युवा कांग्रेस प्रतिनिधिहरू भन्छन्- अब विरासत र जेलनेलका आधारमा नेता मान्ने चलन हटाउनुपर्छ
2021/12/07, 2:35
 
aa

नेपाली कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ देखि काठमाडौंमा सुरू हुँदैछ। वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय महाधिवेशनको संघारमा आइपुग्दा युवा पुस्ताको सहभागिता उत्साहजनक देखिएको छ। स्थानीय स्तरमा धेरै युवा पुस्ता पार्टीको नेतृत्व तहमा पुगेका छन्। यसै सन्दर्भमा हामीले १४औं महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्ने जिम्मा पाएका महाधिवेशन प्रतिनिधिमध्ये सुदूरपश्चिमका तीन जना युवा प्रतिनिधिसँग कुराकानी गरेका छौं।

योगेन्द्र रावल, बाजुराबाट महाधिवेशन प्रतिनिधि

तपाईंको राजनीतिक पृष्ठभूमि के हो ?

जति बेला २०६२/६३ को जनआन्दोलन चर्कियो, दुरदराजका बस्तीमा माओवादीका घोषित/अघोषित ब्यारेकहरू थिए। मेरो घर पनि माओवादीको ब्यारेकजस्तै थियो। त्यो बेला गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधानसभाको पहिलो निर्वाचन गराउनुभयो। मैले बाजुराबाट संविधानसभाको पहिलो निर्वाचनमा होमिने अवसर पाएँ। माओवादीले बन्दुकको बलबाट शासनसत्ता कब्जा गर्न खोजिरहेका बेला म त्यो बाटो गलत छ भनेर कांग्रेसमा आबद्ध भएको थिएँ।

तपाईंको लागि राजनीति भनेको के हो ?

मैले राजनीतिलाई सामाजसेवाका रूपमा बुझेको छु। आफ्नो व्यक्तिगत जीवन, परिवार र दाजुभाइको परिधिबाट माथि उठेर यो समाज कस्तो बनाउने, यो देश कस्तो बनाउने र आमजनताको भविष्य कस्तो बनाउने भनेर गरिने सेवा नै राजनीति हो।

कांग्रेसले गरेको राजनीति सही छ कि छैन ?

इतिहास हेर्ने हो भने २००७ सालको क्रान्ति होस् वा २०४६ र २०६२/६३ को जनआन्दोलन होस्, नेपालमा पटकपटक भएका प्रजातान्त्रिक लडाइँमा कांग्रेसले सधैं नै नेतृत्वदायी भूमिका खेल्यो। माआवोदीलाई शान्ति प्रक्रियामा ल्याएर दस वर्षको हिंसात्मक द्वन्द्व व्यवस्थापन गर्ने काम पनि कांग्रेसकै नेतृत्वमा भयो। कम्युनिस्टले दुई-दुईचोटि संविधानसभा चुनाव गराउनुपर्ने अवस्था बनाए। यसबीच चार जना कम्युनिस्ट प्रधानमन्त्रीले देशको संविधान बनाउन सकेनन् तर नेपाली कांग्रेसले दोस्रो चरणको चुनावबाट संविधान बनायो। राजनीतिक परिवर्तनको अगुवाई कांग्रेसले गरेकाले म कांग्रेसको राजनीतिबाट खुसी छु।

यति हुँदाहुँदै सामाजिक जनजीवनका कुरा, महिला र दलितका कुरालाई जसरी हामीले समावेशी ढंगमा उठाउनुपर्ने थियो, कहिल्यै नबोल्ने गाउँबस्तीका कुरालाई जसरी राजनीतिको मूलप्रवाहमा ल्याउनुपर्ने थियो, कांग्रेसले त्यो मुद्दा प्रभावकारी ढंगमा नउठाएको हो कि जस्तो लाग्छ। भ्रष्टाचारको जालो तोड्न हामीले अख्तियार त बनायौं तर त्यसबाट पनि भ्रष्टाचार हटाउन नसकेको हो कि जस्तो लाग्छ। ओम्नी, यती, वाइडबडी लगायत भ्रष्टाचार काण्डहरू हामीले सुनेका छौं। कांग्रेसको नेतृत्वमा सरकार बने पनि त्यसमाथि छानबिन नभएको देख्दा म असन्तुष्ट छु।

कांग्रेसले अब के गर्नुपर्छ ?

कांग्रेसले राजनीतिक परिवर्तनमा ठूलो भूमिका खेल्यो। यस क्रममा हिजो प्रजातान्त्रिक आन्दोलनमा लामो संघर्ष गरेकाहरू नेता भए। जेलनेल भोगेकाहरू नेता भए। कसले कति दु:ख पायो भन्ने आधारमा ठूलो नेता भनियो। कसको पारिवारिक विरासत के हो भन्ने आधारमा ठूलो नेता मानियो। तर अब कसैलाई पनि जेल बसेकै आधारमा र पारिवारिक विरासतकै आधारमा नेता मान्ने चलन हटाउनुपर्छ। ठूला नेताको चाकरी गरेको र पहुँच बनाएकै आधारमा अवसर पाउने चलन पनि हटाउनुपर्छ। यसको सट्टा गाउँ-गाउँ घुमेर, जनताका बीचमा बसेर, उनीहरूका दु:खसुख बुझेको मान्छे राजनीतिमा स्थापित हुनुपर्छ।

कांग्रेसले अब जनजीविकाको मुद्दा उठाउनुपर्छ। राजनीतिक हिसाबले हामीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र धर्म निरपेक्षता ल्यायौं। सात प्रदेशको संघीय संरचनामा गयौं। अब यसलाई व्यवस्थित गर्दै जनताका आर्थिक तथा सामाजिक मुद्दा उठान गर्नुपर्छ। आज पनि अवसरको कमीले हजारौं युवा बिदेसिन बाध्य छन्। उनीहरूलाई नेपालमै रोजगारको अवसर दिने स्थिति बनाउनुपर्छ। कांग्रेसको सरकार धनगढी वा महेन्द्रनगरमा मात्र सीमित हुने होइन, राज्यको पहुँच नभएका दुरदराजका गाउँसम्म कार्यक्रम लिएर जनतासँग जोडिनुपर्छ।

कांग्रेसको सभापति कसलाई र किन बनाउनुपर्छ ?

म कांग्रेसमा परिवर्तन चाहने युवा हो। कांग्रेसमा रूपान्तरण हुनुपर्छ भनेर म राजनीतिमा होमिएको हुँ। फलानो मान्छे वा फलानो टिमका नाममा म कसैलाई मतदान गर्ने छैन। नेताहरूको भीडमा कामका आधारमा मूल्यांकन गरेर मतदान गरौं भनेर म भनिरहेको छु।

सिर्जना स्नेही, जयपृथ्वी नगरपालिका–१० बझाङबाट महाधिवेशन प्रतिनिधि

तपाईंको राजनीतिक पृष्ठभूमि के हो ?

म ८ कक्षादेखि नै विद्यार्थी संगठनमा आबद्ध भएकी थिएँ। मेरो बुवा पदमबहादुर स्नेहीको मृत्यु भएको छ महिना भयो। उहाँले १० बर्ष बझाङ जिल्ला सचिव पदमा रहेर काम गर्नुभएको थियो। बुबाको धोको महाधिवेशन प्रतिनिधि हुने थियो। त्यही लक्ष्य पछ्याउँदै मैले यसपालि चुनाव भाग लिएँ र जितेँ।

तपाईंको लागि राजनीति भनेको के हो ?

राज्यलाई नीति र नियममा बाँध्ने पद्धति हो। राजनीतिबिना न्याय सम्भव छैन, विकास सम्भव छैन। आमनागरिकले नागरिक भएर बाँच्न गाह्रो हुन थालेपछि मैले राजनीतिको महत्व बुझेँ र त्यसैले यो क्षेत्रमा लागेको हुँ।

कांग्रेसले गरेको राजनीति सही छ कि छैन ?

बिपीको सिद्धान्त मूल हो। कांग्रेस मात्र होइन, अरू ठूला पार्टीले पनि बिपीको सिद्धात अंगालेका छन्। मैले पार्टीको सिद्धान्तबारे थप अध्ययन गरिरहेको छु। हामीले बिपीको स्वच्छ, स्वतन्त्र र समृद्ध मुलक बनाउने सिद्धान्त अगाडि बढाउने हो। कांग्रेसले गरेको राजनीति केही हदसम्म सही छ। तर कांग्रेसमा प्रस्ट वक्ता नभएर विचार प्रस्ट गर्न नसकेको र यसले केही कमी देखिएको हुनसक्छ।

कांग्रेसको सभापति कसलाई र किन बनाउनुपर्छ ?

यो विचारको सिद्धान्त हो। कुनै परिस्थितिमा कसैले राम्रोसँग विचार व्यक्त गर्ने अवसर पाए ऊ राम्रो मानिन्छ। कोही राम्रो भएर पनि आफ्नो विचार व्यक्त गर्ने अवसर नपाएर नचिनिएको हुनसक्छ। हामीले को राम्रो, को नराम्रो छुट्याउनुपर्छ।

कांग्रेसले अब के गर्नुपर्छ ?

कांग्रेसले युवा सहभागितालाई अवसरका रूपमा लिएर त्यसको सदुपयोग गर्नुपर्छ। युवा सँगसँगै महिला सहभागितामा पनि हामीले काम गर्नुपर्छ।

कांग्रेसले गरेका तीन राम्रा काम ?

त्यो त मैले अध्ययन गर्नैपर्छ। केही गलत भनिएछ भने ठिक हुँदैन।

पार्टीमा आफ्नो भविष्य के देख्नुहुन्छ ?

युवाको सहभागिता उत्साहजनक छ। म पनि त्यसैमध्ये एक हुँ। काम गर्ने अवसर पाए राम्रो हुन्छ। तर युवा हो, बच्चा हो, सानै छ भनेर यसअघिजस्तै बाटो नछाड्ने हो भने अप्ठ्यारो हुन्छ। त्यसैले म अग्रजहरूलाई के आग्रह गर्छु भने, जसरी अहिले युवाहरू स्थानीय क्षेत्रमा आए, त्यसैगरी माथिलो तहमा पनि युवालाई नेतृत्व दिनुपर्छ।

टेकबहादुर विश्वकर्मा, अछाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि

तपाईंको राजनीतिक पृष्ठभूमि के हो ?

म कक्षा ७ पढ्दै गर्दा विद्यार्थी संगठनमा आबद्ध थिएँ। त्यसपछि क्रियाशील सदस्यता लिएको २०६८ सालमा हो। नेपाली कांग्रेस २००७ सालदेखि समावेशी पार्टी भएकाले म यसमा लागेको हुँ।

तपाईंको लागि राजनीति भनेको के हो ?

राजनीति भनेको सामाजिक सेवा हो। पछिल्लो समय राजनीतिमा विकृति छाएको छ। कतिपयले यसलाई जीविकोपार्जन गर्ने बाटो बनाएका छन्। मलाई यो गलत लाग्छ।

कांग्रेसले गरेको राजनीति सही छ कि छैन ?

सबैको बुझाइ आ–आफ्नै हुन्छ। अहिलेसम्म समग्र रूपमा हेर्दा कांग्रेसको राजनीति सही छ। २००७ सालदेखि अहिलेसम्मका राजनीतिक परिवर्तनहरूमा कांग्रेसले नेतृत्वदायी भूमिका खेल्यो। कांग्रेसकै नेतृत्वमा विश्वविद्यालयहरू खुले, सडक बने, स्वास्थ्य सेवा विस्तार भयो। यति भन्दाभन्दै केही सुधारहरू गर्नुपर्ने छ। मेरो बुझाइमा अब बढीभन्दा बढी युवाहरू पार्टीमा आउनुपर्छ। कांग्रेसले अब युवा पुस्तालाई समेटेर अघि बढ्नुपर्छ।

कांग्रेसमा आफ्नो भविष्य के देख्नुहुन्छ ?

म आफ्नो भविष्य बनाउनभन्दा समाजसेवाका रूपमा राजनीतिमा लागेको हुँ। म राजनीतिको माध्यमबाट समाजका लागि काम गर्न चाहन्छु। मेरो कामले समाजको भविष्य राम्रो बनाउन चाहन्छु।