बाटोमै बच्चा जन्माउन बाध्य छन् दुर्गमका महिला, सरकारको ध्यान भने भ्यू टावर
2022/04/01, 3:25
 
dd

माथिको तस्वीर बाजुराको हिमाली गाउँपालिका–२ नातिखोला भन्ने ठाउँको हो । जुन तस्वीर अहिले सामाजिक सञ्जालमा 'भाइरल' भएको छ । हिमाली गाउँपालिकामा मोबाइल नेटवर्कले राम्ररी काम नगर्ने भएपछि एक जना अनमीले नेपालगञ्जमा गएपछि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी थिइन् । यो घटना फागुन महिनाको हो । हिमाली गाउँपालिका-२ नातिखोलामै बस्ने २३ वर्षीय पार्वती बुढालाई सुत्केरी-व्यथा लागेपछि स्वास्थ्यचौकी जाँदै थिइन् । उनी वडा नम्बर १ मा रहेको बर्थिङ सेन्टरमा जाँदै थिइन् ।

ती महिला आफ्नो सासू-आमाका साथमा थिइन् । स्वास्थ्यचौकी नपुग्दै बाटोमा व्यथाले च्यापेपछि उनको सासू-आमा आत्तिइन् । सासू-आमा स्वास्थ्यचौकीतर्फ दौडिइन् । संयोगबस के भयो दियो भने गाउँपालिकामा काम गरिरहेकी एक संस्थामा कार्यरत दुई जना अनमी फिल्ड जाने क्रममा बाटोमै भेटिए । अनमी सरिता घिसिङ र कल्पना बस्नेत डेलिभरी व्यागसहित फिल्डमा जाँदै थिए । उनीहरू सेज नेपाल भन्ने संस्थाले खटाएका स्वास्थ्यकर्मी हुन् । 

‘हामी डेलिभरी ब्यागसहित फिल्डमा जाँदै थिएऔँ’, अनमी कल्पना बस्नेतले भनिन्, ‘संयोगबस माथिबाट उहाँहरू आइरहेको तलबाट हामीहरू गइरहेको अवस्थामा बाटोमा भेट हुँदा हतपत प्लास्टिक बिछ्याएर डेलिभरी गराएको हो ।’ दुर्गम बस्ती भएको हुँदा यहाँका महिलाहरू बाटोमा बच्चा जन्माउनु सामान्य जस्तै भएको उनले सुनाइन् । ‘बस्तीहरू टाढा–टाढा छन्’, कल्पनाले भनिन्, ‘बर्थिङ सेन्टरसम्म पुग्दा समय लाग्ने हुँदा यस्ता घटना धेरै हुन्छन् । कतिपय बस्तीबाट स्टेचरमा ल्याउन सक्नेसम्म बाटो छैनन् ।’

पार्वतीले पहिलो बच्चा भने घरमै जन्माएकी थिइन् । दोस्रो बच्चा बाटोमा जन्माएकी हुन् । हिमाली गाउँपालिकाका गुम्बा, बाम, बउडी, बिच्छ्यालगायतका गाउँबाट पालिकाको केन्द्रसम्म पुग्न एकतर्फी बाटो पैदल हिँड्दा १ देखि ३ दिनसम्म लाग्छ । पार्वती यस्तो घटनाको एउटा उदाहरण मात्र हुन् । हिमाली गाउँपालिकामा साविकको बिच्छयाँ गाविसमा बाटो र घरमा बच्चा जन्माउने संख्या निकै रहेको बिच्छयाँ स्वास्थ्यचौकीका इन्जार्च विमला पाण्डेले बताइन् । बिच्छयाँका गाउँहरू स्वास्थ्यचौकीभन्दा निकै टाढा रहेका छन् । स्वास्थ्यचौकी पुग्दासम्म त धेरैले बाटोमै बच्चा जन्माउने गरेको विमलाले सुनाइन् ।

‘समयमै खबर गरेमा घरसम्म पुग्छौँ । ढिलो गरी खबर गर्दा बाटोमा सुत्केरी हुनेको संख्या धेरै छ’, विमलाले भनिन्, ‘यो एक झलक मात्र हो । यस्ता केसहरू धेरै भएका हुन्छन् ।’ हिमाली गाउँपालिकामा चारवटा बर्थिङ सेन्टर छन् । रुविन, धुलिखेल, विच्छाँ र भीम आधारभूत स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर छन् । यो क्षेत्र कांग्रेसका सह–महामन्त्री बद्री पाण्डेको हो । हिमाली गाउँपालिका १, २ र ३ वटा वडा साविकको बिच्छयाँ गाविस हो । यस गाउँपालिकामा ११ हजार जनसंख्या रहेको छ । हिमाली बाजुराको ३५ प्रतिशत भूगोल यो क्षेत्रले ओगटेको छ । बस्तीहरू धेरै टाढा-टाढा छन् ।

बिच्छयाँका कोट, कोटीगाउँ, नातिखोला, रम्दी, बामु, युना, बौडीगाउँ स्वास्थ्यचौकीबाट २ घण्टा टाढादेखि एक दिनको दूरीमा छन् । गुम्बा, लाम्पाटागाउँ भने बिच्छयाँ स्वास्थ्यचौकीबाट दुई दिनको दूरीमा छन् । बिच्छयाँ स्वास्थ्यचौकीबाट १ घण्टाभित्र पुग्ने टिन र नेटा गाउँ मात्र हो । अरु सबै स्वास्थ्यचौकीको पहुँचभन्दा टाढा रहेको स्थानीयको भनाइ छ ।

बाटोमा बच्चा जन्माउने मात्र नभई स्वास्थ्यचौकी ल्याउन पनि निकै समस्या हुने गरेको हिमाली गाउँपालिका वडासदस्यसमेत रहेका स्थानीय जगत लामाले बताए । वडा नम्बर ३ गुम्बा र लाम्पाटा गाउँका महिलाले कहिले स्वास्थ्यचौकीमा बच्चा नजन्माएको उनको भनाइ छ । हुन त सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेको छ । तर, पनि सुत्केरी महिलाको ज्यान जाने क्रम रोकिएको छैन । बाजुराका आमाहरूको प्रजनन स्वास्थ्य बिजोग रहेको छ । कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँचबाट विमुख जस्ता समस्याले आमाहरूको ज्यान निकै जोखिम बन्दै गएको छ ।

हिमाली गाउँपालिका निमित्त प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले पहिलेको तुलनामा मातृ मृत्युदर र शिशु मृत्युदरमा सुधार भएको दाबी गरे । ‘पहिले दुईवटा स्वास्थ्यचौकी रहेका थिए । अहिले नौवटा थपेर ११ वटा बनाएका छौँ’ उनले भने, ‘अझै पनि पुगेका छैनन् । बस्तीहरू टाढा–टाढा भएको हुँदा समस्या भइरहेको हो ।’ उनले नागरिकहरूको प्राथमिक उपचार दिन उद्देश्यका साथ गाउँपालिकाले स्वास्थ्यकर्मीहरू खटाएका बताए ।

भ्यू टावर बनाउने होडबाजी

आधारभूत स्वास्थ्य सेवासमेत नपाए जनताले ज्यान गुमाइरहेका बेला सुदूरपश्चिमका अधिकांश स्थानीय तह भ्यू टावर बनाउने होडबाजीमा लागेका छन् । भ्यू टावर बनाउन सुदूरपश्चिम सरकारले समेत बजेट विनियोजन गरेको छ ।

प्रदेशको भू–बनोट प्राकृतिक टावर जस्तै भएको सुदूरपश्चिममा अग्ला–अग्ला डाँडा आफैँमा टावर जसरी उभिएका छन् । तर, तिनै डाँडामाथि फेरि अर्को टावर ठड्याउने तीन तहकै सरकारको रुचि आफैँमा बुझिनसक्नु छ । समुद्री सतहबाट १ हजार ७ सय मिटर उचाइमा रहेको बाजुराको बूढीगंगा नगरपालिका–४ बार्जुकोट दरबार क्षेत्रमा भ्यू टावर निर्माण भइरहेको छ ।

बूढीगंगा र त्रिवेणी नगरपालिकाका सबै स्थान र पर्यटकीयस्थल बडिमालिकाको दृश्यावलोकन गर्न सकिने भन्दै सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख विनियोजन गरेर उक्त भ्यू टावर निर्माणको काम अघि बढाएको हो । त्यस्तै, दार्चुलाको दुहुँ गाउँपालिकाले मानवस्ती नै नभएको स्थानमा करिब ४० लाख खर्चेर भ्यू टावर निर्माण गरेको छ । दार्चुलाकै महाकाली नगरपालिकाले पनि १० लाख विनियोजन गरेर भ्यू टावर निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न मानव बस्ती नभएको दुहुँ गाउँपालिका- २ मा भ्यू टावर निर्माण गरेर सञ्चालनमा ल्याएको सूचना अधिकारी वीरेन्द्र जोशीले बताए । ‘गाउँपालिका आफैँले लगानी गरेर ५ तले पक्की भ्यू टावर निर्माण गरेर सञ्चालनमा ल्याएको छ’ उनले भने ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मै झिलमिला क्षेत्रमा भ्यू टावर बनाउन ७८ लाखको गुरुयोजना तयार पारेको थियो । जंगल क्षेत्र रहेको पहाडी भू–भागमा निर्माण हुने टावरको वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी काम हुन नसक्दा निर्माण कार्य अघि बढ्न सकेको छैन ।

कञ्चनपुरकै दोधारा–चाँदनी नगरपालिकाले वडा नम्बर ४ मा भ्यू टावर बनाउन ३ करोड ५० लाखको योजनाअनुसार काम भइरहेको छ । त्यहाँका लागि डिजाइन इस्टिमेट गरेर प्रदेश सरकारसँग बजेटसमेत माग गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्र भन्छन्, ‘साढे तीन करोड लगानी रहेको भ्यू टावर निर्माणका लागि ५० लाख विनियोजन भएर अहिले काम भइरहेको छ ।’

त्यस्तै गरी कैलालीको गोदावरी नगरपालिका- ४ कम्पासेधुरामा पनि पर्यटन विभागले निर्माण गर्ने भ्यू टावरको लागत २ करोड छ । सुरूमा १ करोड ७० लाख अनुमान गरिएकोमा लागत २५ प्रतिशतले बढ्ने आकलन गरिएको छ । कैलालीकै कैलारी गाउँपालिका-१ मा भ्यू टावर बनाउन प्रदेशको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले १० लाख विनियोजन गरेको छ ।

कञ्चनपुरको वेदकोट नगरपालिकाले भने आर्थिक वर्ष २०७४/७५ मै वेदकोट ताल क्षेत्रमा ७० लाख खर्चर ६ तले भ्यू टावर निर्माण गरिसकेको छ । भ्यू टावर वेदकोट ताल क्षेत्रको सहज अवलोकनका लागि बनाइएको नगरपालिकाकाको दाबी छ ।