कैलालीलाई साक्षर जिल्ला घोषणा
2022/07/13, 7:57
 
ss

कैलालीलाई साक्षर जिल्ला घोषणा गरिएको छ । यहाँका १३ वटै स्थानीय तह साक्षर घोषणा गरिएपछि जिल्लालाई बुधबार साक्षर घोषणा गरिएको हो।

शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले १५ देखि ६० वर्ष उमेर समूहमा साक्षरता दर ९५ प्रतिशतभन्दा माथि रहेकाले जिल्लालाई साक्षर घोषणा गरिएको बताए 

२०६७ देखि २०७१ सालसम्म कैलालीमा साक्षरता अभियान सञ्चालन गरिएको थियो  अहिले स्थानीय तहहले घरधुरी सर्भेक्षण गरेपछि साक्षर घोषणा गरेका हुन्। २०६७ सालमा गरिएको सर्भेक्षणमा एक लाख ५६ हजार निरक्षर रहेकोमा २०७१ सम्म सञ्चालन भएका साक्षरता अभियानहरुमा करिब एक लाख ६१ हजार जनालाई साक्षर बनाइएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।

इकाइ प्रमुख सुवेदीले कैलालीलाई अब पूर्ण साक्षर घोषणा गर्ने चुनौती रहेको बताए। लक्षित उमेर समूहका सबैलाई साक्षर बनाएपछि मात्रै पूर्ण साक्षर घोषणा गर्न सकिने मापदण्ड छ। पूर्ण साक्षर घोषणाका लागि प्रयास गरिने सुवेदीले बताए । साक्षरता अभियान जिल्ला समन्वय समितिको बैठकले यसअघि जिल्लालाई साक्षर घोषणा गर्ने निर्णय गरेको थियो । स्थानीय तहहले सर्भेक्षण गरेर साक्षर घोषणा गरेपछि समितिले जिल्लालाई समेत साक्षर घोषणा गर्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका अधिकृत प्रतापसिंह धामीले जानकारी दिए 

कैलालीलाई साक्षर जिल्ला घोषणा गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले देशको विकासका लागि शिक्षामा जोड दिनुपर्ने बताए । प्रदेश सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । ‘शिक्षाको विकासले मात्र समाज र देश समृद्ध बन्न सक्छ ।’ उनले भने, ‘त्यसैले सुदूरपश्चिम सरकारले शैक्षिक विकासलाई आफ्नो प्राथमिकतामा राखेको छ ।’