धनगढीका मेयरको स्वार्थ केन्द्रित निर्णय: भाइको लाभका लागि दुई वडामा मात्रै कित्ताकाट फुकुवा
2022/08/30, 2:11
 
ss

 

धनगढी– धनगढी उपमहानगरपालिकाले ३१ असारमा उपमहानगरपालिकाका दुई वटा वडालाई आवासीय क्षेत्रभन्दै जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गर्‍यो। त्यही दिन मालपोत कार्यालयमा उपमहानगरपालिकाले वडा नम्बर १ र ४ को जग्गा कित्ताकाट गरिएको भन्दै पत्र पठायो।

उपमहानगरपालिकाले गरेको उक्त निर्णय नगर प्रमुख गोपाल हमालको व्यक्तिगत स्वार्थमा केन्द्रित रहेको पाइएको छ। उपमहानगरपालिकाले जग्गा कित्ताकाट फुकुवा गरेकै दिन नगर प्रमुख गोपालका भाइ श्याम हमालले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित जग्गा कित्ताकाट गराएको पाइएको छ।

Dhangadi (2)1661832629.jpg

श्यामले ११९ नम्बरको कित्ताकाट गरी दिनेश ट्रेडिंग हाउसको नाममा सोही दिन पास गरेका छन्। जग्गा कित्ताकाटका लागि ३१ गते उनको बाहेक अन्य कुनै व्यक्तिले दर्ता गराएका छैनन्। उद्योग घाटामा गएको देखिने भएपछि श्यामले आफ्नो जग्गालाई उद्योगको नाममा कित्ताकाट गरी बैंकको ऋण पुँजी बृद्धि गरेका छन्।

व्यापक छलफल गरी ल्याउने भन्दै अन्य वडाको फिर्ता
यही १ भदौमा धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्यो। बैठकमा धनगढीका कित्ताकाट फुकुवा नभएका अन्य वडाहरुले फुकुवाका लागि प्रस्ताव पेश गरे। तर, उक्त प्रस्तावलाई कार्यपालिका बैठकले विभिन्न कारण देखाउँदै कित्ताकाट फुकुवा गरेन।

Dhangadi (1)1661832609.jpg

कार्यपालिका बैठकको निर्णय नम्बर १३ मा भनिएको छ, ‘भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ मा भएको व्यवस्थाअनुसार जग्गा वर्गीकरणका लागि वडा नं. २, ३, ५, ६, ७, १०, ११ र १४ बाट सिफारिस भइ आएकाले त्यस माथि छलफल गर्दा अझै वडा कार्यालयले व्यापक छलफल गरी दीर्घकालीन असर नपर्ने गरी कृषि क्षेत्र र गैर कृषि क्षेत्र तोक्न अर्को बैठकमा पेश गर्ने निर्णय गरियो।’

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले नियमसँग कित्ताकाट फुकुवा प्रक्रिया अघि बढाउदा कार्यपालिकाको बैठकले पास नगरेको उनले बताए। उनले भने –‘अन्य वडाले के ग¥यो त्यो मलाई थाहा छैन । तर, मैले यस वडाका बुद्धिजिवी, निवर्तमान वडा अध्यक्ष, जनप्रतिनिधी, राजनीतिक दल, सरोकारवालाहरु सबै पक्षसँग छलफल गरी आवासीय क्षेत्रबारे सुझाव लिइ कार्यपालिका बैठकमा पेश गरेको थिए । तर, बैठकले निर्णय पास नगर्दा वडाबासीले समस्या झेल्नुपरेको छ।’ 

उनले वडा नम्बर १ र ४ को कित्ताकाट फुकुवा गर्ने दिनको बैठकमा आफु पनि सहभागि रहेको बताउँदै ‘वडा नम्बर २ को पनि सोही दिन फुकुवा गराउने भनिरहेका थिए तर, मैले वडाका सरोकारवालाहरुसँग छलफल गरेर उनीहरुको सुझावका आधारमा अघि बढ्ने भनेर फिर्ता भएको थिएँ ।’

आवासीय क्षेत्र घोषणा

धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ र ४ को कृषि तथा गैर कृषि क्षेत्र पहिचान नगरी आवासीय क्षेत्र घोषणा गरेको थियो। २०६८ को जनगणना अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा मुख्य सडकको दक्षिण क्षेत्रलाई कृषि क्षेत्र देखाइएको छ भने वडा नम्बर ४ का बसपार्क क्षेत्रदेखि केहीमा बस्ती र अन्य क्षेत्रमा कृषि र वन क्षेत्र देखाइएको छ । 

संघीय भूमि व्यवस्था मन्त्रालयले २४ जेठमा कृषि योग्य भूमि र आवासीय क्षेत्रको जग्गाको कित्ताकाट गर्न रोक लगाएको थियो। संघीय भूमि व्यवस्था मन्त्रालयले तराई र भित्री मधेसमा एक रोपनी पाँच आना ३.६ दाम (६७५ वर्गमिटर) र उल्लेखित क्षेत्रबाहेकका भूभागमा एक रोपनी १५ आना एक पैसा तीन दाम (एक हजार वर्गमिटर) क्षेत्रफलभन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको छ।

धनगढी–१ का वडा अध्यक्ष सन्तोष मुड्भरीले आफ्नो वडामा आवासीय क्षेत्रमात्रै रहेको बताए। ‘वडामा अहिले पनि कृषि व्यवसाय भइरहेको छ’, मुड्भरीले भने, ‘तर ती क्षेत्र भविष्यमा आवासीय क्षेत्रनै हुने देखिएका कारण अहिले कित्ताकाट खुलाइएको हो।’ धनगढी–४ का वडा अध्यक्ष बुद्धि खड्काले पनि आफ्नो वडामा खेतियोग्य जमिन नरहेको बताए। केही क्षेत्रमा कृषि योग्य जमिन भएपनि ती क्षेत्र भविश्यमा आवासीय क्षेत्र हुने र सबै क्षेत्र सडक सञ्जालसँग जोडिएका कारण कित्ताकाट गर्न मिल्ने गरी निर्णय गरिएको उनले बताए।

लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट वडा तहबाट खुलाउने विषय उपयुक्त नभएको स्थानीयहरु बताउँछन्। ‘जग्गा कित्ताकाट खुलाउने हो भने सबै वडाहरुमा एकै पटक खुलाउनुपर्ने थियो’ एक स्थानीयले नाम नबताउने सर्तमा भने, ‘आफ्नो दुनो सोझ्याउन र आफ्ना आफन्तलाई पोसाउने काम भयो। अन्य वडाका सर्वसाधारण जनताले जग्गा खरिद बिक्री गर्न नपाउने हो ?’  ‘सेवाग्राही भनेका १९ वटै वडाका हुन्। वडा नम्बर १ र ४ का मात्रै सेवाग्राही हुन र?' उनले प्रश्न गरे । उनले आफ्नो काम गराइ सकेपछि फेरि कित्ताकाट बन्द गराउन सक्ने शंका व्यक्त गरे।  शेरवहादुर ऐरले यो खबर नेपाल लाईभमा लेखेका छन् ।