कैलाली - सुदूरपश्चिम प्रदेशमा दशैं तिहारको अवधिमा २४ वटा सवारी दुर्घटना भएका छन। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांक अनुसार सो अवधिमा १४ वटा मोटरसाइकल, ५ वटा जिपरकार, २ वटा बस र बाँकी अन्य सवारी साधन रहेका छन। उक्त दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्। उनीहरु मध्ये १८ जना गम्भीर घाइते भएका छन् भने २६ जना सामान्य अवस्थाका रहेको प्रहरीले जनाएको छ ।दशैँ र तिहारका बेला प्रदेशमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेका छन्। यस बर्ष दशैं तिहारको अवधिमा गत बर्ष भन्दा कम सवारी दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । गत वर्ष दशैं तिहारको समयमा ३३ सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो। सो अवधिमा ४५ जना घाइते भएका थिए। उनीहरु मध्ये गम्भीर घाइते हुनेको संख्या मात्र ३२ थियो ।त्यो बेला प्रदेशभर सबैभन्दा धेरै २३ वटा मोटरसाइकल मात्र दुर्घटनामा परेका थिए भने ५ वटा जिप, कार र बाँकी अन्य सवारीसाधन दुर्घटनामा परेका थिए ।अघिल्लो वर्षको तुलनामा दशैँ र तिहारका बेलाको यो वर्ष कम सवारीसाधन दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक (एसपी)प्रविण धिताल चेकजाँचमा गरिएको कडाइका कारणले गत वर्षको तुलनामा कम सवारीसाधन दुर्घटनामा परेको बताएका छन्। चालक ट्राफिक नियमबारे सचेत रहनुपर्ने बताउँदै उनले सवारी चलाउँदा लापरबाही नगर्न अनुरोध समेत गरेका छन् ।