नानी कति कक्षामा पढ्छ्यौ ?
कसैले नसोधे हुने नि ! आफूले नचाहेको प्रश्न अरुले किन गर्छन् ?हुन त, अचेल ‘जिन्दगी नै यस्तै हो’ लाग्न थालिसक्यो । आफूले चाहेको के नै हुने रैछ र ? अरुका प्रश्न र तिनका वरिपरी नै त हुने रैछ नि जिन्दगी !
सरु त कम्तीमा बिहानबेलुका काम गरेर भए पनि दिउँसो स्कुल जान पाउँछे ।
धौली...? उसका बाले पनि बरु एक छाक खानु परोस् तिमीलाई स्कुल छुटाउँदिनँ भनेका छन् रे ।
तर म...म...आफ्नै रहरसँग प्रश्न गरेर बसेकी छु । यसैमा, यी आउनेजाने छन्, मैले आफैंभित्र लुकाएर राखेका रहरबारे सडकसडकमा प्रश्न तेर्साउँछन् ।
हुन त मै सडकमा नजानु परेको भए उनीहरु कहाँ प्रश्न गर्थे ! दुनियाँको कामै प्रश्न गर्ने त छ नि ! यो काफलको हाँगा–हाँगाका पातहरुको स्वरुप पनि कहाँ एकै छ त ? यस्तै छ नि मानिस, तिनका स्वभाव र रहरको आकार ।
कुहुँ ...कुहुँ...कुहुँ...
“...अह...एक यो कोइली छे । के सोची राथेँ, कानमै कराई ।”
घनघोर जङ्गल...काफल डालीमा आफ्नै मनका बेगसँग सवालजवाफ गरिरहेकी रुपा झल्याँस्स भई ।
‘ओहो’ छाप्रो त भरिएछ । आज पनि सडकमा गाडी चल्दैनन् रे ! बजार पनि बन्द छ । काफल कसलाई बेच्ने होला ?
होस् जान्छु सडकमा सरकारी कार्यालयका केही गाडी त चलिरहेका छन् रे । कोही त किनिहाल्लान् नि ।
रुपालाई काफल कसले किन्लान् भन्ने द्विविधाले छोडेन । तर आफ्ना आशालाई आफैंले धाप मारिन्– होेस् जान्छु, नगए बेलुकीलाई घरमा चामल केले लाने ? विचरी दमले च्यापेकी आमाले राम्रारी खान नपाएको कत्ति दिन भयो ।
“फेरि आमाको औषधि पनि त सकिनै लाग्यो नि ।”
हुन पनि दुई महिना भयो सहरबजार चकमन्न छन् । सडकमा एम्बुलेन्स, केही आपतकालीन सेवाका सवारीबाहेक केही देखिँदैनन् । मानिस घरघरमै थुनिएका छन् । मानव जाति नै त्राहीमाम भएको छ । उता, यति मरे...उता यति सङ्क्रमित भए भन्नेबाहेक कुनै खवर नै सुन्न पाइएको छैन ।
के होला ? कसो होला ? सबै अन्यौलमा छन् । सबैतिर सन्नाटा छ ।
‘‘ए रुपा...’’
चिनेकै पुलिस दाइ करोयो । कहाँ हिँडेकी तिमीलाई लकडाउन भन्ने थाहा छैन ? कहाँबाट आएकी ?
“काफल टिपेर ।” सडकमा कर्कश आवाजले कराएको प्रहरीलाई रुपाले मधुर स्वरमा जवाफ फर्काई ।
‘‘कहाँ जान लागेकी त ?’’ प्रहरीको आवाजको गति अलिक धिमा भयो ।
“तल घुम्तीको पसल अगाडि ।”
“यस्तो बेलामा कसले किन्छ तिम्रो काफल ?” यस पटक दया मिश्रित आवाजमा प्रहरीले रुपालाई आदेश दियो– “घर जाऊ सरासर ।”
‘‘हेर्नुस् न दाइ, यत्ति काफल बेच्न नपाए त, मेरो घरमा आज पनि चुलो बल्दैन । मेरो भाइ...मेरी आमा...!’’
“हजुरलाई त थाहा छ नि म कत्ति दिनमा आज काफल बेच्न आउन पाएकी हुँ ?”
रुपाको विनयपूर्ण अनुरोध प्रहरीले नबुझ्ने कुरै भएन ।
“म त तिमीलाई यहाँ उभिन दिउँला, तर तिम्रो काफल किन्छ कसले ? देखिनौ सडकमा चरोमुसो छैन । फेरि, कोही आइहाले पनि यसरी हातले टिपेको काफल भाइरस सर्ने डरले को किन्छ ?”
“दाइ बरु म एकैछिन यहीँनिर उभिन्छु । कोही आई पो हाल्छ कि, यत्ति काफल बेच्न पाए आजलाई चामल किन्न हुन्थ्यो । अनि आमाको औषधि पनि सकिएको छ ।”
जेठको चर्को घाम अनि महामारीको यस्तो बेलामा एक थान मास्क राम्रो नपाउँदा पनि ड्युटीमा बसेको ती प्रहरीलाई राम्ररी थाहा थियो गरिबीको पीडा । फेरि, गाउँमा बस्दा स्थानीयसँग निकै घुलमिल भइसकेका हुन्छन् उनीहरु ।
रुपाको अवस्थाबारे जानकार प्रहरीले थप कुरै गरेन ।
“गाउँपालिकाले राहत बाँडिरहेको छ रे तिमी लिन गएनौ ?’’
‘‘जान त गएको नि दाइ, पाँच घण्टा लाइन बसेर ल्याएँ पनि ।’’
‘‘अनि, के भयो त ? किन चामलको चिन्ता गर्दैछौ ?’’
‘‘दाइ, त्यो चामल खान मिल्ने भए पो !’’
‘‘किन, के भयो र त्यसो ?’’
‘‘दाइ दालमा कीरा परेको थियो । चामल कुहिएको । खानै नमिल्ने, हामीले गाउँपालिकामै फिर्ता गरिदियौं ।’’
रुपाले थपी, ‘‘एफएमले भनेको त्यो चामल त गाउँपालिका अध्यक्षले आफ्ना भाञ्जाको पसलबाट किनेको रे ।’’
‘‘अनि...?’’
‘‘अनि के नि दाइ...। हाम्रो देश यस्तै त हो नि...गरिबका नाममा यी गाउँका राजाहरुले ठगिरहेका छन् ।’’
“तल्ला घरका मिस्त्री काकाको काम रोकिएको छ । तिन दिन भइसक्यो रे तिनीहरुको परिवारले खान नपाएको ।” रुपा एकहोरो कराइरहिन् ।
“गाउँबाट दैनिक एक सय जना सदरमुकाम मजदुरी गर्न जान्थे, त्यो पनि बन्दै भयो । उता, मलेसिया गएका भीम अङ्कल, बहादुर दाइले घर आउन पाएका छैनन् ।” रुपमा भन्दै गई–
“भारतबाट फर्केका तलघरे नन्दुसहितका २१ जना एक हप्तादेखि गौरीफन्टा नाकामा भोकभोकै बसेका छन् । यही गाउँपालिकाले गाडी पठाउने भनेको अहिलेसम्म गएको छैन रे ।”
रुपाको एकोहोरो पोखिन थालिन् ।
एकछिन निशब्द भएका प्रहरीले पनि आफ्ना पीडाका पोका खोलिहाले– “हेर, हाम्रो हालत पनि यस्तै त छ । रातदिन नभनी ड्युटीमा छौं । सामान्य सुरक्षाका साधन पनि पाएका छैनौं । कतिबेला के हुने हो थाहै छैन । घर परिवारको चिन्ता लाग्छ ।”
प्रहरी थप्नै लागेका थिए । रुपाले रोकिन् ।
‘‘दाइ...गाडीको आवाज आयो । गाडी आयो कि क्या हो ?’’
“हो, गाडीकै आवाज हो, आएजस्तो छ ।”
रातो बत्ती बालेको निलो गाडी झ्याप्पै अगाडि पर्यो ।
ए केटा के गर्दैछौ ?
साब्....जय नेपाल साब्...। एसपीको गाडी देख्दा प्रहरीले जिउमा भएजत्तिको तागत लगाएर तन्किए र सलाम ठोके ।
“ठीक छ साब्...।”
के ठीक छ ? बर्ता चलाख बन्छस् । ड्युटी गरिरहेको कि डेटिङ ? हाकिमको चर्को आवाजले प्रहरी होसले कामै गर्न छाड्यो ।
‘‘ड्युटी साब...।’’
को हो, यो केटी ? प्रश्न आयो ।
‘‘तल गाउँको साब्, काफल टिपेर आको रे ।’’ प्रहरी जवानले मधुर स्वरमा थप्यो ।
के हरेर बसेको त धपा एल्लाई...।
एसपी हुइँकिए ।
प्रहरी त अभ्यस्त । उनीहरुलाई त यस्तो भइसक्यो कि, हाकिमको गाली खानु नै जागिर खानु हो । आफ्नो जीवनको त कुनै मूल्य नै छैन । माथिल्लो दर्जाको गाली र आदेश नियमित छ ।
प्रहरी दाइले आफ्नै कारण आँखाअगाडि गाली खाएपछि रुपा एकछिन् बोल्न सकिनन् । एकाएक उनको मानसपटलमा भाइले उमेर पुगेपछि फौजीमा जागिर खान्छु भनेको कुरा घुम्न थाल्यो ।
‘‘रुपा... ए...रुपा..., के भयो ?’’
अक्कनबक्क रुपा अधबैंशै प्रहरीको निराश अनुहारमा हेर्न थालिन् ।
“यस्तै हो, बिना सोधपुछ, बिना अर्थ गाली खानु त हाम्रो नियति नै बनिसक्यो । सेवामा २० वर्ष बिताइसकेँ । बानी नै भइसक्यो । तिमीले सुनिसक्यौ फेरि को अर्को हाकिम आउँछ र गाली गर्छ तिमी अब गइहाल ।”
न साइरन, न बत्ती नै । फुत्त, एम्बुलेन्स देखियो । प्रहरीले हत्त न पत्त सिठी बजाए । एम्बुलेन्सलाई रोक्न इसारा गरे । एम्बुलेन्सले बन्दको मौकामा यात्रु बोक्न थालेपछि माथिको आदेश थियो चेकजाँच गर्ने ।
‘‘खोई साइरन...बत्ति किन नबालेको ?’’
“बिग्रेको छ सर ।”
‘‘कहाँबाट आएको, पछाडिको के छ ?’’ प्रहरीले सोधे ।
“धनगढीबाट फर्केको सर, पछाडि लाश छ । सँगै बसेका मृतकका श्रीमान् हुन् । तिनको काखमा कराइरहेको मृतकले जन्म दिएको बालक हो ।”
‘‘ओहो के भएको ?’’ हठात् प्रहरीले मृतकका श्रीमान्तिर हेरेर सोधे ।
“तीन दिनअघि व्यथा लागेपछि जिल्ला अस्पताल पुर्याएको थिएँ । डाक्टर छैन भन्दै धनगढी रेफर गरिदिए ।’’
‘‘अनि...?’’
“त्यहाँ दुई दिनसम्म कहिले कुन अस्पताल त कहिले कुन । एउटाले अर्कोलाई देखाए, उपचार गर्न मानेनन् । डुलाउँदाडुलाउँदै यसमै बच्चालाई जन्म दिइन् । लगत्तै आफू संसारबाट गइन् ।”
उनी लाशमाथि टाउको राखेर रुन थाले । काखको बालक चिच्याइरहेको थियो ।
“अब, चौखुट्टे फर्किंदैछु सर ।’’
त्यो हृदयविदारक घटना सुनेर प्रहरीले जानुस् पनि भन्न सकेनन् । निभेको बत्ती मात्रै होइन, एउटा निभेको जीवन समेत बोकेको एक्बुलेन्स अगाडि बढ्यो ।
प्रहरीको पनि त मन हो नि । हे भगवान्...भन्दै केही बोलेनन् ।
घटना सुनिरहेकी रुपाका आँखामा आँसु भरिए ।
एम्बुलेन्समा सेतो कपडाले अनुहार छोपेकी ती आमा, अब कहिले आफ्नो बच्चासँग बोल्ने छैनन् । उसले रोएको कहिले सुन्ने छैनन् । विचरा बुवाको काखमा चिच्याएर आमा खोजिरहेको त्यो बालक...!
ओहो...के देख्नु परेको ? रुपाको मनमा आफ्नै अवस्था खेल्न थाल्यो ।
“कसैले आफ्नो रोदन यसरी आमालाई सुनाउन नपाउने, कसैले म जस्तै बुबालाई सुनाउन नपाउने !”
“तिमी दुई वर्षको थियौ, भाइ भर्खरै जन्मेको, तिम्रो बुवाले त मुग्लानमै ज्यान गुमाए । न अनुहार हेर्न पाइयो न लाश नै ।” आमाले दसैंको बेला भारी मन बनाएर सुनाएको कुरा रुपाको दिमागमा घुम्न थाल्यो ।
बुवा भएको भए ?
भाइको पढाइको जिम्मा मेरो काँधमा हुन्थेन । म स्कुल पढ्न पाउँथे होला । बिरामी आमाका लागि औषधि जुटाउने जिम्मा पनि मेरै काँधमा हुन्थेन ।
मेरा यी कोमल हात ! होस पलाएदेखिको मेरो मनले आफ्ना सबै रहर मार्नुपर्ने थिएन होला ।
रुपा चिच्याइन्– “हे बाबा, तपाईं कहाँ हुनुहुन्छ ?”
“हामी गरिब नभएको भए तपाईं मुग्लान जानुपर्थेन...बिरानो देशको गल्लीमा पानी नपाएर मर्नुपर्थेन ।”
राम्ररी देख्न समेत नपाएका बुवालाई पुकार्दै रुपा अझै जोरले कराइन् ।
‘‘तपाईं देख्दै हुनुहुन्छ ? हेर्नस् त, तपाईंकी छोरी ।”
“आफ्ना रहर केही बाँकी छैनन् । कहिले हिउँदो चिसो सिरेटोमा कोइरालका पोका बोकेर, कोइराल कोइराल...भन्छु । कहिले लालीगराँसको गुच्छा बटारी गुराँस...गुराँस ।”
“हरेक वसन्तको पालुवासँग किशोरपनका उमङ्ग साट्ने बेलामा काफलकाफल.....भन्दै यात्रु खोज्दै हिँड्छु ।
कोही यात्रु आउँछन्, काफल किन्ने निहुँमा मेरो कुर्कुरे बैंसमाथि प्रश्न उठाउँछन् । कोही आउँछन्, स्कुल पढ्ने, खेल्ने मेरा मृत सपनाहरुलाई उप्काउँछन् ।
कोही काफल किन्ने निहुँमा मोबाइल छ नम्बर देऊ त ? फेसबुकको आईडी देऊ त भन्छन् ।
म कसकसलाई केके उत्तर दिँदै हिँड्नु ? तपाईं माथिबाट हेरिरहनु भएको छ भने भन्नुस त बाबा ?
तपाईं सुन्दै हुनुहुन्छ भने बोल्नुस् त बाबा– म काफलकाफल भन्दै छु । भन्दै छु नि, काफल काफल...!”