धनगढीमा ढल निकास पाइप बिच्छ्याउने काम सुरु
2022/03/17, 7:25
 
dd

कैलालीको धनगढीमा पानी निकासका लागि ढल निकास पाइप (प्लाष्टिक पाइप) बिच्छ्याउने काम सुरु भएको छ । डुबानको समस्या न्यूनिकरण गर्नका लागि सडकमा पाइप बिच्छाउन सुरु गरिएको हो । उक्त कार्यको बिहिबार धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र ‘भट्ट’ ले सयुक्त रुपमा शिलान्यास गरेका छन् ।

शिलान्यास गर्दै नगर प्रमुख नृपबहादुर वडले बर्षौदेखी डुबानको समस्या झेल्दै आईरहेका वडा नम्बर २ र ३ का वडा बासीलाई डुबानबाट छुट्कारा मिल्ने विश्वास व्यक्त गरे । वडले भने, ‘अहिले सो काम सुरु भएको छ । आउँदो वर्षमा वडा नम्बर २ र ३ का वडाबासीले डुबानको समस्या झेल्नु पर्दैन ।’

स्थानीय मैना बोहराले वर्षौदेखि डुबानको समस्या झेल्दै आएकोमा ढल निर्माणसंगै समस्या समाधान हुने भन्दै खुशी व्यक्त गरे ।उपमहानगरपालिकाको करिब २ करोड ७० लाख र उपभोक्ताको करिब ५ लाख रुपैयाँको श्रमदानसहित २ करोड ७५ लाख रुपैयाँको लागतमा ढल निकास पाईप बिच्छाउने काम सुरु भएको छ ।

एक हजार २ सय मिटर लामो ढल प्लास्टिक पाइपको काम उपभोक्ता समितिले बैशाख मसान्तसम्म सक्नेगरी सम्झौता भएको उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले बताए । उनले मोहना–अत्तरिया ६ लेन सडकको वडा नम्बर ३ तर्फबाट उक्त नाली मोहना नदीमा लगेर मिसाइने बताए । ढल प्लास्टिक पाइप एकदमै बलियो हुने बताउदै इन्जिनियर भट्टले लोड ट्रक समेत गुड्दा केही फरक नपर्ने बताए ।