सडक चौडा बनाउन धनगढीमा संरचना तिव्र गतिमा भत्काईदै (भिडियो रिर्पोट)
2022/12/25, 5:09
 
dd

कैलालीको धनगढी उपमहानगरभित्र पर्ने मुख्य सडक बिस्तारका लागि सडक क्षेत्राधिकारभित्र पर्ने संरचना भत्काउने काम तिब्र पारिएको छ । उप महानगरपालिकाले सडक क्षेत्राधिकार भित्रपर्ने संरचना खाली गर्न पत्राचार गर्दै सरकारी संरचना भत्काउने काम एक महिनादेखि तिव्र गतिमा भईरहेको छ । उप महानगरले केही निजि संरचनामा समेत डोजर लगाए पनि हाल घरधनीहरु स्वस्फुर्त रुपमा संरचना भत्काईरहेका छन् । चाँडै सडक क्षेत्र खाली गराएर २ बर्षभित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य उपमहानगरले लिएको मेयर गोपाल हमालले बताए ।  

कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोकसम्म सडक छेउका संरचना हटाउन निर्देशन दिएकोमा एक महिनादेखि संचरना भत्काउने कामले गति लिएको छ । उपमहानगरले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरेर तिहार लगत्तै सडकको दायाँबायाँ १५÷१५ मिटर सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने निर्णयलाई कार्यान्वयन गर्दै संरचना भत्काउने काम तिव्रताका साथ भईरहेको छ । आफुहरुले सडक भत्काउने काममा साथ दिईरहेको नगरवासीहरुले बताएका छन् । 
कैलाली पुलदेखि क्याम्पसरोड हुलाकी सडकको शून्य विन्दुसम्म सडक चौडा बनाउने काममा घरधनीहरुले खुलेर सहयोग गर्न थालेका छन् । सडक क्षेत्राधिकारभित्र पर्ने अधिकांश सरकारी भौतिक संरचनामा उपमहानगरपालिकाले डोजर चलाईसकेको छ । सडक फराकिलो बनाउने कार्यमा नगरवासीले सहयोग गरेकाले निरन्तर रुपमा काम भईरहेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताउनुभयो । यसअघि मुद्दा दायर गरेकाहरुले पनि धमाधम फिर्ता लिएर धनगढी बनाउने अभियानमा साथ दिदा अधिकांश ७० प्रतिशत संरचना भत्किसकेको मेयर गोपाल हमालले दावी गरे । 

६० करोड प्रदेश सरकारको लागतमा धनगढी उप महानगरपालिकाको कैलाली पुलदेखि क्याम्पस चोकसम्म मुख्य सडक चौडा बनाईनेछ । संरचना भत्काउनका लागि सुचना जारी गर्दा उप महानगर बिरुद्ध परेका मुद्धा समेत फिर्ता लिने क्रम बढेको छ । सडक क्षेत्रभित्र पर्ने संरचना खाली गराए लगत्तै सडक निर्माणको काम सुरु हुनेछ । सो सडक निर्माण सम्पन्न भएसंगै धनगढीको स्वरुप परिवर्तन हुने अपेक्षा गरिएको छ ।