सुदूरपश्चिममा १६ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप
2022/02/03, 2:54
 
khop

सुदूरपश्चिम प्रदेशमा हालसम्म १६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्।स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरेर हालसम्म १६ लाख ६ हजार ६७३ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका हुन्। पूर्ण मात्रा भने ११ लाख ४ हजार ९४६ जनाले लगाएका छन्। प्रदेशको सबैभन्दा बढी कैलालीमा ४ लाख ७२ हजार ९७४ जनाले पहिलो मात्रा पाएका छन् भने ३ लाख ५५ हजार ७२० जनाले पूर्ण मात्राको खोप लगाएका छन्। यस्तै सबैभन्दा कम डडेल्धुराका ६५ हजार ६०७ जनाले पहिलो र  ५९ हजार ५५७ जनाले पूर्ण मात्रा लगाएका निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ।

प्रदेशको कञ्चनपुर जिल्लामा ३ लाख ४२ हजार ६५१ जनाले पहिलो र २ लाख ४४ हजार २५१ जनाले पूर्ण मात्रा, बैतडीका १ लाख ५२ हजार ६२९ जनाले पहिलो र ९४ हजार १८३ जनाले पूर्ण मात्रा, अछामका १ लाख ३७ हजार ४५२ जनाले पहिलो र ९१ हजार २१ जाले पूर्ण मात्रा, बाजुरामा १ लाख २४ हजार ९२५ जनाले पहिलो र ७४ हजार ३४५ जनाले पूर्ण, डोटीका १ लाख २० हजार ५७२ जनाले पहिलो र ६५ हजार ५७५ जनाले पूर्ण मात्रा, बझाङका ९९ हजार ८४४ जनाले पहिलो र ५६ हजार ३८ जनाले पूर्ण मात्रा, दार्चुलाका ९० हजार १९ जनाले पहिलो र ६२ हजार २५६ जनाले पूर्ण मात्रा लगाएका जनाइएको छ।

सुदूरपश्चिममा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, जन्सन, भेरोसेल र फाइजर खोप दिइएको हो। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रदेशका सबै जिल्लामा खोप अभियान सञ्चालनमा रहेको छ। यसअघि खोप लगाउन छुटेका सबैलाई खोप लगाउन अनुरोध समेत गरिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएसँगै त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको हो।

हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण देखिन थालेकँ छ। भारतसँगका यहाँका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढेको हो।भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र रूपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ। यस प्रदेशमा समेत माघ दोस्रो साता चारजनामा ओमिक्रोन पुष्टि भइसकेकाले सीमानाकामा थप कडाइ गरिएको जोशीको भनाइ छ।

सीमानाकामा थप प्रभावकारी ढङ्गले स्वास्थ्यपरीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतको भन्दा थप सबल व्यवस्थापनका लागि स्वास्थ्य टोली खटाइएको छ। यसका साथै कोभिड–१९ सम्पर्क व्यक्ति जोशीका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियान बढाइएको छ।प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान पनि जारी रहेकोले सबैलाई खोप लगाउन पनि आग्रह गरिएको छ।

भारतसँग सीमा जोडिएको यो प्रदेशमा समेत ओमिक्रोन देखिसकेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशनालयको आग्रह छ। सुदूरपश्चिम प्रदेशमा हालसम्म ४ लाख ८१ हजार १०२ जनाको कोरोना परीक्षण गरिएकोमा ५८ हजार २८२ जनामा संक्रमण भइसकेको छ। संक्रमणकै कारण यस प्रदेशमा ६२४ जनाको ज्यान गइसकेको छ।