धनगढी- धनगढीमा प्रथम सुदूरपश्चिम किशोरी सम्मेलन सम्पन्न भएको छ। सोमबार सकिएको सम्मेलनले १५ बुँदे धनगढी घोषणापत्र जारी गरेको छ।
सामाजिक विकास मन्त्रालयको आयोजना, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष र फाया नेपालको सहयोग तथा सहकार्यमा भदौ २६ र २७ गते सञ्चालित दुई दिने सुदूरपश्चिम प्रदेशस्तरीय किशोरी सम्मेलनमा प्रदेशका सबै जिल्लाबाट किशोरीहरूको प्रतिनिधित्व गरेका थिए।
सम्मेलनले निम्न घोषणापत्र जारी गरेका छ।
१ हामी किशोरीहरुको समग्र विकासको लागि किशोरी विकास रणनीतिक योजना बनाई प्रदेश तथा स्थानीय स्तरमा कार्यान्यन गरियोस भन्ने प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरोकार निकायहरुलाई आव्हान गर्दछौँ।
२ प्रदेशभरि किशोरीमैत्री वातावरण निर्माण गरी कम्तिमा सबै किशोरीहरुले विद्यालय स्तरीय शिक्षा पूरा गर्ने अवस्था सिर्जना होस् भन्ने माग गर्दछौँ।
३ प्रदेशमा उच्च रुपमा विद्यमान रहेका हानिकारक आभ्यासहरु जस्तै बालविवाह, छाउपडीको निवारणका लागि एकीकृत प्रयास मार्फत संवोधन गरियोस भन्ने अनुरोध गर्दछौँ।
४ प्रदेशमा अवस्थित सम्पूर्ण स्वास्थ्य संस्थाहरु किशोरकिशोरी मैत्री बनाई उनीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवाप्रदानको लागि माग गर्दछौँ।
५ किशोरीहरुमा हुने भौतिक, मनोवैज्ञानिक, यौनिक र आर्थिक हिंसाहरुको रणनीतिक रुपले सम्बोधन गरि महिला तथा किशोरी हिंसा मुक्त प्रदेशको लागि आह्वान गर्दछौँ।
६ समुदायमा व्याप्त विभिन्न लैंगिक हिंसा र हानिकारक अभ्यासहरू अन्त्य गर्नका लागि किशोरीहरुलाई स्थानीय तथा प्रदेश संजालमा आवद्ध गरि उनीहरुको प्रभावकारी भूमिका र अर्थपूर्ण संग्लनता सहितका कार्यक्रम कार्यान्वयन होस् भन्ने चाहन्छौं।
७ आवधिक रुपमा प्रदेश स्तरीय किशोरी सम्मेलनलाई निरन्तरता दिई किशोरीहरुको सेवा तथा आवसरमा पँहुच वृद्धि गरी उनीहरुको अधिकार सुनिश्चित गरीयोस् भन्ने चाहन्छौँ।
८ किशोरी विकासका लागि प्रदेश तथा स्थानीय सरकारबीच सहकार्य र समन्वयको प्रवर्द्धन गरी एकीकृत प्रयास गर्न आह्वान गर्दछौँ।
९ कानुनी, धार्मिक, सामाजिक वा सांस्कृतिक विचार तथा व्यवहारमार्फत किशोरीहरुको मर्यादा र स्वतन्त्रता प्रबर्धन होस् भन्ने चाहन्छौँ।
१० किशोरीहरुलाई आफ्नो जीवन र अधिकार बारे महत्वपूर्ण सूचना तथा जानकारीहरुमा सहज पहुँच सुनिश्चित होस् र उनीहरुले सूचना तथा प्रविधिको निर्बाध एवम् समान उपयोग गर्न पाउन भन्ने चाहन्छौँ।
११ शिक्षा आर्जन गर्ने, विद्यालय शिक्षालाई निरन्तरता दिने, विवाह गर्ने र भबिस्य छनौट गर्ने लगायतका निर्णय प्रक्रिया साथै स्थानीय तहको योजना तर्जुमा, कार्यन्वयन र अनुगमन समेतमा किशोरीहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित होस भन्ने चाहन्छौँ।
१२ किशोर किशोरीहरूको सुरक्षा र गोपनीयता सुनिश्चित गर्न, किशोर किशोरी प्रतिको यौन दुर्व्यवहार, हिंसा र रोकथाम र मनोसामाजिक समस्याको व्यवस्थापन गर्न एवम् किशोरी प्रजनन स्वास्थ्य र बालविवाहको वरिपरिका समस्या र आवश्यकताहरूमा अभिभावक र समाजलाई लक्षित गर्दै जागरूकता बढाउने अभियान संचालन गरियोस भन्ने चाहन्छौँ।
१३ विद्यालय लगायतका सार्बजनिक स्थानहरुमा महिनावारी स्वच्छता व्यवस्थापनको उचित र पर्याप्त ब्यबस्थापन गरियोस भन्ने आह्वान गर्दछौँ।
१४ विवाह योग्य उमेर सम्बन्धि कानून, किशोरीहरु प्रति गरिने विभेद र द्व्र्यवहार रोक्ने कानुन एबम किशोरीहरूका लागि शिक्षा, सूचना र गुणस्तरीय सेवाहरू उपलब्ध गराउने नीतिहरुको सरकार, निजी क्षेत्र, नागरिक समाज तथा सहयोगी निकायहरुबाट सहकार्य सहित उचित र प्रभावकारी कार्यान्वयन होस भन्ने चाहन्छौँ।
१५ सबै तहका सरकारले बालविवाह र हानिकारक अभ्यासहरूको अन्त्यका लागि पर्याप्त नीति, योजना तथा कार्यक्रम र पर्याप्त बजेट व्यवस्था गरुन् तथा किशोरीहरुको जीवन र स्वास्थ्य रक्षा, हित र विकासका प्रतिवद्धता पूरा गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा सहयोगी निकायहरुले पर्याप्त स्रोत परिचालन गरुन भन्ने चाहन्छौं।