बैतडी जिल्ला अस्पताल देशभरिमै उत्कृष्ट दोस्रो स्थानमा
2023/01/05, 12:58
 
erterer

 ‘प्राइमरी लेभल हस्पिटल’मध्ये जिल्ला अस्पताल बैतडी देशभरिमै दोस्रो स्थानमा परेको छ ।  न्यूनतम सेवा मापदण्डमा बैतडी अस्पताल देशभरिका उत्कृष्ट अस्पतालको दोस्रो स्थानमा पर्न सफल भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले बताए । 

स्वास्थ्य मन्त्रालय र निक साइमन इन्स्टिच्युटले गरेको मूल्याङ्कनका आधारमा बैतडी अस्पताल उत्कृष्ट हुँदै दोस्रो स्थानमा पर्न सफल भएको डाक्टर श्रेष्ठले बताए । उनले भने,‘न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन हुँदा बैतडी अस्पताल ८९ प्रतिशत अङ्कसहित दोस्रो स्थानमा परेको छ । दमौली अस्पताल पहिलो स्थानमा रहेको छ । जिल्ला अस्पताल अछाम ८७ प्रतिशत अङ्कसहित तेस्रो र बझाङ ८४ प्रतिशत अङ्कसहित चौथो स्थानमा परेको छ ।’ यसअघि सुदूरपश्चिममा बैतडी अस्पताल प्रथम स्थानमा रहेको थियो । स्वास्थ्य सूचकका आधारमा अस्पतालहरूलाई अङ्क दिइने गरिएको छ । अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका सुविधा, भौतिक व्यवस्थापनलगायतका कार्य हेरेर न्यूनतम सेवा मापदण्डको अनुगमन गर्ने गरिएको छ । 

जिल्ला अस्पताल बैतडीमा हाल तीन विशेषज्ञ चिकित्सकसहित आठ चिकित्सकले स्वास्थ्य सेवा दिइरहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताइन । उनले भनिन्,‘बैतडी अस्पतालमा हाडजोर्नीसम्बन्धी शल्यक्रियासहित उपचार, एमडीजीपी र एनेस्थियोलोजिस्ट चिकित्सक कार्यरत छन् ।’ न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल बैतडी देशभरिकै उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको अस्पतालमा कार्यरत डा. थानेश्वर न्यौपानेले बताए । 

जिल्ला अस्पताल बैतडीले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन गरेर हिंसामा परेका महिलाको उपचार, मनोसामाजिक परामर्शलगायतका सेवासमेत प्रदान गरिरहेको उनले बताए । उनले भने,‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट चार महिनाको अवधिमा हिंसामा परेका ८८ जना महिलाले सेवा लिनुभएको छ । तीमध्ये घरेलु हिंसामा परेका सुत्केरी महिलाले समेत उपचार पाउनुभएको छ ।’