बाजुरामा आफूलाई असहयोग गरेको भन्दै मेयर रावलले कर्मचारी हटाएको आरोप
2021/11/23, 10:04
 
ss

बाजुराको त्रिवेणी नगरपालिकाले ३ जना कर्मचारी र २ जना शिक्षकलाई हटाएको छ।  कांग्रेसको आन्तरिक विवादका कारण कांग्रेसबाटै मेयरमा निर्वाचित रामसिंह रावलले उनीहरुलाई निष्कासन गरेको आरोप लागेको छ। इन्जिनियर लोकेन्द्रबहादुर साउद, वडा न २ का कर्मचारी नन्दबहादुर बुढा र देवराज जोशीलाई निष्कासन गरिएको छ। त्यसैगरी दुईजना नगर शिक्षक किरण ऐडी र रंगबहादुर नेपाली पनि  निष्कासनमा परेका छन्। 

जिल्ला अधिवेशनका बेला आफूलाई असहयोग गरेको भन्दै रावलले उनीहरुलाई निष्कासन गरेको नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ७ का अध्यक्ष प्रेमबहादुर थापाले बताए। ‘पार्टी प्रतिशोधका कारण कर्मचारी हटाइएको हो’ उनले भने। सो निर्णयमा नगरका बहुमत सदस्यको असहमति रहेको उनले बताए। सोमबारको कार्यपालिकाको बैठक १० जना जनप्रतिनिधिले बहिष्कार गरेका थिए। 

तर मेयर रामसिंह रावलले भने कर्मचारीको काम सन्तोषजनक नभएको भन्दै म्याद थप नभएको बताए। ‘कर्मचारीहरुलाई निष्कासन गरेको होइन। उनीहरुको म्याद सकिएको हुँदा स्वतल् अवकाश पाएका हुन्’ उनले भने। यस विषयमा नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत चिरन्जीवीप्रसाद साह भन्छन्, ‘म्याद नथप्ने भन्ने भएको छ। त्यो प्रक्रियामै रहेको छ। हरेक साल हट्ने र नियुक्ति गर्ने प्रक्रिया चलिरहने गरेको छ।’

तर निष्कासनमा परेका कर्मचारीले भने अवकाशपत्र आएका हुँदा कार्यलयमा नगएको बताएका छन्।