हात धुने बानीले सरुवा रोगका बिरामी घटे
2020/05/12, 3:07
 
hat dhune

कोरोना भाइरसको जोखिम हुन नदिन स्थानीय बासिन्दामा साबुन पानीले मिचीमिची हातधुने बानीको विकास भएपछि कञ्चनपुरका स्वास्थ्य चौकीमा सरुवा रोगका बिरामीको संख्यामा कमी आएको छ। झाडापखाला, स्वासप्रस्वास, मौसमी फ्लुका रूपमा रहेको भाइरल ज्वरो, रुघाखोकी र छाला तथा आँखा पाक्नेलगायतका रोगको सङ्क्रमणमा निकै कमी आएको पाइएको हो । गर्मीको मौसम शुरु भएसँगै स्वास्थ्यचौकीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामीको चाप बढ्दोरूपमा रहने गरेको थियो । स्वास्थ्यचौकीमा सेवा लिन आउने बिरामीमा सरुवा रोगका बिरामीको सङ्ख्या एक–दुई जनामात्रै रहने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । 


जारी बन्दाबन्दीका कारण वातावरणीय प्रदूषण कम हुँदा मानिसको ओहोरदोहोर हुने क्रम रोकिँदा र हात धुने बानीको विकासले सरुवा रोगको सङ्क्रमणमा कमी आएको लालझाडी गाउँपालिका स्थित देखतभूली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाले जानकारी दिए । गर्मीका महिना सुरु नहुँदै स्वास्थ्य चौकीमा भाइरल ज्वरोका बिरामीको चाप थेग्नै नसक्ने हुन्थ्यो उनले भने, “साबुनपानीले हात धुने बानीको विकासले भाइरल ज्वरो लगायत सरुवा रोगका बिरामीको सङ्ख्या निकै न्यून अवस्थामा रहेको छ।” उनका अनुसार हालसम्म मौसमी फ्लुका छ देखि १० जनाको हाराहारीमा स्वास्थ्यचौकीमा बिरामी पुगेका छन् । हात धुने बानीको विकासले झाडापखाला हुने बिरामी ७०, स्वासप्रस्वासका ५० प्रतिशत बढी बिरामी कम भएको उनको भनाइ छ ।


स्थानीय तहदेखि सामुदायिक वन र सङ्घ संस्थाले स्थानीय बासिन्दाको हात धुने बानीको विकास गर्नका लागि सचेतना फैलाउने कार्यसँगै निःशुल्क साबुन बाँडने काम समेत गरेका छन् । दैनिक मजदुरी गरेर परिवार पाल्ने परिवारलाई उपलब्ध गराएको राहत सामग्रीमा समेत साबुन अनिवार्य रूपमा स्थानीय तहले उपलब्ध गराएका छन् । शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्ट कोभिड–१९ को रोकथामका लागि स्थानीय बासिन्दालाई साबुन उपलब्ध गराउने कार्यसँगै हात धुने तरिका समेत सिकाइएको बताउँछन् । यसबाट स्थानीय बासिन्दा कारोना भाइरसको सङ्क्रमणसँगै अन्य सङ्क्रामक रोगबाट बच्न मद्दत पुगेको छ । राम्ररी हात धुँदा झाडापखालाका कारण बालबालिकामा देखिने कुपोषणको समस्यासमेत हटेर जान्छ उनले भने, “माटोबाट सर्ने जुकाहरुको समस्याबाट समेत छुटकारा पाउन सकिन्छ । बालबालिकाको मानसिक र शारीरिक विकासमा पुग्ने अवरोधसमेत हटेर जान्छ।”


औषधि खरिदमा स्थानीय तहले खर्च गर्नुपर्ने रकमसमेत जोगिएको छ । व्यक्ती र वस्तुलाई छुँदा समेत धेरै सङ्क्रामक रोगहरु सर्ने सम्भावना रहने हुन्छ ।  हाल कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै स्थानीय बासिन्दाले साबुन पानीले हात धुने कार्यसँगै स्यानेटाइजरको प्रयोग गर्न थालेपछि सङ्क्रमणजन्य रोगहरुको जोखिम हट्दै गएको कृष्णपुर नगरपालिक ास्थित स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी रतन विष्ट बताउँछन् । सङ्क्रामक रोग हातको सरसफाइमा हुने कमीले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने हुँदा नियमित रूपमा साबुनपानीले हात धुँदा मौसमी रुघाखोकी झाडापखाला, हैजा, टाइफाइड, जुका, चुर्ना, छाला, निमोनिया र आँखा सम्बन्धी रोगबाट बच्न सकिने उनले बताए ।


हात अनुहार, आँखा, मुख तथा नाकमा छुँदा रोगको सङ्क्रमण हुने सम्भावना अधिक रहने हुँदा छुनबाट बच्नुपर्ने उनको सुझाव छ । बालबालिकामा अधिक रूपमा देखिने निमोनियाको सङ्क्रमण समेत हाल निकै कम मात्रै देखिन  थालेको स्वास्थ्यकर्मीले बताएका छन् । बढदै गएको हात धुने बानीको विकास र व्यक्तिगत सरसफाइमा ध्यान दिइनुका साथै हाइजिनयुक्त खानेकुराको बढ्दो प्रयोगले सङ्क्रामक रोगको सङ्क्रमण दरमा कमी आएको पाइएको छ । दिशा गरेपछि, बच्चाको दिशा धोएपछि, खाना खानुअघि र बनाउनभन्दा पहिला, हाछ्युँ वा खोकी गरेपछि कुनै सामान, सार्वजनिक स्थानको सतह छोएपछि, फोहर वा माटो चलाएपछि हात साबुनपानीले धुनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । रासस