अङ्ग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्यो
2022/12/17, 4:42
 
ss

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी सरस्वती बम बैजनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छिन् । सामुदायिक ९सरकारी० विद्यालयमा पढ्दै आएकी उनि अङ्ग्रेजी भाषा फरर बोल्न र लेख्न सक्छिन् । विद्यालयमा अभिभावक, शिक्षक, सामुदायिक वनका पदाधिकारी र वडाका जनप्रतिनिधिको प्रयासमा विद्यालयमा अङ्ग्रेजी भाषामा पढाइ हँुदै आएको छ ।

अङ्गे्रजीको अनिवार्य विषयसँगै अतिरिक्त अंग्रेजीमा पनि पढाइ हुने गरेको छ । गाउँकै विद्यालयमा अङ्ग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्दो रहेको छ । टाढाको निजी विद्यालयमा चर्को शुल्क तिरेर अङ्ग्रेजीकै लागि पढ्दै आएका बालबालिकालाई अभिभावकले छुटाएर गाउँकै विद्यालयमा भर्ना गरेका छन् । 

विद्यालयका प्रधानाअध्यापक अमर सिंह महराले अङ्ग्रेजीमा पढाइ हुँन थालेपछि विगतमा भन्दा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको बताए । “अङ्ग्रेजी विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको चाप बढ्दो छ”, उनले भने, “हाल विद्यालयमा दुई सय ८६ विद्यार्थी पढ्दै आएका छन्, विद्यालयमा अङ्ग्रेजी विषयका शिक्षकको व्यवस्था गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने प्रयासमा जुटेका छौँ ।”

कक्षा १ देखि ८ सम्म अङ्ग्रेजीमा पढाइ हुने गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालयले कुनै पनि किसिमको शुल्क भने लिने गरेको छैन । विद्यालयबाट विद्यार्थीलाई टाई, बेल्टसँगै खेलकुद सामग्री निःशुल्क रुपमा उपलव्ध गराइँदै आएको छ । विद्यार्थी भर्ना, परीक्षा, प्रमाणपत्र बापतको शुल्क पनि लिने गरिएको छैन । नगरपालिकामा अङ्ग्रेजीमा पढाइ हुने सामुदायिक विद्यालयमा बैजनाथ पहिलो हो ।

नियम उल्लङ्घन गरे कारबाही पनि हुने गरेको छ । “विद्यालयमा १० बज्नुभन्दा १५ मिनेट अगाडि नै घण्टी बज्ने गरेको छ, घण्टी बजेपछि विद्यार्थी र शिक्षकले विद्यालयको गेटबाट भित्र प्रवेश गरिसक्नुपर्छ प्रधानाअध्यापक महराले भने, “बिहानीको प्रार्थनाअघि विद्यार्थी अनिवार्य रुपमा पिटी कवाजमा सहभागी हुन्छन । त्यसपछि राष्ट्रिय गान र प्रार्थना गरेपछि कक्षा सुरु हुन्छन् ।”

उनका अनुसार विद्यालयको पढाइमा असर पुग्ने गरी ढिलो आउने शिक्षकलाई विद्यालय प्रवेश गर्न नदिने नियम बनाइएको छ । विद्यालयमा आएर छिटो घर जाने शिक्षकको आधा दिनको तलब कट्टा गर्ने र जानकारी नदिई बिदामा बस्ने शिक्षकको दामासाहीका हिसाबले तलब कट्टा गरी विद्यालयको कोषमा जम्मा गर्ने नियम लागू गरिएको प्रधानाअध्यापक महराले बताए । विद्यालयमा बीचमै विद्यालय छाड्ने, निरन्तर विद्यालय नआउने विद्यार्थीको सङ्ख्या शून्य रहेको छ ।

“बालबालिका निजी विद्यालयझैँ चिटिक्क परेर टाई बेल्ट र पोसाक लगाएर विद्यालय आउने गरेका छन्”, विद्यालयका शिक्षक मदन सिंह ठगुन्नाले भने, “विगतमा यस्तो थिएन, अभिभावकसँग निकै गहन छलफल, अन्तरक्रिया गरेपछि विद्यालय सुधार गर्न सकेका हौँ ।” अहिले अभिभावकले बालबालिकाको पढाइको अवस्था बुझ्नका लागि विद्यालयमा पुग्न थालेको उनले  जानकारी दिए ।

शुक्रबार पढाइपछिको आधा दिन खेलकुद, सांस्कृतिक कार्यक्रम र हाजिरीजफाव लगायतका प्रतियोेगिता आयोजना गरिँदै आएको विद्यालयका शिक्षक भागरथी ग्वाइलाले बताए । विद्यालयको आफ्नै करेसाबारी रहेको छ । विद्यार्थीलाई कृषिबारे जानकारी दिने कार्यसँगै विद्यार्थीले त्यसमा तरकारी रोप्ने कार्य गर्दै आएका छन् ।

विद्यालयको आन्तरिक आयका लागि होली, देउसी भैलीलगायत कार्यक्रम आयोजना गर्ने गरिन्छ । त्यसबाट आएको पैसाले सांस्कृतिक कार्यक्रमका लागि पोसाकलगायत खरिद गरिएको छ । दिवा खाजाका लागि विद्यालयले आन्तरिक स्रोतबाटै खर्च व्यहोर्ने गरी भान्सेको व्यवस्था गरेको छ । दिवा खाजाको सूची तयार गरी भान्सा व्यवस्थापनको कार्य गरिएको छ ।

विद्यालयमा शुद्ध पेयजलका लागि भगवती सामुदायिक वनले बोरिङ जडान गरी दिएको छ । सामुदायिक वनकै सहयोगमा विद्यालयमा छवटा कम्प्युटर र इन्टरनेटको व्यवस्था गरिएको छ । अङ्ग्रेजीसंगै विद्यालयमा पठनपाठन गर्दै आएका विद्यार्थीलाई कम्प्युटरसम्बन्धी शिक्षा दिने गरिएको छ । विद्यालयका शैक्षिक गतिविधिलाई कम्प्युटरमा विद्यालयले अभिलेखीकरण गर्ने कार्य गर्दै आएको छ ।

सोही सामुदायिक वनकै सहयोगमा विद्यालयको गतिविधि नियाल्न र सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरिएका छन् । दुईजना निजी स्रोतका शिक्षकको तलबका लागि वडा कार्यालयले रकम व्यहोर्दै आएको छ । वडाअध्यक्ष बहादुरसिंह महराका अनुसार विद्यालयको भौतिक पूर्वाधार विकासका लागि वडा कार्यालय र अन्य निकायबाट बजेट व्यवस्थापन गरी कार्य अगाडि बढाइएको छ ।

“स्वयम्सेवक शिक्षकको व्यवस्था गरी पढाइमा कमजोर रहेका र मेधावी विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालनको कार्य गर्दै आएका छौँ”, विद्यालय व्यवस्थापन समितिका सदस्य नरसिंह ठगुन्नाले भने, “स्थानीय पर्वलाई बढी जोड दिई अन्य पर्वहरुमा सहिष्णुता कायम राख्दै विद्यालयले शैक्षिक गुणस्तरमा जोड दिई विद्यालयलाई अरूभन्दा फरक तथा नमुना बनाउन स्थानीय पर्वबाहेक अन्य बिदा दिने गरिएको छैन ।” 

विसं २०४९ सालमा स्थापना भएको विद्यालयमा नौजना शिक्षक कार्यरत रहेका छन् । जसमध्ये दुई स्थायी, चार राहत, एक करार र दुई आन्तरिक स्रोतबाट तलब पाउने गरी शिक्षक, आन्तरिक स्रोतबाटै भान्से र सहयोगी नियुक्त गरिएका छन् ।