सुदूरपश्चिम प्रदेशमा तात्न थाल्यो चुनावी माहोल
2022/03/10, 7:25
 
dd

सुदूरपश्चिम प्रदेशमा वातावरणीय गर्मीमात्रै हैन, विस्तारै चुनावी सरगर्मी पनि बढ्न थालेको छ । नेपाल सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको मिति घोषणा गरेसंगै प्रदेशमा चुनावी माहोल विस्तारै तात्न थालेको हो ।

निर्वाचनको तयारीका लागि मुलधारका दलहरु जुटिसकेका छन् । दलहरुले उम्मेदवारका घोषणा नगरे पनि भित्रभित्रै चुनावका लागि कसरत गरिरहेका छन् । टिकटका आकाङ्क्षीहरुको दौडधुप सुरु भइसकेको छ ।प्रदेश राजधानी रहेको धनगढी उपमहानगरपालिका सहित सबै स्थानीय तहमा चुनावलाई लक्षित गरेर दलहरुले धमाधम टोल कमिटी समेत गठन गरिरहेका छन् । 

गत स्थानीय निर्वाचनमा प्रदेश राजधानी रहेको धनगढी उपहानगरको नगरप्रमुख पदमा थोरै मतान्तरले पराजित भएका सामाजिक अभियन्ता गोपाल हमालले यस पटक पुनः उपमहानगर प्रमुख पदमा सार्वजनिक कार्यक्रम गरेर घोषणा समेत गरेका छन । उनले विवेकशील साझा पार्टीको प्रदेश संयोजक पदबाट राजीनामा गरेर स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेपछि अरु पार्टीका आकांक्षीपनि सामाजिक संजालमार्फत आ–आफ्नो पकड बलियो रहेको आशयका साथ टिकट प्राप्तीको दौडधुपमा लागेका छन् ।

प्रदेश राजधानी धनगढी मात्र होइन, प्रदेशका अन्य मुख्य नगरहरुमा पनि विभिन्न दलका उम्मेदवारका आकांक्षीहरु गत निर्वाचनभन्दा निकै बढी देखिएका छन् । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकै दिन लम्कीचुहा नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेर युवा सामाजिक अभियन्ता उदय भाट चुनावको प्रचारप्रसारमा जुटिसकेका छन् ।

‘जनप्रतिनिधिले पाउने सेवा सुविधा, तलब, भत्तादेखि ठूलो बजेट चलाउन पाउने भएपछि यस पटक अकांक्षीहरुको व्यवस्थापन गर्न सबै राजनैतिक दललाई मुस्किल हुने देखिएको छ’, कैलाली काङ्ग्रेसका पूर्व जिल्ला सचिव दिपक जोशी भन्छन् । ‘सदस्यहरु वडा अध्यक्ष र वडा अध्यक्षहरु प्रमुख उपप्रमुखमा दाबी गरिरहेको देखिन्छ । स्थानीय तहमा देखिएको आकर्षणका कारण यस पटक निर्वाचन थप जटिल बन्ने देखिएको छ ।’

विभिन्न पार्टीहरुले सामाजिक संजालमा उम्मेदवारी घोषणा नगर्न आफ्ना नेता कार्यकर्तालाई परिपत्र मात्र गरेका छैनन्, कार्बाहीको चेतावनी समेत दिएको बुझिएको छ । दलहरुको चेतावनीले सामाजिक संजालमा बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवारी रहने घोषणा गरेको भेटिदैन तर आकांक्षीहरुले आफ्ना समर्थकमार्फत सामाजिक संजालमा आफ्नो उम्मेदवारी रहेको घोषणा गर्न लगाएको देखिएको छ । 

प्रदेश राजधानी रहेको धनगढीमा मात्र नभइ समग्र सुदूरपश्चिमको राजनीतिलाई प्रभाव पार्ने कंचनपुरको भीमदत्तनगर, डडेलधुराको अमरगढी नगरपालिका, कैलालीको टीकापुर जस्ता नगरपालिकामा त सम्भावित उम्मेदवारहरुले टोल टोलमा पुगेर आफ्नो आफ्नो दाबी पेश गर्दै निर्वाचनको माहोल बनाउन सुरु गरिसकेका छन् । टिकटका आकांक्षीहरुले नेताहरुलाई प्रभावित पार्ने काम समेत सुरु गरिससकेका छन् ।

‘टिकटका आकांक्षीहरुको राजधानी दौड पनि सुरु भइसकेको छ’, एकजना बुद्धिजिवी धर्मबहादुर भण्डारीले भने,‘राजनैतिक मूल्य मान्यता र राजनैतिक संस्कार भन्दापनि नेतामूखी भएर मात्र टिकट पाउन सकिन्छ भन्ने आम धारणाले यस पटकको निर्वाचन निकै पेचिलो हुन सक्ने देखिएको छ ।’ सबैखाले प्रभाव प्रयोग गरेर स्थानीय तहको टिकट प्राप्तगर्ने होडवाजीले स्थानीय तहमा थप भित्रिने देखिएको भण्डारीको बुझाइ छ ।

स्थानीय तहमा यस पटक पुराना जनप्रतिनिधिले टिकटको निरन्तरता पाउने वा नपाउने अहिलेसम्म केही टुङ्गो लागेको छैन । तर, कतिपय स्थानीय तहमा पुरानै व्यक्तिलाई निरन्तरताको लागि टिकट दिने भन्ने किसिमले पनि राजनीतिक दलहरुभित्र छलफल चलिरहेको बताइएको छ । पाँच वर्षसम्म जनप्रतिनिधि भएकालाई कामको अनुभव भएको, योजनाको आवश्यकता, अधुरा योजना, जनताको चाहना लगायतबारे राम्रो जानकारी भएकाले जनप्रतिनिधि भइसकेकालाई नै टिकट दिने हो कि भन्ने कोणबाट पनि राजनीतिक दलभित्र छलफल भइरहेको बुझिएको छ । यद्यपि, टुङ्गो लगाइएको छैन । तर, जनताको मन जित्न नसकेका, बढी आलोचित भएका स्थानीय तहका प्रमुखलाई सोही पद्को लागि टिकट दिनु हुँदैन भन्ने कोणबाट पनि छलफल भइरहेको बताइएको छ ।

एक कार्यकाल जनप्रतिनिधि भएर काम गरिसकेकालाई भने आगामी स्थानीय तहको निर्वाचन दण्ड, सजायको निर्वाचन हुनेछ । राम्रो काम गरेका, जनताको मन जितेका जनप्रतिनिधिले टिकट पाएमा जनताको साथ पाउन सक्ने सम्भावना रहेको कतिपयको बुझाइ छ । तर, जनताको मन दुखाएका, कार्यकर्तामुखी भएका जनप्रतिनिधिले पुनः टिकट पाएमा सजायको भागेदार हुने सम्भावना धेरै रहेको उनीहरु बताउँछन् । जनप्रतिनिधिमा दोहोरिन चाहेका उम्मेदवारका लागि आउँदो स्थानीय तहको निर्वाचन अग्नी परीक्षाको रुपमा रहने शिक्षक जीतबहादुर चौधरीको बताउँछन् । ‘आउँदो चुनाव, चुनावमात्रै हैन । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र राम्रो काम गर्न नसकेकालाई दण्डित गर्ने अवसर पनि हो’, उनले भने ।

स्थानीय तह गठनले जनताको घरदैलोमा सिंहदरवार आएको प्रचार गरिएको थियो । तर, कतिपय ठाउँमा जनताको घरदैलोमा सिंहदरवार नभइ सिंहमात्रै आएको भनेर स्थानीय तहका जनप्रतिनिधिले जनताबाट आलोचना खेप्दै आएका छन् । जेहोस, स्थानीय तहको आगामी चुनावका लागि आकाङ्क्षी सबैको दौडधुप बढिसकेको छ ।