कैलालीमा नक्कली लालपुर्जा बाँडेर ३५ जनाबाट १६ लाख असुली, एक जना पक्राउ
2022/10/17, 6:14
 
कैलालीमा नक्कली लालपुर्जा बाँडेर ३५ जनाबाट १६ लाख असुली, एक जना पक्राउ

धनगढी – कैलालीमा करिब १६ लाख असुलेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । दाचुर्लाको मार्मा स्थायी घर भएर जिल्लाको गोदावरी नगरपालिका–९ को खुटिया बस्ने ३६ वर्षीय डम्बरबहादुर ठगुन्नालाई ठगी आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र पाण्डेले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा आइतबार राति ठगुन्नालाई खुटियास्थित डेराबाट पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार ठगुन्नाले चुरे गाउँपालिका–५ को सिस्नेरी, गोदावरी नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाका समेत गरेर ३५ जनालाई ठगी गरेको पाइएको छ । ठगुन्नाले उनीहरूबाट ४५ हजारका दरले रकम लिएर कैलालीको गौरीगंगा नगरपालिकामा एक कट्ठा ऐलानी जग्गा खरिद गरिदिएको भन्दै नक्कली लालपुर्जा थमाएको पाइएको छ ।

भूमि आयोगमा आफ्नो पहुँच भएको बताउँदै रकम लिएर नक्कली लालपुर्जा बाडेपछि १५ लाख ७५ हजार रुपैयाँ लगेर फरार भएका ठगुन्नालाई पीडित पक्षले नियन्त्रणमा लिएर प्रहरीलाई बोलाएका थिए ।

ठगुन्नाविरुद्ध पीडित मध्येका चुरे गाउँपालिका–५ बस्ने खड्कबहादुर पुनमगर, सुकलाल राना, हर्कबहादुर खत्री, गोपालबहादुर रोका, सुरेशबहादुर मगर, नेत्रबहादुर साउँद, नरबहादुर बोहरा, हरजित बोहरा,मान्ने बोहरा र चक्र बहादुर साउँद गरेर १० जनाले किटानी जाहेरी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।