एसईई परीक्षाको प्रश्नपत्र छपाइ सुरु हुदैँ
2022/03/02, 1:16
 
aa

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ सुरु गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख थान प्रश्नपत्र छपाइ गर्ने गरी निर्णय गरेको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा घेराभित्र केन्द्रका करिब ४० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् । नेपाली सेनाको सेनानी (मेजर) को नेतृत्वमा ३० जना सशस्त्र र नेपाल प्रहरीका ४५ जना गरी ७५ जना सुरक्षाकर्मीको घेराभित्र प्रश्नपत्र छपाइ हुनेछ ।

आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका यस अघि नै सार्वजनिक भईसकेको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका  सार्वजनिक गरिसकेको छ । 

तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य अङ्ग्रेजी, अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ ।सरकारले वैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरेकाले त्यसअघि नै परीक्षा तोकिएको हो ।