अब धनगढी उपमहानगरले चेकबाट कारोबार नगर्ने
2022/09/14, 6:17
 
ss

धनगढी- धनगढी उपमहानगरपालिका कार्यालयबाट हुने भुक्तानी, राजस्व दाखिलालगायतका काम अब अनलाइनबाटै हुने व्यवस्था गरिएको छ। यो सँगै उपमहानगरभित्र हुने विकास निर्माण, सार्वजनिक खरिद प्रक्रिया र उपभोक्ता समितिमार्फत हुने कामलगायतको भुक्तानी अब सहज हुनेछ। 

अब आर्थिक वर्ष सकिने बेला दिएका चेक दुई महिनासम्म नसाटिने अवस्था हुने छैन। काम सम्पन्न भएको प्रतिवेदनका आधारमा भुक्तानी आदेश दिएलगत्तै सम्बन्धितको खातामा पैसा पुग्ने उपमहानगरले जनाएको छ। भुक्तानी माग गर्नेको खातामा सरकारी पैसा पठाइने व्यवस्था उपममहानगरले गरेको हो।  

चालु आर्थिक वर्षदेखि चेकबाट हुने कारोबार बन्द गरेर विद्युतीय भुक्तानीको व्यवस्था गरिएको उपमहानगरपालिकाकी आर्थिक प्रशासन शाखाप्रमुख सरस्वती जोशीले बताइन्। ‘महालेखा परिक्षकको कार्यालयले अनिवार्य विद्युतीय भुक्तानीको व्यवस्था गर्नु भन्ने आदेशअनुसार उपमहानगरले अनलाइन भुक्तानीको व्यवस्था गरेको हो’ उनले भनिन्, ‘कार्यालयले अब चेक काटेर थन्क्याउनुपर्ने अवस्था हुँदैन। काम सम्पन्न भएको प्रतिवेदनको आधारमा सिधै सम्वन्धितको खातामै रकम पठाउने व्यवस्था मिलाइएको छ।’