सेती अस्पताललाई केन्द्रीय अस्पताल बनाउन सुदूरपश्चिम प्रदेश सरकारको प्रस्ताव 
2022/08/25, 1:42
 
ss

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई केन्द्रीय अस्पताल बनाउने प्रक्रिया अगाडि बढाउन केन्द्रीय सरकारलाई प्रस्ताव गरेको छ । २ सय शैय्या रहेको सो अस्पताललाई तीन सय शैय्यामा स्तरोन्नती गर्न प्रदेश सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई पत्राचार गरेको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ३ सय शैय्यामा स्तरोन्नती गरी केन्द्रीय अस्पताल बनाउने प्रक्रिया अगाडि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रदेशको प्रादेशिक रिफरल अस्पतालसमेत रहेको सो अस्पताललाई केन्द्रीय अस्पताल बनाइए सो प्रदेशमा तीन वटा केन्द्रिय अस्पताल रहनेछन् ।

हाल डडेलधुरा अस्पताल र प्रस्तावित गेटा मेडिकल कलेज अस्पताललाई केन्द्रीय अस्पताल मातहतमा नै राखिएको छ । सो अस्पताललाई तीन सय शैय्यामा स्तरोन्नती गर्ने प्रक्रिया अगाडि बढाउने विषयमा मन्त्रालयमा छलफल भइरहेको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए । ‘तीन सय शैय्या स्तरोन्नती गर्ने प्रस्ताव आएको छ,’ उनले भने ‘छलफलकै चरणमा छ, निर्णय भइसकेको छैन ।’