अतिरिक्त क्रियाकलापमा विद्यार्थीको आकर्षण बढ्दै
2022/01/04, 10:59
 
school

जानकी माध्यमिक विद्यालय बनकट्टाका विद्यार्थी विज्ञानप्रति रुचि राख्छन् । उनीहरु विज्ञान सम्बन्धित विभिन्न सामग्री बनाएर प्रदर्शन गर्दै आएका छन् ।  त्यस्तै, श्री सरस्वती माध्यमिक विद्याय खरुवाखेराका विद्यार्थी पाककलामा पोख्त छन् । कक्षा ८ मा पढ्ने विद्यार्थीले विभिन्न खानाका परिकार आफै बनाएर स्वाद चखाउने गरेका छन् । यी त केवल प्रतिनिधि विद्यालयमात्रै हुन । यी विद्यालयमा जस्तै कैलालीको अरु सरकारी विद्यालयमा पनि विद्यार्थीको आकर्षण अतिरिक्त क्रियाकलापप्रति बढेको छ । 

अध्ययनसंगै व्यवहारिक ज्ञान हासिलका लागि अतिरिक्त क्रियाकलापमा उनीहरुको सहभागिता बढ्दै गएको हो । किताबमा पढे अनुसार विगतमा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापको माध्यमबाट व्यवहारिक ज्ञान सिकाउने परिपाटी कम थियो । पछिल्लो समय पठनपाठन शैलीलाई अझ फराकिलो बनाउँदै विद्यालयले अतिरिक्त क्रियाकलापमा जोड दिन थालेका छन्।

अतिरिक्त क्रियाकलाप गर्दा व्यवहारिक रुपमै केही नयाँ कुरा सिकिने गरेको कैलारी गाउँपालिका–८ पृथ्वीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत मानदेवकुमार चौधरीले बताउँछन् । उनले विभिन्न अन्नको प्रयोग गरेर विभिन्न चिजको चित्र बनाउने बनाउने गरेका छन् । चामल, दाल, मकै, धान, भट्मास, तोरीको प्रयोगबाट केहि दिन अगाडि नेपालको नक्सा र झन्डा बनाएर चौधरीले प्रदर्शनीमा राखेका थिए । 

उनले विभिन्न अन्नको प्रयोग गरेर विभिन्न चिजको चित्र बनाउने बनाउने गरेका छन् । चामल, दाल, मकै, धान, भट्मास, तोरीको प्रयोगबाट केहि दिन अगाडि नेपालको नक्सा र झण्डा बनाएर चौधरीले प्रदर्शनीमा राखेका थिए । 

‘विद्यालयका सरहरुको सल्लाहका आधारमा मैले नक्सा, झण्डा बनाएको हुँ’, उनले भने । ‘यसरी नौलो तरिकाले नेपालको नक्सा र झण्डा बनाउँदा मलाई पनि खुशी लागेको छ ।’ विद्यार्थीले किताब घोकेरमात्रै हुँदैन । बाहिरी ज्ञानका लागि उनीहरुले अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनु पर्दछ । अभ्यास जति भयो, उनीहरुमा निखारपन त्यति बढी नै आउने गर्दछ । विद्यार्थीका लागि पाक कला पनि एउटा महत्वपूर्ण अतिरिक्त क्रियाकलाप हो । 

श्री सरस्वती माध्यमिक विद्यालय खरुवाखेराका कक्षा ८ मा अध्ययनरत विद्यार्थी परिकार पकाउनमा निपुण छन् । उनीहरुले आफ्नो संस्कृति अनुसारको खानाका परिकार पकाउने गरेका छन् । ‘घरमा आमाले सेलरोटी पकाएको देखेकी थिएँ’, विद्यार्थी रीमा लुइँटेलले भनिन् । ‘त्यहि देखेर मैले पनि पकाउने गरेकी छु ।’ त्यस्तै, सोही कक्षामा अध्ययनरत बिना चौधरी ढिक्री बनाउने गर्छिन् । ढिक्री थारु समुदायको माघीमा खाइने सबैभन्दा महत्वपूर्ण परिकार हो ।  विद्यालयमा कुनै विशेष कार्यक्रम भएको बेला आफूहरुले खानाका परिकार पकाउने गरेको विद्यार्थीको भनाइ छ । 

विज्ञान प्रदर्शनी, विभिन्न विद्युतीय सामग्री निर्माण लगायतका क्रियाकलाप पनि सरकारी विद्यालयमा बढेका छन् । यस्ता गतिविधि निजी विद्यालयमा बढी हुने गरेको आफूले सुन्दै आएकोमा अब सरकारी विद्यालय विद्यार्थी पनि यस्ता कार्यमा निकै अगाडि बढिसकेको कैलारी गाउँपालिका–५ स्थित जनकल्याण माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत राजन चौधरीको भनाइ छ । 

‘मैले पनि ड्रोन बनाएर उडाउने गरेको छु’, एक प्रदर्शनीमा आफूले बनाएको ड्रोन प्रदर्शन गर्दै उनले भने । ‘अब सरकारी विद्यालयका विद्यार्थी पनि कोहीभन्दा कम छैनौं ।’ विद्यार्थीले आँखाले देखेका कुरा आफै अभ्यास गरेर व्यवहारमा लागू गर्दा उनीहरुको सिकाइ उपलब्धी बढ्ने गरेको शिक्षकहरुको बुझाइ छ ।

‘जबसम्म उनीहरु आफै अभ्यास गर्दैनन् तबसम्म सिक्दैनन्’, जनता माध्यमिक विद्यालय गदरियामा कार्यरत शिक्षक डिल्लीराम मिश्रले भने । ‘सिक्नका लागि अब सरकारी विद्यालयका विद्यार्थी कोहीभन्दा कम छैनन् ।’   उनले सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी आफै गरेर खाने विद्यार्थी रहेको उल्लेख गरे । जनता माध्यमिक विद्यालय नजिक प्रसिद्ध कोइलही ताल पर्दछ । सो विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले विभिन्न सामग्रीको प्रयोगबाट कोइलही ताल र त्यसमा मिनीपार्क बनाएर प्रदर्शनी गर्ने गरेका छन् ।