कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण
2020/06/25, 10:20
 
korona

​​​​​भारतको बेङ्लोरबाट फर्किएका दार्चुलाको मार्मा गाउँपालिका–३ का एक युवकको अघिल्लो साता मृत्युभयो । उनको मानसिक अवस्था कमजोर थियो । उपचारको आवश्यकता थियो । गौरिफण्टा नाकाबाट भित्रिएका उनलाई स्थानीय लटिनाथ माविको व्वारेन्टीनमा राखियो । जहाँ उनको दोस्रोदिन नै मृत्यु भयो । मृत्युको कारण कोरोना थिएन् । अन्य रोग थियो । भारतबाट फर्किएको चारदिन नबित्दै बैतडीको पुर्चौडी नगरपालिका–४को भटनामा रहेको मालिका माध्यामिक विद्यालयको क्वारेन्टीनमा एक २२ वर्षिया युवतीले ज्यान गुमाईन् । जेठ १६ गते गौरिफण्टा नाका भएर फर्किएकी उनको जेठ २० गते मृत्यु भएको थियो । भारतबाट फर्किएकाले कोरोना आशंका गर्दै मृत्युपछि ‘थ्रोट स्वाब’ नमूना संकलन गरी धनगढीमा परीक्षण गरियो । नतिजा पिसिआरले ‘नेगेटिभ’ देखायो ।

उनी लामोसमयदेखी मुटुरोगी थिईन् । सोही समस्याको उपचार गर्न भारत पुगेर फर्केकी थिईन् । सो कुरा पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद कुँवरले पुष्टि गरे । ‘शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा समेत उपचार गराईसकेकी रहीछन्,’ परिवार स्रोतलाई जनाउदै उनले भने,‘औषधी उपचारकै भारत गएर फर्केको अवस्थामा क्वारेन्टीनमा थिईन् । नियमित औषधी सेवन गर्दै आएकी थिईन् ।’ त्यसपछि लकडाउनका कारण औषधी सकिएको १४-१५ दिन भईसकेको थियो । ‘नेपालमै पाईहाल्ला भनेर आएका रहेछन्। तर यहाँ त्यो औषधी मिलेन,’ उनले अगाडी थप्दै भने । उनको मृत्युको कारण कोरोनाको औषधि नपाउनु बन्यो । डडेल्धुरामा जेठ १८ गते क्वारेन्टीनमै बसेका एक बालकको ज्यान गयो । भारतबाट फर्किएर नवदुर्गा गाउँपालिकाको क्वारेन्टीनमा बसेका ६ वर्षीय बालकको मृत्यु भयो । उनको पिसिआर नतिजा पनि ‘नेगेटिभ’ नै आएको थियो । पछि ती बालकमा कालाजार रहेको पुष्टि भयो । कालाजारको औषधि सेवन गर्न नपाएकै कारण उनको मृत्यु भएकोहुनसक्ने सरोकारवाला स्विकार्छन् ।

स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ती हरिप्रसाद भट्टले ती बालकको मृत्युको कारण कालाजार हुनसक्ने बताए । उनले भने,‘ती बालकले समयमै उपचार पाएको भए बचाउन सकिने अवस्था हुन्थ्यो ।’डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–१ को असिग्राम आधारभुत विद्यालयको क्वारेन्टीनमा जेठ २१ गते ३० वर्षिया महिलाको मृत्यु भयो । उनमा पनि पिसिआर परीक्षण नतिजामा कोरोना पुष्टि हुन सकेन् । कोभिड–१९ सम्पर्क व्यक्ती भट्टका अनुसार उनमा कुनै किसिमको स्वास्थ्य समस्या भने थिएन । तर कोरोनाकै त्रासले महिलामा अन्य कुनै परीक्षण गरिएन् ।

मुटु रोगले ग्रसीत डोटीको केआईसिह गाउँपालिका–३ का १९ वर्षिय युवकको क्वारेन्टीनमै ज्यान गयो । उनी भारतबाट फर्किएर स्थानीय सिताराम आधारभूत विद्यालयको क्वारेन्टीनमा थिए । उनमा झण्डै १३ वर्षदेखि मुटु सम्बन्धी रोगको समस्या भएको परिवार स्रोतले जनाएको छ । मृत्युपछि गरिएको परिक्षणमा उनमा कोरोनाको संक्रमण देखिएन् । यसरी सुदूरपश्चिम प्रदेशमा क्वारेन्टीनमै रहदा मृत्यु भएका पाँचजनाको मृत्युको कारण कोरोना नभएर अरु नै कुनै रहेको देखिन्छ । उनीहरुले कोरोनाकै डरले समयमा उपचार पाएनन् । जसले मृत्युवरण गर्नुप–यो ।

कोरोना त्रासले अन्य गम्भीर प्रकृतिका रोगबाट ग्रसित बिरामीले समयमै उपचार नपाएर मृत्युवरण गर्नुपर्ने स्थिति सिर्जना भएको चिकित्सकहरु बताउँछन् । सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. निराजनदत्त शर्मा क्वारेन्टीनमा राख्दा विशेष सावधानी अपनाउनुपर्ने बताउँछन । ‘पूर्व रोग भएका बिरामीलाई परीक्षण बिना क्वारेन्टीनमा बस्दा खानपान, रहनसहन, मानसिक तनाव लगायतका कारण रोग बढ्न सक्ने सम्भावना प्रबल हुन्छ,’ उनले भने,‘पूर्व रोग भए÷नभएका सबैको हकमा क्वारेन्टिनमा राख्दा कलेजो, छाती, मुटु, फोक्सो, मृगौला सम्बन्धी जाँच गर्नु पनि अतिआवश्यक हुन्छ ।’ त्यसो गर्न सकिए धेरै हदसम्म जोखिम न्युनिकरण गर्न सकिने उनले बताए । ‘क्वारेन्टीनमा बस्दा हेपाटाईसि बी, एचआईभी लगायतका सरुवा रोगको समेत परीक्षण गर्न सकेमा लुकिरहेको रोग पत्ता लगाउन पनि सकिन्छ । एवंम् पूर्व रोगीहरुको हकमा पनि सावधानी अपनाउन सकिन्छ,’ उनले अगाडी भने ।

(फ्रिडम फोरम को सहकार्यमा ।)