स्वास्थ्य कार्यालय कैलालीद्धारा डेंगु रोग सम्बन्धी पत्रकारसंग अन्तक्रिया: नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक
2022/09/11, 10:58
 
स्वास्थ्य कार्यालय कैलालीद्धारा डेंगु रोग सम्बन्धी पत्रकारसंग अन्तक्रिया: नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक

धनगढी - स्वास्थ्य कार्यालय कैलालीले डेंगु रोग सम्बन्धी पत्रकारसंग अन्तक्रिया गरेको छ । आज धनगढीमा डेंगु रोग सम्बन्धी जानकारी प्रदान गर्दै सो बाट बच्न र सावधानी अपनाउन  सबैको सहकार्य आवश्यक रहेको जनाइएको हो। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले कैलालीमा डेंगु रोगको उच्च जोखिममा देखिएकाले रोकथाम तथा नियन्त्रणका बिषयमा सम्बद्ध सरोकारवाला निकाय गम्भीर भएर लाग्नु पर्नेमा जोड दिएका छन् ।

No description available.

उनले डेंगु रोगबाट जोगिन सरसफाइ र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिए ।उनले डेंगुको प्रकोप नियन्त्रणमा स्थानीय सरकारले पहल गर्नुपर्ने बताए । उनले डेंगीको जोखिम कम गर्न लामखुट्टेलाई नष्ट गर्नुपर्ने बताए । कैलालीमा अहिलेसम्म साउन यता ७१ जनामा डेंगीको संक्रमण देखिएको छ ।
पहिलो पटकको डेंगीभन्दा दोस्रो पटकको डेंगीले मानिसलाई जोखिम अबस्थामा पु¥याउने उनले बताए । यस्तै डेंगी रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसहरुलाई सचेतना जगाउन अभियान सुरु गरिएको कार्यालय प्रमुख धामीको भनाई रहेको छ ।चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको हुनसक्ने जनाइएको छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ ।टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने गरेको छ । यस्तै ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्ने जनाइएको छ ।स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले विभिन्न पालिकाहरुले लामखुट्टे खोज र नष्ट गर अभियान समेत सञ्चालन गरेको बताए । खोज र नष्ट गर अभियानलाई प्रभाबकारी बनाउन सबै निकायको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे । पानी जम्मा हुने फुलका गमला, टायर, कुलरहरु बारम्बार सफा गरेमा मात्र लामखुट्टेले लार्भा पार्न नसक्ने भएकाले सबैले आफ्नो घरमा पानी जम्मा हुने स्थानलाई सफा गर्न उनले आग्रह गरेका छन् । यस्तै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले डेंगु रोग नियन्त्रणमा पकारहरुले पनि आफ्नो सञ्चार माध्याम मार्फत कलम चलाउने प्रतिबद्धता गरेका छन् ।