कुरो धेरै पहिलेको हो । अझ भनौ जतिबेला मैले आफ्नो कट्टु राम्रोसंग लगाउन पनि जानेको थिएन र अरुको कट्टु समाउदै हिड्ने गर्थे हो त्यति बेलाको कुरो हो । जतिबेला मैले आफुलाई चिनेको थिएन हो त्यति बेलाको समय हो । जतिबेला म आफु वास्तविक संसारमा परिपक्क थिएन तर काल्पनिक संसारको हिरो थिए हो त्यही बेलाको समय हो । जतिबेला म घरकुट्टीको जिम्मेवार घरमुली ठहरिन्थे हो त्यतिबेलाको समय हो ।
जतिबेला म हरेक घर कुट्टीमा हिरो बन्न जिद्दी गर्थे हो त्यतिबेलाको समय हो । जतिबेला म माटोको दरबार बनाउन प्रयत्न गर्थे हो त्यतिबेलाको समय हो । जतिबेला मलाई ढुङ्गाका छोराछोरी मन पर्थे हो त्यतिबेलाको समय हो । जतिबेला मेरा बालापनको आधा समय खोला (गाड) को किनारमा अर्को खोलो बनाउँदै बित्ने गथ्र्याे हो त्यतिबेलाको समय हो । सानैमा बढो गर्वका साथ भन्ने गर्थे म निरौलीको मान्छे हँु । म राष्ट्रिय दशै लाग्ने ठाउँको मान्छे हुँ । म मासको घर भएको ठाउँको मान्छे हुँ । मेरा अधिकांश बालापनको यादहरु निरौलीमा बितेका छन । यदपि मैले आफ्नो चेतनसिल उमेर बिताउन पाएन तर मेरो अलौकिक चेतना निरौलीसितै जोडिएको छ ।
निरौली । जो प्रकृतिको अनुपम उपहार । निरौली जो सुन्दरताले निपुर्ण । निरौली जहा प्रकृति स्वयम्को बास छ । निरौली जो ऐतिहासिक कालखण्डले भरिएको छ । निरौली जो अलौकिक आनन्द दिने अनुपमभुमी । निरौली जो वी वीराङ्गनाहरुको रगतले ओतप्रोत छ । अझै पनि ईतिहासको सुगन्ध ताजै छ । मेरो बाल्यकाल निरौलीमै बित्यो । घर गोल्छी भएपनि म प्रायजसो पुर्खौली थलोमा गरिरहन्थे । सायद पुर्खाको याद समेटिएको थियो होला मेरा अधिकांश समय उतै बिताउन मन लाग्छ । म सानो थिए । अझैं याद छ मलाई । अरु समयभन्दा पनि दशैमा मेला हेर्न म अवश्य निरौली पुगेकै हुन्थे । बाजेसँगको यात्रा गर्नुपथ्र्याे । हुन त छोटो दूरीको बाटो थियो तर म सानै भएकोले होला त्यो मेरो लागि मेरो उमेर भन्दा कैयौँ गुणा ठुलो बाटो थियो । अझ बाजेसितको यात्रा भएर पनि होला मलाई मेरो यात्रा प्राय लामो लाग्ने गथ्र्याे । बाजे अलि कठोर बोलीका थिए सायद स्वभाव नै त्यस्तै थियो होला । मेरो कलिलो उमेरले कहिल्लै चिनेन । बाटोमा कहि कतै रोकिन पाइँदैन थियो । बाजे जमानाका एकल यात्री थिए । प्राय यात्रा यक्लै गर्न रुचाउने र पहाडदेखि तराईसम्मको यात्रा एक दिनमै नापी दिन्थे ।
त्यो दिन पनि म बाजेसंगै दशै मेला हेर्न भनेर निरौली तर्फ ताकिन्छु । जहा भागेश्वरको बास छ । बाजे लक्ष्मीराज अघि अघि नाती मदनराज पछि पछि । नाम स्त्रीको भएझै मन पनि स्त्री जस्तै कोमल थियो सायद बेला बेलामा “थाकिस् ? बिसाउने की एकछिन ?“ भनेर सोधिरहनु हुन्थ्यो । तर “आ मेरो पिठ्युँ लाग“ भनेर कहिल्यै भन्नु भएन । सायद म बाजेको लागि ठुलो उमेर खाएको नाति थिए । त्यही भएर मलाई सधै बाजेको अभाव खड्किन्छ । हामी यसरी अगाडी बढिरहेका थियौ कि मानौ गएर युद्ध लड्नुपर्नेछ । अघि अघि हिड्ने ठुलो मान्छे, बाजे कमान्डर अनि म सानो मान्छे सिपाही । हामी दशै हुने ठाउँमा पुग्यौ । दशै मेला लागिरहेको थियो ।
अचानक उत्तर तर्फबाट ललाट रङले रातै भएको कालो राङ्गो आयो । सब जना भागाभाग गर्न थाले । मलाई पनि बाजेले पर एउटा जिर्ण भग्नावशेष घरको छेउमै राखेर आफु राँगा भएतिर जानु भयो । कोही देवताको नाम जप्दै जय जय पुकारिरहेका थिए त कोही रमिता हेर्दै थिए । तीमध्ये एउटा रमिते म पनि थिए । धेरैले त्यो जिर्ण भवनमा फुलेको कुञ्जो टिप्दै सो रङ्गिन रागालाई चढाई रागोलाई फेरि कुदाईयो । मान्छेहरु पनि यसरी कुदे मानौ त्यहाँ सुनको सस्तो बजार छ । पछाडीबाट “भोस्सो, भोस्सो“ मन्त्र झै जपिदै थियो । कोही बृद्ध भनिरहेका थिए, “तोलीगडा ओल मुलेउ“। मेरो ध्यान अब राङ्गा भन्दा यो जिर्ण भवनमा केन्द्रित भयो । हाम्रो घर माटोले पोतिएको हुन्छ । त्यो घरमा त मासका खोस्टाहरु अझै देखिरहेका थिए । म अचम्मित थिए । मान्छे मास खान छोडेर घर पोत्ने काममा प्रयोग गर्न थालेछन भनेर । मलाई कता कता त्यो घर भन्दा बढी भुत बङ्ला जस्तो पनि लागिरहेको थियो । जताततै जङ्गल, झाड मात्र । तर बडो कलात्मक किसिमको भुत बङ्ला । मासले पोतिएको । भिन्न ढंगको बनावट । आकर्षक । यस्तै यस्तै । तर सामान्य घरभन्दा भिन्न । खुब मन पर्यो मलाई ।
एकछिनमा बाजे आउनुभयो । “हिड जाउँ“ म केही नबोली बाजेसंगै गए । बाजे सरासर एउटा त्यस्तै पुरानो घरमा रोकिनुभयो । जो धेरै समयदेखि पोतिएको थिएन सायद । सोचे, “कोही घर मासले पोतिएका छन त कोही माटोले समेत पोतिएका छैनन ।“ एउटा सेतै लुगा लगाएकी बुढी महिला आँगनको छेउमै बसेकी थिईन । बाजेले उनको खुट्टामा टाउको राख्दै भन्नुभयो, “ढोग दिए, काखी“ बुढी आमाले फर्काउनु भयो “जिरेई, बाचिरेई बा भाग्यमान भएई“ म अचम्मित भए । मेरो बाजेको पनि अण्टी जिउदै हुनु हुदोरहेछ । बाजेले भन्नुभयो “मधन ! ढोग दे बजेईलाई“ मैले ढोग गरे । उसैगरी आशिर्वाद दिनुभयो बुढी आमाले, होईन बुढी बज्यैले “जिरेई, बाचिरेई बा भाग्यमान भएई“ । हामीले बुढी बज्यैको हातको टिका लगायौं । बाजेले भन्नुभयो, “म एकबर गाउँ गैबर आउनौ त बज्यैसंङ बसिर्यै हा“ । मैले “हुन्छ“ भने ।
मलाई बुढा मान्छेहरु निकै मन पर्थे । म प्यारो पनि थिए । जसको कारण म बज्यैसंग छिट्टै निकट भए । बज्यैले मलाई धेरै माया दिनुभयो । म बुढो मान्छेहरुलाई उनीहरुले आफ्नो उमेर कसरी खाए भनेर जान्न रुचाउने मान्छे थिए । मलाई पुराना कुराहरुमा निकै लगाब थियो । बज्यैले आफ्नो जिवनको बारेमा भन्नुभयो । सेता लुगा रहर नभएर बाध्यता भएको कुरा पनि थाहा पाए । अनि सोधी हाले मासको घरको बारेमा । बज्यैले भन्नुहुन्थ्यो, “एकादेशमा एउटा राजा थिए अनी राजाकी सात ओटा रानी । राजा र राक्षसको बिचमा पर्सो (मल) को कारण झगडा पर्यो । अनि त्यसपछि राजा, रानी सबै सुतेको बेला राक्षस आएर खुर्कुट्टी (सिडी) लगेर आफ्नो घर गयो । त्यसपछि बिहान कान्छी रानी उठ्नुभयो र नृत्य कर्मको लागि तल झर्न खोज्दै गर्दा सात तला माथिबाट खस्नुभयो र मर्नुभयो । त्यसैगरी अन्य रानीहरु पनि मरिन । अन्ततः राजा पनि मरे र त्यो राज परिवारको अप्ताली (बंस नास) भयो ।“ म त्यो दिन यसैगरी कुरा गर्दै बज्यै संगै बसे ।
खै यस्तै के सुनाउनु भएको थियो बज्यैले । अहिले बज्यै पनि बुढी भैसक्नुभयो अरे । धेरै बातै (कहानी) सुन्ने मन छ । अहिले धेरै भयो जान नपाएको । के गर्नु बज्यैलाई यता आउन मन लाग्दैन अनि मलाई जानै मिल्दैन । अब छिट्टै नै जाने मन छ । त्यो बच्चा अवस्थामा सुनेको कुरा अझै ताजै छ “उ त्यो डाडाँको मासले बनेको घर राजाको घर हो“ ! पहिले रचनात्मक भुत बङ्ला देख्थे अहिले लेख्न बाँकी ईतिहास देख्दैछु । र बेलाबखतमा राजा नभए पनि राजाको घर हेर्न गईरहन्थे ।
अहिलेः
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ निरौली (पहिलेको निरौली, वडा नम्बर १) मा रहेको पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेको मल्लकालीन निरौली दरबार उचित संरक्षण तथा सम्बद्र्धन नगरिदा दिनानुदिन जिर्ण बन्दै गएको छ । पुरानो कलात्मक सैलिको तथा पुराना राजाको पालामा बनेको सो मल्लकालीन धरमकोट दरबार समयमै उचित संरक्षण नगरिदा भत्किदै गएको हो । कलात्मक ढंगकोे सो दरबार निर्माण गरिदा स्थानीय जनताबाट संङ्कलन गरिएको मास पिसि गारो बनाएको र त्यसै गारोबाट दरबारका नौ तला निर्माण भएको थियो । तर अहिले यो दया लाग्दो अवस्थामा पुगेको छ । करिब एक सय वर्षभन्दा पहिले निरैपाल राजाले आफनो शासनकालमा निर्माण गरेको सो दरबार नाघी मल्ल राजाको शासन कालपछि खाली भएको र निरैपाल राजाका नामबाट पछि गएर सो ठाउँलाई निरौली नाम राखिएको किम्बदन्ती रहेको छ ।
मल्लकालीन समयमा राजा नाघी मल्ल र सोही ठाउँमा रहेका भागेश्वर देबता बिच “को ठुलो“ भन्ने बिषयमा घम्सा घम्सी (भनाभन) चलेको र राजाले आफु ठुलो भएको जिकिर गरेपछि भागेश्वर देवताले उहाँको दरबार लगायत अन्य बस्तुभाउ सबैलाई कम्पन गराई छल देखाएपछि राजाले भागेश्वर देवतासंग माफी मागी तपाई नै ठुलो भनि पुजा गर्न थालेको डोटेली चैत (धुमारी) मा उल्लेख गरिएको छ ।
भग्नाबसेसमा परिणत हुदै गएको सो दरबारको माथिल्लो तलामा गएर हेर्दा सर्प (नाग) देखा पर्ने गरेको र दरबारमा बहुमुल्य सम्पति हुन सक्ने अनुमान सजिलै लगाउन सकिन्छ । र त्यहाँ भएको सर्पको डरका कारण कसैले पनि उत्खनन् गर्ने अाँट गर्न सकेका छैनन् । निरौली गाउँको माथि अग्लो रमणीय डाँडामा रहेको सो दरबारको समयमै उचित संरक्षण तथा सम्बद्र्धन गरिए त्यहाँको ऐतिहासिक र पर्यटकीय विकास हुने थियो । तर नेपालमा त फरक घटना मात्रै घटने गर्दछन ।
भरखरै मात्र जोरायल गाउँपालिकाले चलचित्र निर्माणको निम्ति दश लाख छुट्याएको खवर सुनेको थिए । हो त्यो राम्रो कुरा हो । जोरायलमा चलचित्र निर्माण हँुदा त्यहाको पर्यटन प्रवद्र्धन गर्न ठुलो सहयोग हुन्छ र धेरै पर्यटकलाई आकर्षण गर्नसक्छ । तर हामीले आफ्नो ईतिहासलाई पनि बचाईराख्नु छ । ईतिहास छैन भने हाम्रो परिचय नाम मात्र हो त्यो भन्दा ठुलो अरु केही रहने छैन । इतिहास जोगाए सम्पुर्ण जोरायल जोगिनेछ । निरौली दरबारलाई संग्रहालयको रुपमा विकास गर्न सके लाखौ पर्यटकलाई आकर्षण गर्न सकिन्छ । हुन त यो सपना मात्रै हो । यदि केही गर्न सकिएन भने यसको उचित संरक्षण मात्रै गरिदिएको भए पनि भावी सन्ततिको लागि ईतिहास जिउँदै सावित हुने थियो होला !