परिवारमा सबैकी प्यारी थिईन उनी । मीठो मसिनो खानेकुरा, राम्रा लुगा कपडा, घुम्ने, सिनेमा हेर्ने, पूजा अनुष्ठानमा जाने यस्ता सबै चाहना परिवारले सबै पूरा गरिदिन्थ्यो, उनको । तर दलितसँग अन्तरजातीय प्रेम विवाह गरेका कारण उनका सबै माग पूरा गरेको परिवारले उनीसँग सबै नाता तोडेर असुल ग¥यो सायद । माईतीघर, मामाघर लगायतका कुटुम्बका घरहरुमा हुने धार्मिक साँस्कृतिक कार्यक्रम र अनुष्ठानहरूमा उनलाई बोलाउदैनथे । सबैसँग भेटघाट बोलचाल सबै निषेध भएको थियो ।
उनी सोच्थिन, टुहुराहरू बाचेकै छन् । दाजुभाइ नहुने दिदी बहिनी बाचेकै छन्। मामा, फूपू नहुने बाचेकै छन् । परिवेश, परिस्थितिका कारण सुखी वा दुःखी छन फरक त्यत्ति त हो नि । आफ्नो गाउँ र देश छोडेर बसाई सराई गरेका छन् मान्छेहरूले । आफन्तबाट टाढिएका छन् । जहाँ पुगे त्यहीका भएर बसेका छन । विरानो देश परिवेशमा पनि आफूलाई अभ्यस्त बनाएका छन ।
उनले मान्छेको यो भोगाईले आफ्नो नयाँ युग अरू कसैले नभई आफैद्वारा शुरू हुने ठम्याईन । गजबको निर्णय लाग्यो उनलाई आफ्नो । विरानो माईतीघर तिरबाट आउने साथीहरूले उनका बारेमा बुवा आमा दाजु भाउजू कसैलाई कुनै मतलब नभएको कुरा सुन्नु पथ्र्यो उनले । हाम्रा लागि त मरेकी हो भन्छन् रे उनलाई । तर पचहत्तर बर्षिय उनकी हजुर आमा भने उनीसँगको निर्मम विछोडले अति दुःखी थिईन । जसरी भए पनि नातनीलाई भेट्न चहान्थिन् । नातनीको मुख हेरेर परलोक हुने मन छ उनको । भेट्न नातनीलाई खबर पठाई रहन्थिन ।
आधुनिक युवा दाजुभाई, हजुर आमा भन्दा आधुनिक आमा बुवा सबैमा रहेको जातीय अहंकार हजुर आमासँग रत्ति देखिएन् । कहिले काही गोष्ठी भेला आदिमा जादा पढे लेखेका विद्वान भनिएकाहरूले वृद्धहरूलाई चलाउनु हुदैन, उनीहरूको स्कुलिङ्ग बर्षौं पहिलेदेखि रहेको विभेद र छुवाछुतले गाजिएको छ । हामी र युवाहरू परिवर्तन भईरहेका छौं भनेको सुन्दा ति विद्वानलाई सुनेर बुझेर उनलाई त्यस्ता आधुनिक विद्वान प्रति दया पलाएर आउँथ्यो । यस्तो निष्कर्ष निकाल्छिन कि उनी आफू परिवर्तन हुन नसक्नेहरूले वृद्धका नाममा जातीय विभेद र छुवाछुत बचाई राख्न चाहेका छन् ।