धनगढीका मेयर भन्छन्- प्राथमिकताका आधारमा काम थालेका छौं, क्रमशः पूरा हुन्छन्
मेयर गोपाल हमाल निर्वाचित भएको एक सय दिन
2022/08/30, 2:15
 
dd

धनगढी- सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीका मेयर गोपाल हमाल निर्वाचित भएको मंगलबार आज  एक सय दिन पुगेको छ ।  स्वतन्त्र उम्मेदवारी दिएर वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका नृपबहादुर वडलाई झण्डै दोब्बर मतले पराजित गर्दै मेयरमा विजयी भएका हमालले ९ जेठमा पदभार ग्रहण गरेका थिए ।

हमालले आफ्नो एक सय दिनको कार्यकाललाई उपलब्धिपूर्ण मानेका छन् । ‘हामी वार्षिक नीति तथा बजेटमा प्राथमिकता तोकेका योजना कार्यान्वयन गर्न इमानदारिता पूर्वक लागिरहेका छौं नगरवासीका अपेक्षा उच्च होलान तर सबै कुरा अहिले नै पूरा गर्न सकिंदैन । क्रमबद्ध रुपमा क्रमशः पूरा गर्दै जानेछौं, ‘ हमालले भने ।

उनले एक सय दिनको अवधिमा स्वास्थ्य सेवा, नगर क्षेत्रको अतिक्रमण हटाउने, फोहोरमैला व्यवस्थापन र पर्यावरण संरक्षणको क्षेत्रमा महत्वपूर्ण कामको सुरुआत गरेको बताएका छन् । ‘हामीले सञ्चालन गरेको वडा स्वास्थ्य क्लिनिकबाट ग्रामीण क्षेत्रमा कुखुरा बेचेर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । वडा स्वास्थ्य क्लिनिकमा परीक्षणका सेवाहरु क्रमशः वृद्धि गर्दै लगेकाले नगरवासी थप लाभान्वित हुने विश्वास लिएका छौं,’ उनले भने ।

उपमहानगरपालिकाले गत साउन १ गतेदेखि धनगढीमा वडा स्वास्थ्य क्लिनिक सेवा सुरु गरेको छ । सेवा अन्तरगत १९ वटै वडामा प्रत्येक महिनाको एक दिन स्त्री रोग विशेषज्ञ र फिजिसियन डाक्टरले उपचार सेवा प्रदान गर्दै आएका छन् ।  विशेषज्ञ डाक्टरको तलब भत्ता भाटभटेनी सुपर मार्केटले व्यहोर्ने सम्झौता गरिएको छ । यो महिनादेखि वडा क्लिनिकबाट आँखा र दन्त परीक्षण सेवा समेत सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाले जनाएको छ ।

परीक्षणका क्रममा यी बाहेकका अन्य विभिन्न खालका रोगबाट ग्रस्त बिरामीहरू समेत भेटिएकाले उनीहरूलाई लक्षित गरेर धनगढीका निजी अस्पतालहरुसँगको समन्वयमा प्रत्येक दुईरदुई महिनामा स्वास्थ्य शिविर गर्ने सम्झौता समेत उपमहानगरपालिकाले गरेको छ ।  मेयर हमालले नगर क्षेत्रमा गरिएको अतिक्रमण हटाउने कामको थालनी गरिएको कार्यलाई समेत महत्वपूर्ण उपलब्धि मान्दै त्यसलाई निरन्तरता दिने बताएका छन् । सुकुटी नाला अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाएको उपमहानगरपालिकाले अन्य अतिक्रमित क्षेत्रको समेत पहिचान गरेर हटाउने उनी बताउँछन् ।

अतिक्रमण हटाउने अभियानका लागि उपमहानगरपालिकाले नयाँ जेसीबी खरिद गर्न टेन्डर पनि गरिसकेको छ । चुनौतीका रुपमा देखिएको फोहोरमैला व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै उनले कुहिने र नकुहिने फोहोरलाई स्रोतमा विभाजन गर्नेगरी कार्यक्रम ल्याइएको जनाए ।  ‘अहिलेसम्म फोहोर सार्ने काम मात्र भएको थियो । अब हामीले फोहोरमैला व्यवस्थापन गर्नलाई कार्यक्रम अघि सारेका छौं,’ हमालले भने, ‘गल्ने र नगल्ने फोहोरलाई स्रोतमा विभाजन गरेर घरबाटै संकलन गर्ने, त्यसका लागि दुई वटा गाडी खरिद गर्न टेन्डर भइसकेको छ ।’

नगर क्षेत्रमा वृक्षारोपण कार्यक्रम सञ्चालन, २० लाख सम्मको कोटेशनमा समेत अनिवार्य सार्वजनिक सूचना जारी गर्दै प्रतिस्पर्धाका आधारमा काम गर्ने नीति अवलम्बन गरेको कुरालाई समेत हमालले उपलब्धिका रुपमा लिएका छन् ।  उनले नगरको पञ्च वर्षीय गुरु योजना बनाउन टेन्डर आहृवान गरिसकेको बताउँदै अब योजनाबद्ध रुपले प्राथमिकताका आधारमा काम हुने उल्लेख गरे । वार्षिक बजेट तथा योजना पारित गर्ने सवालमा देखिएको विवादको विषय भने अहिले साम्य भइसकेको बताउँदै हमालले बितिसकेका कुरा कोट्याएर बस्नु नहुने बताए ।

नगर प्रमुख हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बजेटमा एकलौटी गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको थियो । एमालेको विरोधकाबीच बजेट बहुमतले पारित गरिएको थियो ।