सत्यमोहन जोशीको एक सय एक वर्षे जीवनयात्रा
2020/05/12, 3:41
 
SATYA MOHAN JOSHI

जन्ममिति अनुसार मंगलबार सस्कृतिविद तथा वाङ्मय पुरुष सत्यमोहन जोशी एकसय एक बर्षमा प्रवेश गरेका छन्।सय बर्ष पार गरेको अवसरमा पाटन बखुम्बहालस्थित उनको घरमा शुभकामना दिन आउने शुभचिन्तकहरुको भीड छ। 

मंगलबार बिहानै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन उनलाई शुभकामना दिन पुगेका थिए। सत्यमोहनको जन्म १९७७ वैशाख ३० गते भएको हो।देशकै परिचय बोकेका यस्ता व्यक्तिको उमेरले शताब्दी चुम्नु गौरवको विषय पनि हो। उनको दीर्घजीवन सिंगो मुलुकका लागि जिउँदो इतिहास बनेको छ। उमेरले सय टेके पनि उनको उत्साह तन्नेरी छ। वृद्धपनको आभासै नहुने गरी उनले दशकौं पुराना संस्कृति र कलाबारे नयाँ पुस्तालाई जानकारी गराउँछन्।गत बर्ष भब्य तवरले जोशीको जन्मोत्सव मनाइएको थियो। 

उनी गत बर्ष नागरिक नायक पनि बनेका थिए।मंगलबार उनको निवासमा पुगेर कुराकानी गरिरहँदा उनी घरी बाल्यकालतर्फ फर्कन्थे त घरी तन्नेरी देशको राजनीतिक र लिपुलेकको चिन्तामा। ‘भारत हाम्रो नभई नहुने छिमेकी हो, तर छिमेकी देशसितको सम्बन्ध निकै धमिलो भएको छ, राजनीतिककर्मीहरुले यो मिलाउनु पर्ने हो,' उनले सुनाए। उमेरले शताब्दी पार गरेपनी उनका रहर र बक्यौता काम भने धेरै बाँकी छन्। नेपालको कला संस्कृती र लोक साहित्यमा ओझिलो किताब कोर्ने उनको धोको छ।पछिल्लो समय उनको सम्मानमा राज्यले गरेको कामप्रति भने उनि खुशी छन्। उनले सुनाए, ‘अहिले म धेरै खुसी छु किनभने मभित्र भएको प्रतिभा र काम राज्यले चिनिदिएको छ, तर देशको सीमा रक्षाको लागी राज्य सक्रिय होस्, मेरा लागि योभन्दा खुसीको कुरा अर्को हुन सक्दैन।’ 

जोशीले शताब्दी उमेर पार गर्दा उनका छरछिमेकी पनि निकै खुसी छन्। स्थानीय तथा ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीले सत्यमोहनले देखाएको प्रेरणादायी बाटोमा अग्रसर हुनुपर्ने बताए। 'उहाँ पाटनको मात्रै इतिहास होइन, सारा नेपालको इतिहास हुनुहुन्छ, यस्ता व्यक्ति राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतकै परिचय हुन्।' संस्कृतिविद् जोशीले नेपाली भाषाको श्रीवृद्धिका निम्ति ठूलो योगदान गरेका छन्। यसको उद्गम थलोमा पुगेर गरेको अनुसन्धानले उनलाई मदन पुरस्कारबाट सम्मानित बनाएको छ। उनको गद्य कृति ‘हाम्रो लोकसंस्कृति’ले पुरस्कार जितेको थियो।

दोस्रोपटक विसं २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थले मदन पुरस्कार पाएको हो। मुलुकका लागि धेरै काम गरेका उनले राष्ट्रिय विभूति अरनिकोको खोजी पनि उनैले गरेका थिए। उनका निबन्ध, प्रबन्ध, कविता, कथा, नाटक र अनुसन्धानात्मक गरि ७० वटा पुस्तक प्रकाशित छन्।उमेर बुढो भैसक्दा पनिउनी आफ्नो भाषा, कला र संस्कृति जोगाउनमै लागेका छन्।नयाँ पुस्तालाई पनि उनी यहि प्रेरित गर्छन्।तिष्ण दिमागउमेरले शताब्दी पार गरेका अधिकांशको स्मरण शक्ति पनि कमजोर हुँदै जान्छ। तर, संस्कृतिविद् जोशी भने शारीरिक र बौद्धिक दुवै तबरले तिष्ण छन्। उनी दशकौं पुराना अनुभव मज्जाले स्मरण गर्न सक्छन्। विगतका अनुभव हाँस्दै व्यक्त गर्न सक्छन्। बाल्यकालीन अवस्था उनको दिमागमा ताजै छ।