चालू नीति तथा कार्यक्रमको उपलब्धि: डकुमेन्ट्रीदेखि पक्की सडक निर्माणसम्म
2022/06/10, 11:51
 
ss

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको उपलब्धी सार्वजनिक गरेको छ ।प्रदेश सरकारले प्रदेश प्रमुखमार्फत प्रदेश सभामा नीति तथा कार्यक्रमको उपलब्धी सार्वजनिक गरेको हो ।

गएको आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रदेश प्रमुख देवराज जोशीले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमको उपलब्धी सार्वजनिक गरेका थिए । 

प्रदेश सरकारले योजनावद्ध, नतिजामुखी र गुणस्तरीय विकास आयोजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयनका लागि पञ्चवर्षीय योजनाको आधारपत्र कार्यान्वयनमा ल्याएको जनाइएको छ । यस्तै, योजना तर्जुमा दिग्दर्शन  र अनुगमन तथा मूल्याङ्कन निर्देशिका कार्यान्वयनमा ल्याएको छ । प्रदेश लोकसेवा आयोगबाट प्रदेश सेवा र स्थानीय सेवाका रिक्त पद्मा पद्पूर्तिको प्रक्रिया सुरु गरिएको छ । सरकारले प्रदेशको विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययनको कार्य पनि पूरा गरेको छ ।

यसैगरी, प्रदेश सरकारका कानून लगायतका सरकारी दस्तावेज प्रकाशनका लागि प्रेस सञ्चालनमा ल्याइएको छ । डोटी र डडेल्धुरामा रहेको यातायात सेवा कार्यालयको स्तरोन्नति गरेर सवारी चालक अनुमतिपत्र वितरणको कार्यपनि सुरु गरिएको छ ।चालु आर्थिक वर्षमा चार वटा वृत्तचित्रसहित १५४ किलोमिटर पक्की, १९२ किलोमिटर खण्डमिश्रित र ७१ किलोमिटर माटे सडक निर्माण गरिएको छ । यस्तै, नौ वटा पक्की पुल र तीन वटा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

सरकारले नीति तथा कार्यक्रम अनुसार सोलार मिनिग्रिडबाट ५५ किलोवाट विद्युत उत्पादन गरेको छ । जसको जडानको कार्य भइरहेको जनाइएको छ । यसैगरी, २२५ किलोवाट विद्युतका लागि अध्ययन सम्पन्न गरिएको छ ।यस्तै, ४१३ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । नदी नियन्त्रण कार्यबाट १९५ हेक्टर जमिन उकास भएको जनाइएको छ ।

सरकारले पहिरो विस्थापित परिवारका लागि १७ वटा घर निर्माण गरेको  छ । यसैगरी, जनताका आवास कार्यक्रम अन्तर्गत ३८२ घर बनेका छन् । लक्षित वर्गका लागि ५७ वटा घर निर्माणको क्रममा रहेको उल्लेख छ । 

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार १९३ विद्यालय भवन, १९ वटा छात्रावास भवन र ३४ वटा खेल मैदान निर्माण गरिएको छ । ३० विज्ञान प्रयोगशाला, २४५ सूचना प्रविधि प्रयोगशाला निर्माण हुनुका साथै नौ जनालाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको प्रदेश सरकारले जनाएको छ । 

मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपङ्क्षी विकास र बालीको चक्लाबन्दी कार्यक्रमबाट १८ हजार ५०० मेट्रिक टन आलु उत्पादन भएको जनाइएको छ । यस्तै, साना सिँचाइ कार्यक्रबाट पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा भइ हिउँदे बाली उत्पादनमा औसत १५ प्रतिशत वृद्धि भएको जनाइएको छ । कैलाली, कञ्चनपुरमा लगभग दुई हजार हेक्टर जमिनमा व्यावसायिक केरा खेती भइ प्रदेशमा कुल मागको ७० प्रतिशत केरा आपूर्ति भइरहेको उल्लेख छ । 

करिब दुई हजार ३०० मेट्रिक टन सिङ्गल सुपर फोस्फेट र एमोनियम सल्फेट मल अनुदानमा दिइएको जनाइएको छ । कृषि कर्जा व्याज, विद्युत र भन्सार महसुलमा अनुदान कार्यक्रममार्फत हालसम्म १४५ जना लाभान्वित भएको जनकाइएको छ । बाली तथा पशुपङ्क्षी बीमा प्रिमियम अनुदान कार्यक्रमबाट दुई सय समूह, फर्म, उद्यमीहरु लाभान्वित भएको उल्लेख गरिएको छ । 

यसैगरी, खाद्यबालीको बीउको स्रोत केन्द्र ४२ वटा स्थानीय तहमा स्थापना भइ धान र गहुँको बीउमा प्रदेश आत्मनिर्भर हुनुका साथै रैथाने बीउको संरक्षणका लागि चार वटा बीउ बैङ्क सञ्चालनमा रहेको उल्लेख गरिएको छ ।

मध्य पहाडका १२ वटा खेतीयोग्य फाँटमा सघन रुपमा खाद्यान्न बाली उत्पादन भइ कुल १५ हजार मेट्रिक टन खाद्यान्न उत्पादन वृद्धि भएको जनाइएको छ । कैलालीको टीकापुरमा भैंसीको आनुवाङ्शिक स्रोत केन्द्र स्थापना कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । 

यस्तै, विभिन्न जिल्लामा ३३८ स्थानमा धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पर्यटकीय पूर्वाधार तथा ६० वटा पदमार्ग, २७ वटा पर्यटकीय पार्क निर्माण गरिएको छ । विभिन्न २३ स्थानमा रिचार्ज पोखरी निर्माण, ४४ स्थानमा पानीको मुहान संरक्षण, ११६ स्थानमा पहिरो नियन्त्रण र १४९ जोखिमयुक्त स्थानमा नदी नियन्त्रण तथा तटबन्ध निर्माण गरिएको उल्लेख छ ।

पर्यापर्यटन प्रवद्र्धनका लागि घोडाघोडी क्षेत्रलाई पन्छी अभयारण्य क्षेत्र घोषणा गर्नुका साथै घोडाघोडी ताल क्षेत्र नजिकै पर्यटकीय पार्क निर्माणको कार्य भइरहेको जनाइएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार २५ वटा सिमसारको व्यवस्थापन पनि गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा स्वास्थ्य नीति तर्जुमा गरेको छ । सेती, महाकाली र टीकापुर अस्पतालका लागि ३५ आइसीयु शैया थप गरिनुका साथै १८ वटा डायलासिस मेसिन खरिद गरी सो सेवा सञ्चालनको क्रममा रहेको जनाइएको छ ।