डडेल्धुरामा पाठ्यपुस्तक अभाव, विद्यार्थी समस्यामा 
2022/06/01, 4:54
 
ss

शैक्षिक सत्र सुरु भएर विद्यालयहरु खुलेको एक महिनाभन्दा बढी हुँदा पनि पाठ्यपुस्तकको अभावमा डडेल्धुराका विद्यार्थी समस्यामा परेका छन्। विद्यालयहरुमा विद्यार्थी भर्ना गरिएपनि पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य जेनतेन अघि बढाउन खाजेको विद्यालयहरुले जनाएका छन्। 

नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दा समेत डडेल्धुरामा पाठ्यपुस्त प्रर्याप्तरुपमा भित्रिएका छैनन्। विद्यालय नियमित कक्षा सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन्। 

पाठ्यपुस्तक नहुँदा पढाईमा धेरै समस्या आएको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थी ज्योति ओझाले दुखेसो पोखिन्। करिब डेढ महिना बितिसक्दा समेत पाठ्यपुस्तक नहुँदा सबै विद्यार्थीले समस्या भोग्नु परेको उनको भनाई छ।  

पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य अघि बढाउन मुस्किल भएको महेन्द्र  माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र सिंह ऐरले बताए।  ‘अहिले यो देश भरिको समस्या हो। पाठ्यपुस्तक आउन केही समय अझै लाग्ने र टेण्डर भइसकेको छ। पूराना पाठ्यपुस्तकको जोह गरेर पठनपाठन  गरिराखेका छौं र यो महिनाभित्रै सबै पाठ्यपुस्तक पुग्छ होला।’ उनले भने। 

डडेल्धुरामा २ सय ५१ सामुदायिक विद्यालयहरु रहेका छन्। अहिलेसम्म पाठ्यपुस्तकका लागि सात वटै पालिका अन्तरगतका विद्यालयमा रकम गइसकेको र स्थानीय तहको चुनावका कारण पाठ्यपुस्तक छपाइमा ढिलाई भएको जानकारी आएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारद जोशीले बताए।  

जिल्लाका ३५ संस्थागत विद्यालयले पाठ्यपुस्तक पाए पनि सामुदायिक विद्यार्थीले भने आंशिकरुपमा पाठ्यपुस्तक पाएका छैनन्।