महिला फुटबलर जन्माउँदै सुदूरपश्‍चिम
2022/03/23, 8:22
 
ss

गत कात्तिक २८ गते आइतबार दिउँसो धनगढीले फुटबलमा महिला लिग छनोटको उपाधि जित्यो। जुन सुदूरपश्चिमको महिला टिमले जितेको अहिलेसम्मकै सबैभन्दा ठूलो उपाधि पनि हो। धनगढीले ३१ टिम सम्मिलित छनोटको फाइनलमा दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै ३-३ गोलको बराबरी गरेर पेनाल्टीमा जित निकालेको थियो। यो जित, सुदूरपश्चिमको महिला टिम विस्तारै राष्ट्रिय फुटबलसम्म आइपुगेको अनुपम उदाहरण पनि हो। सुदूरपश्चिमको त्यही टिम चैत १० गतेबाट सुरु हुने राष्ट्रिय महिला लिग खेल्नका लागि प्रशिक्षणमा छ।

यता, नेपालले अहिले भारतको जमशेदपुरमा यू-१८ महिला साफ च्यासम्पियनसिप खेलिरहेको छ। यू १८ खेल्ने त्यही २३ सदस्यीय टिममा कैलालीका चार खेलाडी छन्। कैलालीकी मञ्जु कुमारी खड्का, प्रतिभा चौधरी, हेमा रावत, लिला जोशी अहिले जमेशेदपुरमा फुटबल खेलिरहेका छन्।  नेपाली फुटबल दानवीरहरुबाट सञ्‍चालित छ भन्दा अस्वभाविक हुँदैन। गाउँ-गाउँमा भेटिने फुटबल क्रेजीले गरेको लगानीले नै नेपाली फुटबल अहिलेसम्म धानिएको छ। कैलालीको महिला फुटबलमा पनि गोरख रोकायाले त्यस्तै लगानी गरेका छन्।

‘अहिले फूलबारीमा केही महिला खेलाडी छन्, राष्ट्रिय टिमबाट खेलिसकेका। ती सबै खेलाडी सुरुवाती प्रशिक्षक गोरख रोकाया हुन्। उनी विशेष गरी गोलकिरप हुन्। उनीहरु पेनाल्टी (जुन सुदूरपश्चिममा चर्चित छ) प्रतियोगितामा सहभागी बन्थे। केटाहरुसँग उनीहरु पनि भाग लिन्थे,’ प्रशिक्षक रोकायालाई कैलालीका एन्फा प्रशिक्षक यज्ञराज श्रेष्ठ यसरी सम्झन्छन्, ‘यहाँ त सबैतिर सवारी साधन हुँदैन। उहाँले बहिनीहरुलाई प्रतियोगिता हुने ठाउँमा मोटरसाइकलमा पालैपालै पुर्‍याउने गर्नुहुन्छ। अनि आफैंले इन्ट्री गरिदिने गर्नुहुन्छ।’

प्रशिक्षक यज्ञराज थप्छन्, ‘प्रतियोगितामा चोट लाग्‍ने भनेको गोलकिपरलाई हो। त्यसैले खेलाडी जोगाउन प्रशिक्षक चाहीँ गोलकिपर बस्थे। केटीहरुले पेनाल्टी हान्थे।’ त्यसो त गोरख फूलबारी माविका शिक्षक पनि हुन्।

गोरखले विसं २०७३ सालबाट केटीहरुलाई फुटबल खेलाउन थाले। त्यतिबेला महिला खेलाडीलाई अघि ल्याउनुपर्छ भन्ने लक्ष्यसहित जेनेरेसन अमेजिङले फूटबल प्रतियोगिता गराएका थिए। 
उनले आफ्नै खर्चमा पाँच वर्षदेखि केटीहरुलाई फुटबल सिकाइरहेका छन्। ‘हामीले यहाँ स्थानीय रुपमै प्रशिक्षण गराइरहेको हो। महिला खेलाडीको बीउ रोप्‍न खोज्दै छौं। यहाँ आफ्नै खर्चबाट गर्दै आएका छौं,’ प्रशिक्षक गोरखले भने। उनले विसं २०७३ सालबाट केटीहरुलाई खेलाउन थाले। त्यतिबेला महिला खेलाडीलाई अघि ल्याउनुपर्छ भन्ने लक्ष्यसहित जेनेरेसन अमेजिङले फूटबल प्रतियोगिता गराएका थिए। 

‘स्कुलमा २–४ ओटा बल दिएको थियो। प्रतियोगिताको लागि नानीहरुलाई १५ दिनको अभ्यास गराएँ। मेरो स्कूल पहिलो भयो,’ उनले भने, ‘त्यसपछि आफैं ट्युसन पढ्ने, बस्‍ने र जुत्ताको व्यवस्थापन गरेर फुटबल सिकाउन सुरु गरेको हुँ। अहिले २० जना खेलाडी छन्। सबै यू–१८ का नै हुन्।’

त्यतिबेला कोकोकोला कप हुन्थ्यो। त्यसको जिल्ला छनोट धनगढीमा भएर नेपालगञ्जमा प्रदेश छनोट हुन्थ्यो। सुदूरपश्चिम र मध्यपश्चिमबाट एउटा मात्र टिमले राष्ट्रिय प्रतियोगिता खेल्न पाउने हुन्थ्यो। ‘हामी ती दुई विकासक्षेत्रमा लगातार तीन पटक विजेता भएर राष्ट्रिय प्रतियोगिता खेल्यौँ,’ प्रशिक्षक गोरखले फूलबारीबाट फोनमा भने, ‘काठमाडौंमा १० टिमको राष्ट्रिय प्रतियोगिता हुन्थ्यो। जहाँ पहिलो वर्ष चौथो भयौँ। अहिले नाम क्‍विक्स कप छ तर दुई वर्ष भयो प्रतियोगितै आयोजना भएन।’

एक त प्रतियोगिता हुनै गाह्रो छ। त्यसमाथि महिला खलाडीलाई मैदानमा उतार्नै गाह्रो। त्यसमाथि पिछडिएको सुदूरपश्चिमबाट त झन् गाह्रो। पहिले त केटीहरुले जर्सी लगाउँदा कुरा काट्ने गर्थे। अहिले त्यो चाहीँ कम भएको छ। अनि सुदूरपश्चिममा महिला खेलाडी भएका ठाउँ पनि कैलाली र कञ्‍चनपुर मात्रै हो। बाँकी जिल्लामा महिला खेलाडी पाउन मुस्किल छ।

त्यति मात्र होइन, चिनिएका खेलाडीलाई टिकाउन झनै गाह्रो देख्छन्, गोरख। ‘महिला खेलाडीहरु ठूला भएपछि विवाह गरिहाल्छन्। विवाह गर्नु भनेको महिलाहरुको लागि फूटबल सकिनु हो। हामीले उनीहरुलाई फुटबलमा टिकाउनै सक्दैनौँ। टिकाउन सक्ने निकायले वास्ता गर्दैन। त्यसैले हाम्रा खेलाडी कम उमेर समूहमा धेरै छन् तर सिनियर टिममा छैनन्,’ उनले भने।

चुनौतीका बाबजुद गोरखले तयार गरेका खेलाडी सुरक्षा कुमारी सिंह र अस्मिता चौधरी यू १६ को अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। त्यस्तै, अहिले उनले जन्माएका चार जना खेलाडी विराटनगर महानगरपालिकाबाट राष्ट्रिय महिला लिग खेल्दैछन्। गोरखले भने, ‘प्लेइङ सेटमा खेल्नसक्ने खेलाडी हुन्, ती सबै। बाँकी पनि पठाउन सकिन्थ्यो। तर उनीहरुको परीक्षा भएकाले पठाउन सकिएन। खेलाडीहरु चार महिनादेखि क्यान्टिनमा बसिरहेका छन्।’

उनले धेरै खेलाडी उत्पादन गरिरहे पनि यू–१८ मा परेका चार खेलाडी चाहीँ मसुरिया फुटबल एकेडेमीका हुन्। त्यो गौरिगंगा नगरपालिकामा पर्छ। त्यो एकेडेमीबाटै फुटबल सिकेर चन्द्रा भण्डारीले यू १५, १६ र १९ खेलिसकेकी छन्। उनी चाहीँ महिला लिग छनोटमा उत्कृष्ट फरवार्ड बनेकी थिइन्। छनोटमा सरस्वती रोकाया बेस्ट मिडफिल्डर भइन्। सरस्वती गोरखकी भतिजी हुन्।

अहिलेसम्म सुदूरपश्चिमले धेरै महिला खेलाडी जन्माइसकेको छ।  रेविका पाण्डे, उषा नाथ पनि धनगढीकै हुन्। राष्ट्रिय फुटबलमा पहिचान बनाइसकेकी मनिका पुलामी मगर फूलबारीकै हुन्।
 

महिला लिगमा बेस्ट मिडफिल्डर बने पनि सरस्वती राष्ट्रिय टिममा पर्न सकिनन्। ‘राम्रो भन्दा हाम्रो छान्‍ने चलन छ नि नेपालमा। त्यही भएर होला ! छनोटमा बेस्ट भएको त राष्ट्रिय टिममा पर्नुपर्ने हो,’ गोरखले धनगढीबाट फोनमा भने। सरस्वतीले अहिले धनगढीबाट महिला लिग खेल्दैछिन्। उनी अझै राम्रो गर्ने सोचमा रहेको गोरखले सुनाए।

 

उमेर समूहको फुटबलको विकास

सुदूरपश्चिममा उमेर समूहमा फुटबल खेल्नुपर्छ भन्‍ने भावना नेपालमा बहुदल आएको केही वर्षपछि मात्र सुरु भएको हो। त्यसपछि सुदूरले उमेर समूहको राष्ट्रिय फुटबल प्रतियोगितामा प्रतिनिधित्व गरिरहेको छ।

‘इतिहास नै हेर्ने हो भने, त्यो समयमा कैलालीमा यू–१६ को अभ्यास गराउन ध्रुव केसी आउनु भएको थियो। त्यो केटाहरुका लागि थियो। त्यसपछि बल्ल यहाँको उमेर समूहको फुटबल सुरु भएको हो,’ कैलालीका एन्फा प्रशिक्षक यज्ञराज श्रेष्ठले नेपाल समयमसँग भने।

धनगढीमा दुईपटक महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको थियो। यो त माओवादी द्वन्द सुरु भइसकेपछिको कुरा होला। यहाँ महिलाहरुको गोल्डकप पनि भयो। त्यतिबेलाको प्रतियोगिताबाट नजरमा परेका कैलालीका तीन खेलाडीले पछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेले। तीमध्ये दुई खेलाडी हुन् – ममता केसी र चन्द्रा भण्डारी। ममता केसी अब रहिनन् चन्द्राले चाहिँ राष्ट्रिष्य टिम र पुलिस टिमको कप्तानी गरिसकेकी छन्।

त्यसपछि अहिलेसम्म सुदूरपश्चिमले धेरै महिला खेलाडी जन्माइसकेको छ।  रेविका पाण्डे, उषा नाथ पनि धनगढीकै हुन्। राष्ट्रिय फुटबलमा पहिचान बनाइसकेकी मनिका पुलामी मगर फूलबारीकै हुन्।

तर, सुदूरपश्चिमले महिला खेलाडीको उमेर समूहमा आफूलाई स्थापित गरेको चाहीँ चार-पाँच वर्षबाट मात्र भयो। ‘गाउँघरबाट खेलाडी लगेर हाम्रो भनेर देखाउने मात्र त हो। जिल्लाबाट गेम भएको बेलामा मात्र छनोट गर्न आउँछन्। अरु समयमा कसैले वास्ता नै गर्दैनन्,’ प्रशिक्षक गोरखले खिन्‍नता प्रकट गर्दै भने, ‘हाम्रो वडामा ४० जना खेलाडी छन्। अहिले पनि महिला लिग खेल्ने खेलाडी हाम्रो वडाबाट मात्रै ९ जना छन्।’

त्यति मात्र होइन, पछिल्लो सिजन पनि राष्ट्रिय महिला लिग खेलेका खेलाडी अहिले यू-१८ मा छन्। उनीहरु स्याङ्जाको वालिङबाट खेलिरहेका छन्। अघिल्लो पटक पनि उनीहरु वालिङबाटै खेलेका थिए। त्यसरी हेर्दा सुदूरपश्चिम महिला खेलाडीमा धेरै धनी भइसक्यो।

‘महिला खेलाडी निकाल्नका लागि कसैले प्रयास नै गर्दैनन्। त्यसैले मैले कोसिस गरेको हो। त्यसबाहेक यहाँ गौरिगंगाको एकेडेमी पनि छ। मैले चाहीँ गाउँका खेलाडीहरुलाई सिकाइरहेको छु,’ गोरखले भने, ‘त्यसमा मेरा दुई छोरी पनि छन्।’ गोरखकी जेठी छारी दीपा रोकाया विराटनगरबाट महिला लिग खेल्दैछिन् भने कान्छी छोरी पुष्पा रोकाया चाहीँ धनगढीबाट खेल्दैछन्। विराटनगरका प्रशिक्षक हुन्- पारस चौधरी। चौधरीले दीपालाई आफ्नो टिममा लिएका थिए।

दीपासँगै कैलालीका अस्मिता चौधरी, सुरक्षा सिंह, विनिता बोहोरा, सिवानी सिंह पाँच जना धनगढीका खेलाडीले विराटनगरबाट महिला लिग खेलिरहेका छन्। ती सबै गोरखका खेलाडी हुन्। उनका ९ जना खेलाडीले महिला लिगको छनोट खेलेका थिए।

‘मैले उत्पादन गरेका को खेलाडी केन्द्रमा आइपुगेका छन्, तर सरकार होस् वा फुटबल संघ उनले कसैबाट सहयोग पाएका छैनन्,’ गोरखले भने, ‘त्यसो त धनगढीमा रंगशाला पनि छ। जिल्लामा स्रोत र साधनहरु छन्, रंगशाला छ तर महिला खेलाडी कोही पनि छैनन्।’

‘केटाभन्दा केटीको प्रदर्शन राम्रो छ। साफ महिला यू-१८ खेल्ने टोलीमा पनि चार जना कैलालीका खेलाडी परेका छन्। सुरुमा ९ जना परेका थिए, अन्तिम टोलीमा चाहिँ चार जना परेका हुन्,’ यज्ञराज श्रेष्ठ भन्छन्।

पेनाल्टीको प्रभाव

महिला लिगको छनोटको फाइनलमा कैलालीका जिल्ला प्रशिक्षक यज्ञराज एन्फामै थिएँ। सातदोबाटोस्थित एन्फाको मैदानमा महिला लिग छनोटको फाइनलको दिन थियो। फाइनलमा धनगढी र ललितपुर पुगेको थियो। टाइब्रेकरमा खेल गयो भने हाम्रो धनगढीले जित्छ भनेर उनले सुरुमै घोषणा गरे।

त्यो कसरी त? उनी भन्छन्, ‘किनभने हाम्रो टिममा त तिनै पेनाल्टी हान्‍ने खेलाडीहरु नै छ। हाम्रो पेनाल्टीवाला ग्रुप छ। यहाँ त चोक चोकमा पेनाल्टी प्रतियोगिता हुन्छ। त्यसमा यी खेलाडीले धेरै जितिसकेका छन्। पेनाल्टीमा त हामी नै एक्सपर्ट हो।’ 

धनगढीको जित त्यहाँ हुने पेनाल्टी प्रतियोगिताको प्रभाव पनि थियो, सायद। जसमा प्रशिक्षक रोकायाले खेलाडीलाई सहभागी गराउँथे। कैलालीमा फुटबल प्रतियोगि भन्दा पेनाल्टी प्रतियोगिताको चर्चा धेरै हुन्छ। पेनाल्टी प्रतियोगिताको प्रभाव र प्रसार पनि धेरै छ। त्यसैले ति भेगका खेलाडी पेनाल्टी हान्‍न खप्पिस छन्।

पछिल्लो समय कैलालीले महिला फुटबलमा धेरै राम्रो गतिविधि गरिरहेको छ। उसले घरेलु प्रतियोगिता होस् वा राष्ट्रियस्तरको प्रतियोगिता उसले फुटबलमा ठाउँ लिन चाहीँ थालिसकेको छ।

‘केटाभन्दा केटीको प्रदर्शन राम्रो छ। साफ महिला यू-१८ खेल्ने टोलीमा पनि चार जना कैलालीका खेलाडी परेका छन्। सुरुमा ९ जना परेका थिए, अन्तिम टोलीमा चाहिँ चार जना परेका हुन्,’ यज्ञराज श्रेष्ठ भन्छन्।

सुदूरपश्चिमले नेपाललाई रेविका पाण्डे, उषा नाथजस्ता खेलाडी दिएको छ। त्यस्तै, फरवार्ड चन्द्रा भण्डारी र सरस्वति रोकाया(हमाल) पनि राम्रा खेलाडी हुन्।

०००

अब वैशाख ३ गतेबाट सुदूरपश्चिममा महिलाको गोल्डकप हुँदैछ। एन्फाका कार्यक्रमबाहेक महिलाका प्रतियोगिता नेपालमा खासै हुने गरेका छैनन्। त्यसमा सुदूरपश्चिमले गर्न लागेको यो निकै सराहनीय छ।

यो गोल्डकप नेपाली महिला फुटबलमा सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिता हुने आयोजक वनदेवी युवा क्लबका अध्यक्ष दुर्गा अधिकारीले पत्रकार सम्मेलनमा बताएका छन्। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले अढाई लाख पुरस्कार पाउनेछन्।

‘महिलाको प्रतियोगिताले यहाँका धेरै खेलाडीको ट्यालेन्ट बाहिर ल्याउनेछ। जसले सुदूरपश्चिमबाट फुटबलका राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्माउन सहयोग हुनेछ,’ अधिकारीले भने।