सुदूरपश्चिमेलीको सासमा झुण्डिएको डेउडा
2022/02/19, 10:24
 
dd

दुई बला बयली खेल्दा ड्याली काकुनका 
दुई मैना कसेरी काटुँ चैत फागुनका

महिनाका हिसाबले वसन्त ऋतु आउँन अझैं केही दिन बाँकी नै छन्। प्रेमिल मनहरुका लागि प्राकृतिक परिवेश अनुसार सुरुवात भइसकेको छ, वसन्त ऋतु। कोइली न्याउली कराउन थालिसके। मध्य तथा सुदूरपश्चिमका वन जङ्गलमा बाँसुरीको विरहपूर्ण धुन सुनिन थालिसक्यो। एकातिर विरहपूर्ण ठाडीभाका सुनिन्छन् भने अर्कोतिर मनै रुवाउने बाँसुरीको धुन। यस्तै परिवेशलाई नियालेर गाए होलान्, गायक टेकराज अवस्थीले शिरानीका पंक्ती।

हाम्रा लोकगीत भन्नु नै बेलाबखत लोकको गलाबाट स्वस्फुर्त ढंगले निस्केका भाकाहरु हुन्। प्रकृतिको निकटतामा सिर्जना गरिएका त्यतै मौलिएका ती भाकाहरु प्रकृतिकै उपज हुन्। परापूर्व कालदेखि गाइँदै आएका र बिभिन्न रसले अभिसिन्चित भएका तिनै गीतले मान्छेभित्र आनन्द उमङ्ग भित्र्याउनेदेखि भित्रको बह पोख्न समेत उत्तिकै भूमिका निर्वाह गरिरहेका हुन्छन्। क्षणभरकै लागि मात्र किन नहोस् महशुस हुन्छ अर्कै दुनियाँमा पुगेको।

मातृभाषाका गहकिला शब्दहरुले आत्मीयताकासाथ काव्यिक अनि प्रेमिल सास फेर्छन् मौलिक भाकाहरुमा। हाम्रो लोकसाहित्य भन्नु नै हाम्रो आफ्नो पन हो। हाम्रो मौलिकता हो। हाम्रो पहिचान हो। त्यतै भेटिन्छन् हाम्रा जराहरु। इतिहासका पाटाहरु समेटिएका छन्, वीर पुरुषका गाथा बनेर। आस्थाका त्यान्द्राहरु सजिएका छन्, माङ्गल गीतका रुपमा। जङ्गलमा रमाइरहेका पशुपंक्षीहरुका आवाजदेखि लिएर आफ्नै मस्तीमा सुसाइरहेका खोला नालासम्मको आवाजको ध्वनिबाट प्रभावित भएको मानिन्छ मध्य तथा सुदूरपश्चिमको लोकसाहित्य। खोलानालाको गडगडाहट होस् वा कलकल, छलछल गर्दो ध्वनि, आकाशको गर्जन होस् वा जङ्गलको सुसाई सबै–सबैबाट अनुप्राणित छ, हाम्रो लोकसाहित्य। बाइसे राज्यहरुमध्येको शक्तिशाली र प्रभावशाली राज्य थियो, डोटी राज्य। त्यस राज्यमा गाइने र बजाइने गीत संगीतलाई डोटेली लोकसाहित्य भनेर चिनिन थालियो। बोलिने भाषालाई डोटेली भाषाका रुपमा चिनिन थालियो।

कहिलेकाहीँ फुर्सदको बेला समय अनुकुल रमाइलो गरेर एकआपसमा खुसी बाड्नका लागि चयन गरिए हाम्रा कतिपय चाड पर्वहरु। यसरी खुसी बाँड्दै रमाइलो गर्ने हरेक जसो चाडपर्वहरुमा जोडिन पुग्यो डेउडा गीत पनि। डेउडा अर्थात् ड्यौडा गीत मध्य तथा सुदूरपश्चिमेलीहरुको सासमा झुण्डिएको पाइन्छ। जसको छुट्टै महत्व छ। छुट्टै आभा छ।

नेपालको सेती महाकाली कर्णाली र भेरीसम्म साथै भारतको कुमाऊँ, गड्वालतिर समेत गाइने र खेलिने (गायनसँगै नृत्य गरिने) डेउडा गीत नेपाली लोकसाहित्यको एउटा दरिलो हाँगो हो। वनपाखातिर लामो सास तानेर सुरिलो भाकामा गाइने नृत्यरहित गीतदेखि जात्रा विवाह र चाडपर्वमा गाइने नृत्ययुक्त गीतलाई डेउडा नै भनिन्छ। मात्र भाका फरक हुन्छन्। खासमा डेउडाले डेढ (एक पुरा र अर्को आधी) भन्ने अर्थ दिन्छ। ठाडी भाका गाउँदा होस् या गोलवद्ध भएर पैतलीको चालमा खेल खेल्दा होस्, एकपटकमा पहिला पूरा पंक्ती लगत्तै त्यही पंक्तीलाई आधी गाइन्छ भने पैतलीको चाल पनि डेढ नै हुन्छ। त्यसैले भन्न सकिन्छ: वर्तुलाकार समूहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलीको पदचापमा सन्तुलन मिलाएर समूहमा लयवद्ध ढंगले गाइने र खेलिने (नृत्यसहितको)गीत डेउडा हो, जसका शब्दशब्दमा जिन्दगी र जगतका आयाम र आलापहरू भेटिन्छन्।

सूःसूः चोर डेउडा, ठाडीभाका भग्न्यौला लगायत यसका थुप्रै भेदहरु छन्। अधिकांश भेदहरु जस्तै सूःसूः पनि एक प्रकारको राग अथावा ढप हो। बाँया हातको चोर औंला कानमा घुसारेर दाया हातका चोर, माझी र काइलो औंला विस्तारबिस्तारै घाटीको रुद्रघण्टीनेर हिर्काउँदै एक्लै वा दुई तीन जनासँगै बसेर एकैसाथ गाइन्छ सूःसूः। यसरी घाटीमा औंला हिर्काउँदै गाएको देख्दा तालमा गाइरहेको गायक गायिकाले हातले शरीरका कुनै अङ्गमा वा नजिकको कुनै चिजबस्तुमा ताल मिलाउन टकटक हिर्काउँदै अभ्यास गरिरहेको जस्तो देखिन्छ।

दुबै हातका चोर औंला दुबै कानका प्वालमा  घुसारी कान बन्दगरी एक्लै वैरागीजस्तो बनेर वनजङ्गलतिर लामो स्वर तानेर गाइने गीतलाई ठाडी भाका भनिन्छ। ठाडी भाकामा गाइने गीतहरु वियोग, वेदना र विरहले भरिपूर्ण हुन्छन्।

गाउँमा सारा मान्छे सुतिसकेपछि गाउँ समाजले चाल नपाउने गरी अग्रीम सरसल्लाह बमोजिम नै गाउँभन्दा टाढा एकान्त क्षेत्रमा गई यौवनारुढ केटा केटीहरुबीच बिभिन्न लयमा गाइने गीतलाई चोर डेउडा भनिन्छ। यसरी गाइने गीत माया प्रेममा आधारित हुन्छन्। केटा र केटीका बीच माया–पिरतिका बिषयमा एकान्त स्थलमा गरिने सवाल जवाफ नै चोर डेउडा हो।

डेउडामा राग वा ढपको विशेष भूमिका रहेको हुन्छ। डेउडा गीतमा मुख्यतया रागी र वैरागी ढप नै देखिन्छन्। रागी ढपले माधुर्यता बोक्छ।  जिन्दगीलाई सुन्दरताको प्रतीकका रुपमा हेर्न खोजिन्छ। वैरागी ढप भन्नु विरक्तिले भरिपूर्ण खजाना घर जस्तै हो। यो राग सुन्दा निकै नै भावुकता पैदा भई, उराठ, निराश र शून्यताको महसुस हुन्छ। जहाँ जिन्दगीको उराठपन, धोका पाएको, दिनदशा लागेको, दैवीप्रकोप जस्ता विपत्तिबाट प्रताडित भएको, जोसजाँगर सबै हराएर जिन्दगीबाट हार खाएको भाव अभिव्यक्त भएको पाइन्छ।

लोकदोहरी गीतमा जस्तै प्रश्नको जवाफ तत्काल दिनुपर्ने हुन्छ डेउडामा पनि। तर, दोहरीका जस्ता  ठाडो र आक्रामक शब्दहरु प्रयोग नगरेर शालीन अनि गहिरो अर्थ लाग्ने खालका शब्दहरु विम्बात्मक ढंगले प्रयोगमा ल्याइन्छन्। डेउडामा गीताङ्गेहरुले बढी मात्रामा विम्बहरु खेलाउँछन्। डेउडा खेलमा सवाल जवाफ चल्न थालेपछि श्रोताहरुलाई समेत पत्तो हुँदैन रात बितेको। डेउडा खेलमा दुईवटा समूह हुन्छन्। दुईतिर दुई जना डेउडे हुन्छन्। ती दुईका बीच सवाल जवाफहरु हुन्छन्। नाम चलेका डेउडेहरुलाई चाडपर्वमा गाउँगाउँबाट निम्तो आउँछ डेउडा खेल खेल्न। यसरी डेउडा खेल्दा रातभर दिनभर पनि चल्थे सवाल जवाफ। विगतमा जित्ने समूहलाई स्यावासीस्वरुप खसी दिने चलन पनि थियो।

डेउडा खेलमा जब दुई तिरका ड्यौडियाहरुको सवाल जवाफ सुरु हुन्छ तब छाउछ मनमा एक प्रकारको रौनक। डेउडा गीत एउटै गोलबद्ध घेरामा खेलिने भए तापनि दुई समूहमा विभाजित हुन्छ। दुबै समूहमा एक–एक जना प्रतिनिधि ड्यौडिया हुन्छन्। विगतमा ती दुबै जना प्रतिनिधि पात्रको शिरमा सेतो पगडी बान्न लगाइन्थ्यो र छाता ओढाइन्थ्यो। जुन उनीहरुको प्रतिभाको सम्मान थियो। साथै आमदर्शकले चिन्ने संकेत पनि थियो। स्पन्दनमा आदर्श, निष्ठा र विश्वास उनेर अडिएको त्यस क्षेत्रको जनजीवन मानसपटलमा छचल्किरहन्छ कहिल्यै डेउडागीतका सुमधुर लय बनेर, कहिल्यै सम्झनाको सुन्दर बिहानी छरेर त कहिल्यै सेती, काली, कर्णाली र बूढीगंगाको उर्लदो दृश्य देखाएर। जब मध्य तथा सुदूरपश्चिमेली संस्कृतिको बारेमा चर्चा हुन थाल्दछ तब कोमल मनका गह्राहरूमा शरदको जूनले चियाइरहन्छ, बैंसालु रहरहरू समुद्रको छालझैं तरङ्गित हुन थाल्दछन् कैयौंं चाडपर्वहरूले रैवार (सन्देश) पठाइरहेझैं लाग्दछ कैयौं ड्यौडियाहरू स्मृतिको आँगनमा डेउडा खेल (नृत्य) जमाइरहेका हुन्छन्।

डेउडा मध्य तथा सुदूरपश्चिमेलीहरुको सास हो, भन्न मन लाग्छ किनकि बालकदेखि बृद्धबृद्घासम्म हरसासमा डेउडा मिसिएको छ। अङ्गालाेमा बाँधिएर यसले पैतली मिलाउन लगाएको छ र जीवनका आयामहरूले यसलाई आत्मसात गरेका छन्। डेउडा गीत मध्य तथा सुदूरपश्चिमेलीहरूको लागि विगतको पाठशाला पनि हो। आजका विद्यालय विश्वविद्यालयहरूभन्दा बढी गरिमा बोकेको पाठशाला किनकि त्यतिखेर कसैले भनेका डेउडा गीतलाई मनन् गरेरै पनि जिन्दगीको गोरेटो तय गर्थे मान्छेहरू। ती गीतहरूले सत्य र यथार्थसंग अङ्गालाे कसेका थिए। सत्यता र यथार्थतालाई ग्रहण गरेर जिन्दगीलाई अगाडि बढाउनु नै शिक्षा हो। वायुवेगमा फैलिएझैं तुरुन्तै चारैतिर फैलिने डेउडा गीतका केही पंक्तिहरू अहिलेका महान् चिन्तक र दार्शनिकका कोटेसनझैं जनमानसको दिमागमा डेरा हाल्दथे। मान्छेलाई संवेदनशील बनाएर माया, प्रेम, सद्भाव र भाइचारा लोभ लाग्दो किसिमले झल्काउँछ, डेउडा गीतले।

पाती चढाई दर्शन गरेँ मालिकाका थान 
एकै सूर्जे घाम ताप्नु छ भेट हुँनैन् क्यान (किन)

वन–जङ्गलमा बाँसुरीको धुनबाटै जिन्दगीका आलापहरू छरेर सन्तुष्टि बटुल्दै अभावमा पनि आनन्दको जिन्दगी जिउने कला सिकेका थिए, त्यतिखेरका मानिसहरूले पनि। तर, आजका उच्च शिक्षा हासिल गरेकाहरूले त्यो मर्मलाई आत्मसातसम्म पनि गर्न सकेका छैनन्। त्यस्तो प्रेमपूर्ण र आनन्दको जीवन जीउने कला सिक्नु त धेरै परको कुरा भैसक्यो। हिजोआज डेउडा गीतका ती गहकिला बहुअर्थ दिने शब्दहरू धातु खिइएझैं विस्तारै खिईदै पातलिँदैं गइरहेको महसुस हुन्छ।

पुराना ड्यौडियाहरू र अघिल्लो पुस्ताका केही गायक गायिकाहरूले जुन गीत रचना गरे, गाए जुन ढंगले उपमा प्रयोग गरे। भाव पक्षलाई शशक्त तुल्याए। त्यो स्तर दिनानुदिन खस्किँदै गएको महसुस हुन्छ। यसो हुनुको कारण हो मान्छे सहरमुखी, सुविधाभोगी हुँदै जानु। धन सम्पत्तिलाई बढीभन्दा बढी महत्व दिन थाल्नु। आफ्नाे भाषा हल्काफुल्का बोल्न सके तापनि असलीपन अथवा भाषाको गहिराई भुल्दै जानु। पाश्चात्य पप शैलीमा रूपान्तरित हुन थाल्नु आदि।

हाल आएर झुमा, रूपा, सुवा, तमी जस्ता दुई चार वटा सुदूरपश्चिमेली शब्दहरू मिस्याएर गाइएका गीतलाई पनि डेउडा नै भन्न थालियो। यतिसम्म कि केही मिडियाकर्मीले त सुदूरपश्चिममा बोलिने भाषालाई समेत देउडा भाषा भन्न थालेका छन्। यसरी यी कुराहरूप्रति हामी बेलैमा सचेत हुन सकेनौं भने हामीमा पुराना दिनकी गुगुल्टी (गथासो) लाग्नु सिवाय बाँकी केही रहने छैन। १९औं शताब्दीका महान् चिन्तक अल्बेयर कामूले भनेझैँ सडकमा भीड बनेर बितिरहेको इतिहासका बिच केवल मानव हुनुको बोध हासिल भइरहनेछ। कला, संस्कृति, सभ्यता र भाषा मानव अस्तित्वको पहिचान हुन आधार हुन्। जुन पुर्खाका कमाई हुन्। पुर्खाहरुको कमाई नै हाम्रो पहिचान हो। त्यही पहिचान हाम्रो संस्कृति हो। संस्कृति,सभ्यता, भाषा छैनन् भने मानव अस्तित्व केबल खोक्रो र निरस हुन जान्छ। हेमन्त विवश /ब्रेकलिंक