योजना छनोट प्रक्रियामा सहभागी नगराएको भन्दै वडा कार्यालय घेराउ
2022/06/20, 1:00
 
ss

योजना छनोट प्रक्रियामा सहभागी नगराएको भन्दै धनगढी उपमहानगरपालिका–८ श्री गणेश टोलवासीले आज वडा कार्यालय घेराउ गरेका छन् । 
आगामी आर्थिक वर्ष २०७९÷८० का लागि योजना छनोट गर्दा ८ नम्बर वडा कार्यालयले चुपगुपमा योजना छनोट गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन ।

टोल भेला नगरेको वडा कार्यालयले योजना छनोट गर्दा टोल विकास समितिलाई पनि जानकारी नगराएको उनीहरुको आरोप छ । वडा कार्यालयले वडा भेलामासमेत टोललाई जानकारी नगराइ चुपगुपमा योजना छनोट गरेको गणेश टोल विकास समितिका अध्यक्ष कमला ओली बुढाथोकीले आरोप लगाइन । ‘हाम्रो टोलमा सडक, खानेपानी, विद्युत पोल लगायत आवश्यक छ । तर, योजना छनोट गर्दा हामीलाई कुनै जानकारी गराइएन’, उनले भनिन् । ‘यसप्रति खेद प्रकट गर्न चाहन्छौं ।’ उनले टोलमा डेढ सय मिटर कालोपत्रे सडक तीन वर्षदेखि अधुरै रहेको सुनाइन् । 

वडा कार्यालयले योजना छनोटको बेला जानकारी दिन नसक्नू भूल भएको स्वीकार गरेको छ । आगामी आर्थिक वर्षका लागि योजनाहरु धनगढी उपमहानगरपालिकाको कार्यालयमा अहिलेसम्म नपठाएको उल्लेख गर्दै वडा अध्यक्ष जुगराम चौधरीले श्रीगणेश टोलको मागहरुलाई सम्बोधन हुने गरी योजना समेटेर पठाउने बताए । उनले यसवर्ष पुराना योजनाको काम सम्पन्न गरेरमात्रै नयाँ योजनामा हात हाल्न धनगढी उपमहानगरपालिकाले निर्देशन दिएको बताए ।