भदौ १५ भित्रै कक्षा १२ को नतिजा
प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिकमा ३५ प्रतिशत अङ्क नल्याए फेल
2022/08/21, 6:10
 
राष्ट्रिय-परीक्षा-बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ भित्रै प्रकाशित गर्ने भएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षामा ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । अहिले उत्तर पुस्तिका परीक्षणको काम सकिएर नतिजा कम्प्युटरमा इन्ट्री गराउने काम भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । केही दिनमा प्राप्ताङ्क चढाउने काम सकिएपछि नतिजा प्रकाशित गरिने शर्माले बताए । 

यो पटक ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार नतिजा प्रकाशित गरिने परीक्षा नियन्त्रक शर्माले बताए । उक्त निर्देशिका अनुसार यस पालिको नतिजामा नन–ग्रेडिङ लागू हुनेछ । विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफत प्राप्त गरे पनि नन–ग्रेडिङ समेत लागू हुनेछ । त्यस्तो भएमा विद्यार्थीले पुनः परीक्षा दिनुपर्नेछ । 

परीक्षा नियन्त्रक शर्माका अनुसार प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा कम अङ्क आएमा पुनः परीक्षा दिनुपर्नेछ । यसअघि माध्यमिक परीक्षा (एसईई) मा पनि यही नन– ग्रेडिङ लागू गर्ने भनिएको थियो । तर, अन्तिममा आएर रोकिएको थियो । 

के हो नन–ग्रेडिङ ? 

तोकिएको परीक्षामा निश्चित प्रतिशत अङ्क ल्याउँदा ग्रेड वर्गीकरण गरेर नतिजा दिइने प्रणाली लेटर ग्रेडिङ हो । यसमा उक्त प्रतिशतलाई ए प्लस, ए, बी, सी, डी, ई जस्ता ग्रेडमा वर्गीकरण गरिन्छ ।  

त्यसका लागि कुनै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउन पाइँदैन । कुनै विषयको सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत भन्दा कम अङ्क ल्याएको खण्डमा त्यो विद्यार्थी फेल भएको मानिने । 

३५ र ४० प्रतिशतभन्दा कम अङ्क आएमा त्यसलाई ग्रेड नदिइने र नन–ग्रेडिङ हुने शर्माको भनाई छ । नन–ग्रेडिङ पाएका विद्यार्थीले पुनः बोर्ड परीक्षा दिनुपर्ने शर्माले बताए । 

यसअघि कक्षा १२ को परीक्षामा कट–अफ प्वाइन्ट थिएन । तर, यसपालिदेखि नयाँ पाठ्यक्रम लागू भएको र त्यसै बमोजिम ग्रेडिङ प्रणाली समेत फेरबदल भएको उनको भनाई छ ।  

डी भन्दा कम ग्रेड ल्याउने विद्यार्थीलाई ‘एनजी’ अर्थात अवर्गीकृत (नट ग्रेडेड) भनिनेछ । त्यस्ता विद्यार्थीले शैक्षिक प्रमाणपत्र नपाउने र पुन परीक्षा दिनुपर्ने उनको भनाई छ । 

दुई विषयसम्म एनजी आएमा ग्रेड वृद्धिका लागि मौका परीक्षा दिनुपर्नेछ । त्यसका लागि परीक्षाफल आएको डेढ महिनापछि मौका परीक्षा दिनुपर्ने नियन्त्रक शर्माले बताए ।  

एनजी भनेको विद्यार्थीले सिधा अर्थमा फेल भएको बुझ्नुपर्ने उनको भनाई छ । एनजी दिँदा पुनः एनजी नै आयो भने अर्को वर्ष पुरै विषयको परीक्षा दिनुपर्ने उनको भनाई छ ।   

यसअघि एनजीको ठाउँमा ई ग्रेड भनिन्थ्यो । तर, त्यो बेला फेल भएको मानिँदैन थियो । 

शिक्षा मन्त्रालयले विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को मार्ग निर्देशन बमोजिम लेटर ग्रेडिङ लागू गरिएको जनाएको छ । 

लेटर ग्रेडिङ लागू गर्नुको उद्देश्य विद्यार्थीको सिकाइ सक्षमतालाई यथारूपमा प्रमाणीकरण गर्ने, सिकाई उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई आठओटा अक्षरगत स्तरमा सूचित गर्ने रहेको छ । 

शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्धन गर्ने र एकल विषय प्रमाणीकरणका माध्यमबाट विद्यार्थीको बहु बौद्धिकताका आधारमा सिकाइका अवसर प्रदान गर्ने अर्को उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।