क्रिकेटको ग्रासरुट अभियानमा शाही
2022/02/28, 1:07
 
aa

एसोसिएट क्रिकेटका हस्ती क्रिकेटरले नै केही वर्षअगाडि सुदूरपश्चिमा आएर कयौं क्रिकेट प्रतियोगिता खेले। यहाँका युवा प्रतिभाले नै त्यस समय क्रिकेट सिक्ने अवसर पाए। यो उनीहरूका लागि ठूलो अवसर पनि थियो। तथापि, ती प्रतियोगिताले निरन्तरता पाएन।

यसका पछाडि कयौं आर्थिक र अन्य कारणहरू होलान्। नेपाल क्रिकेट संघ (क्यान) निलम्बन हुँदा पनि ठूला आयोजनाले क्रिकेटमय बनेको सहर धनगढी केही वर्षयता केही सुस्ताएको छ। यी ठूला व्यावसायिक क्रिकेट आयोजनाहरू रोकिए पनि युवा क्रिकेटरका लागि सञ्चालित एक प्रतियोगिताले भने निरन्तरता पाइरहेको छ।

वि.सं. २०७३ सालमा पहिलो पटक यु–१९ विद्यालय स्तरीय क्रिकेट धनगढीमा सुरु भयो। त्यति बेला सबैतिर सिनियर स्तरका व्यावसायिक क्रिकेट हुने गर्थे। क्यान निलम्बनमा थियो, त्यसैले युवास्तरका क्रिकेट हुनै पाएनन्।

उमेर समूहका क्रिकेट सञ्चालनमा घाटा बेहोर्नुपर्ने भएकाले निजी या अन्य क्षेत्रले पनि त्यसको आयोजना गरेर जोखिम लिन चाहेनन्। यसबीच धनगढीका एक क्रिकेटप्रेमी रामचन्द्र शाहीले उमेरसमूहको क्रिकेट गर्ने लक्ष्य बनाए।

सहरमा ठूलो फ्रेन्चाइज लिगहरू भइरहेको अवस्थामा उनको आयोजनाले प्रायोजक पाउने सम्भावना नै थिएन, तर, उनले हिम्मत गरे। आफ्नो खर्चमा प्रतियोगिता सुरु गरे। डोटीका शाही पेसाले शिक्षक हुन्। डोटीमा सरकारी जागिर छाडेर उनी धनगढी झरेका थिए। यहाँ आएपछि शाहीले धनगढीमा विद्यालय सञ्चालन गरे। धनगढीमा क्रिकेट कल्चर नै बसिसकेको थियो।

यहाँ शिक्षण गर्ने क्रममा उनमा पनि क्रिकेटप्रति लगाव बढ्नु स्वाभाविक नै हो। सोही लगावका कारण विद्यालयस्तरका राम्रो क्रिकेट आयोजना गर्नुपर्छ भन्ने निर्णयमा उनी पुगे। बिस्तारै उमेरसमूहका क्रिकेट आयोजनाको पक्षपाती भए शाही।

उनी धनगढीमा हुने ठूला आयोजनाहरू हेर्न जान्थे। जहाँबाट शाहीले ग्रासरुट क्रिकेटलाई अगाडि बढाउनुपर्ने आवश्यकता देखे। शिक्षक र विद्यालय सञ्चालक भएकाले प्रतिभावान् क्रिकेट उत्पादनको लक्ष्य उनले देखे। सानो उमेरदेखि एक्सपोजर पाउन सके राष्ट्रले राम्रा क्रिकेटर पाउन सक्ने उनको बुझाइ थियो।

‘धनगढी क्रिकेट हब बनिसकेको थियो। धनगढीमा मात्र होइन देशभर पनि त्यति उमेरसमूहका क्रिकेट आयोजना हुँदैनथ्यो। क्यान पनि निलम्बनमा हुँदा आफ्नो गतिविधि गर्न पाइरहेको थिएन,’ लिटल फ्लावर बोर्डिङ हाई स्कुलका प्रिन्सिपलसमेत रहेका शाहीले भने, ‘सिनियर स्तरका प्रतियोगिता हेर्न जान्थें। व्यावसायिक प्रतिस्पर्धा भएकाले जुनियर प्रतिभाले कमै अवसर पाएको देखें। त्यसैले उनीहरूका लागि एउटा राम्रो प्रतियोगिता आयोजना गर्ने लक्ष्य बनाएँ।’ त्यहाँबाट उनको यात्रा सुरु भयो। सुरुमा विद्यालयको काम पढाउने हो, खेलाएर बस्ने होइन भन्ने आलोचना पनि उनले खेप्नुपर्‍यो।

त्यो विद्यालयमा त खेलाउँछ मात्र भन्ने धारणामा पनि बिस्तारै परिवर्तन भएको उनको अनुभव छ। अहिले ती अभिभावक नै आफ्ना सन्तानले खेलेको क्रिकेट हेर्न आउँछन्। शनिबार मात्र उनले छैटौं संस्करणको आयोजना सम्पन्न गरे। ०७३ सालदेखि उनले कुनै पनि वर्ष आयोजना रोकेनन्।

आयोजना निरन्तरता दिएर उनले युवा प्रतिभालाई एक्सपोजरको अवसर दिलाए। कोरोना महामारीबीच पनि आयोजना रोकिएन र उनले स्वास्थ्य मापदण्ड अपनाएर सफलतापूर्वक आयोजना गराए। अभिभावकले महामारीका कारण आफ्ना सन्तानलाई सहजै खेल्न पठाउने कुरै भएन। तर, उनले मनाए।

महामारीका कारण सबै संघ संस्था आर्थिक समस्यामा नै थिए। त्यसैले प्रायोजक पाउने कुरै थिएन। उनी आफैं पनि ठूलो आर्थिक समस्यामा थिए। यस्तो अवस्थामा शाहीले प्रतियोगिता आयोजना गर्न निकै संघर्ष गर्नुपर्‍यो। महामारीबीच काठमाडौं, बुटवल र पूर्वका विद्यालय भने सहभागी भएनन्। ‘उमेर समूहको क्रिकेटमा प्रायोजक पाउन निकै कठिन हुन्छ। केही वर्ष हामीलाई महामारी सतायो। तर, पनि हिम्मत हारिनँ र आयोजनालाई निरन्तरता दिएँ,’ शाहीले भने, ‘त्यसकै फलस्वरूप आज छैटौं संस्करण सफलतापूर्वक सम्पन्न भयो। मेरै कामलाई देखेर यस पटक केही प्रायोजकले पनि विश्वास गरे।’ स्कुले विद्यार्थीले अनुभवी क्रिकेटरको साथ पाए राम्रो गर्न सक्छन् भन्ने विश्वास शाहीलाई थियो।

सानै उमेरमा नै विद्यार्थीले देशको प्रतिनिधित्व गरेका खेलाडीबाट केही सिक्न पाऊन् भन्ने चाहन्थे उनी। त्यसैले दोस्रो संस्करणदेखि हरेक टोलीले चार जना नेपालको यु–१९ क्रिकेटर राख्न पाउने प्रावधान बनाए। सोही प्रावधानका कारण यस पटक यु–१९ टोलीका कप्तान देव खनाल, उपकप्तान शेर मल्ल, अर्जुन साउद, बसिर अहमद, विशालविक्रम केसी, आदिल अन्सारी, नारायण जोशी, गौतम केसी, आकाश चन्द र विपिन रावललगायत कयौं खेलाडीले विभिन्न टोलीबाट यस प्रतियोगिता खेले। यी खेलाडीसँग स्कुले विद्यार्थीले ड्रेसिङ रुम सेयर गर्ने अवसर पाए। उनीहरूले सिनियर खेलाडीबाट अन्य प्राविधिक पक्ष पनि प्राप्त गरे।

अब यस प्रतियोगितालाई परिस्कृत गर्ने योजनामा उनी छन्। ‘सबै प्रदेशबाट उत्कृष्ट विद्यालय सहभागी गराउने योजनामा छु। राम्रो सम्भावना रहेका प्रदेशबाट एक–दुईवटा थप गरेर प्रतिस्पर्धा गर्न पनि सकिन्छ। कहिलेकाहीँ राम्रो टोली पनि हार्न सक्छ। त्यसैले सबै टोलीले सबैसँग खेल्ने गरी प्रतियोगिता गर्ने मेरो योजना पनि छ,’ लिटल फ्लावर स्पोटर््स एन्ड इभेन्टका अध्यक्षसमेत रहेका शाहीले भने, ‘दक्षिण एसियाका केही विद्यालय पनि सहभागी गराउने लक्ष्य छ। यो गर्न सहज छैन। तर पनि आजैबाट त्यसका लागि लाग्नेछु।’

सुदू रपश्चिम नेपाली क्रिकेटका लागि उर्भर भूमिमा हो, जहाँ शाहीले पनि अर्को इँटा थप्ने प्रयास गरेका छन्। राष्ट्रिय टोली या विभिन्न उमेरसमूहमा यस क्षेत्रबाट कयौं खेलाडीले स्थान बनाएका छन्। युथ लेभलको उनको यो आयोजना अर्को माध्यम बन्न सक्नेछ।

एक समय यस क्षेत्र क्रिकेटका प्रतियोगिता र प्रतिस्पर्धाले विदेश र स्वदेश पर्यटक भरिभराउ हुन्थ्यो। फेरि, एक पटक युथ लेभलको प्रतियोगितामार्फत विदेशी खेलाडी सुदूरपश्चिम आउने माध्यम बन्न सक्नेछ।