सुदूरपश्चिममा युवा लक्षित कार्यक्रम ल्याइँदै
2020/05/11, 7:07
 
sarkar

सुदूरपश्चिम प्रदेशमा कोभिड–१९को सङ्कटका कारण बेरोजगार बनेका युवा तथा प्रभावित कृषकलाई व्यवसायमुखी र आत्मनिर्भरतर्फ उन्मुख गराउन युवा लक्षित कृषि प्याकेजका कार्यक्रम ल्याउन लागिएको छ । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले कोभिड–१९को सङ्कटका कारण बेरोजगार बनेका युवा तथा कृषकलाई कृषि कार्यमा सहभागी गराउन आगामी आर्थिक वर्षको बजेटमा यस्तो प्याकेजका कार्यक्रम ल्याउन लागिएको जानकारी दिइन ।


उनले भनिन्, “प्रदेशमा रहेको बाँझो जग्गालाई सरकारले लिजमा लिएर भए पनि कृषक तथा बेरोजगार युवालाई व्यवसायमुखी र आत्मनिर्भर हुने गरी कृषि योजना बनाउन लागेका छौँ ।” यो कार्यक्रम कार्यान्वयनका लागि कृषक र बेरोजगार युवालाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने, मल बीउबिजन, सिँचाइलगायतमा अनुदान दिने गरी मन्त्रालयले आगामी वर्षको कार्यक्रम बनाउन लागेको छ । मन्त्रालयले कोरोनाका कारण प्रभावित भएका किसान र स्वदेश भित्रिएर बेरोजगार बनेका युवाको विवरण समेत स्थानीय तहसँग समन्वय गरी सङ्कलन गरिरहेको छ । “कोरोनाको सङ्कट कारण प्रदेशमा आगामी दिनमा खाद्य सङ्कट पनि देखिन सक्ने भएकाले यसतर्फ पनि प्रदेश सरकार सचेत रहेको छ”, मन्त्री चौधरीले भनिन, “अहिलेको अवस्थामा पहिलो स्वास्थ्य हो, दोस्रोमा कृषि भएकाले यसलाई सम्बोधन गर्ने गरी प्राथमिकताका साथ मन्त्रालयले योजना बनाइरहेको छ ।”


प्रदेश सरकारले आगामी आवको बजेट निति कार्यक्रम तयारीका क्रममा हाल विभिन्न सरोकारवालासँग सुझाव लिइरहेको छ । अहिलेको सङ्कटको समयमा युवालाई कृषिमा आकर्षित गर्दै गाउँमै रोजगारी सिर्जना गर्ने कार्यक्रम योजना बनाउन जरुरी भइसकेको कृषि प्रविधिक बताउँछन् । कृषि प्राविधिक खगेन्द्रप्रसाद शर्माले कोरोनाले कृषक र युवा नराम्रोसँग प्रभावित भइरहेकाले अब गाउँमै रोजगारी सिर्जना गर्नेखालका कृषि कार्यक्रमलाई प्राथमिकता दिन अनिवार्य भइसकेको बताए ।  अधिकांश नेपालीले कृषि उपज उत्पादन गरेर परिवारलाई वर्षभरि खान पुग्ने अन्नको भण्डारण गरी बचेको अन्न बिक्री गरेर हुने आम्दानीले अन्य आवश्यकता पूर्ति गर्दै आएका छन् । कोभिड–१९को सन्त्रासका बीच अहिले जेनतेन हिउँदे गहुँबाली भित्र्याइरहेका किसानलाई मुख्य बाली बर्खे धानखेती गर्नुपर्ने समय पनि आइसकेको छ । कोरोनाको सङ्कटका कारण गहुँ, साग तरकारी लगायत कृषि उपजको सहज रुपमा बजारीकरण गर्न नसकेर समस्या झेलिरहेका किसानमा अब धानखेती कसरी गर्ने भन्ने चिन्ता पनि थपिएको छ ।


कोरोनाको सङ्कटसँगै आउजाउमा कडाइ गरिँदा किसानलाई मल, बीउबिजन, डिजेलको सहज आपूर्ति गर्न, ढुवानी गर्न र मजदुर नपाउने जस्ता समस्या देखिएपछि खेती कसरी गर्ने भन्ने चिन्ता थपिएको हो ।  सुरक्षित उपाय अपनाएर कृषि कार्य गर्न दिने नीति सरकारको भए पनि यसको उचित व्यवस्थापन गर्नमा भइरहेको कमी कमजोरीका कारण आफूहरु समस्यामा परेको कृषक नारायन चौधरीले गुनासो गरेका छन् । ‘‘सरकारले कृषि कार्य गर्न र गराउन दिने भन्छ, कृषि सामग्री ल्याउन बजार जाँदा बाटोमा प्रहरीले हिँड्न नदिइरहेको जस्ता समस्याले कृषि उपजको उत्पादन ढुवानी र बिक्रीमा प्रभाव परेको छ”, कृषक चौधरीले बताए ।