्यार्थी अध्यपन गरिरहेका छन् । डडेल्धुरा सहित बैतडी, डोटी र बाजुराका विद्यार्थीहरु यहाँ पढ्छन । यससँगै गौशाला निर्माण गरिएको छ भने मेला बाहेक अन्य समयमा पनि आन्तरिक श्रद्धालु भक्तजन लगायत अवलोकनका लागि अधिकांश व्यक्ती पुग्ने भएकाले पिकनिक स्पोटहरु पनि निर्माण गरिएका छन । ब्रत विवाहका मुहर्तहरूमा निकै भीड बढ्दै जान थाले पनि मण्डपहरु पनि निर्माण गरिएको छ । उग्रतारा मन्दिरको गुरु योजना निर्माण गरी भौतिक पूर्वाधार निर्माणको प्रक्रिया थालिएको छ । उग्रतारा क्षेत्रको समग्र विकासका लागि गुरु योजना निर्माण गरिएको हो ।