सुदूरपश्चिममा क्षयरोगी बढ्दै, साढे दुई वर्षमा २९० जनाको मृत्यु
2023/03/24, 12:56
 
ss

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी क्षयरोगी भएको जिल्ला कैलाली हो। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार कैलालीमा ७५३ क्षयरोगी छन्। प्रदेशमा एक हजार आठ सय ३४ क्षयरोगीको संख्या रहेकोमा कैलालीमा मात्र ७ सय ५३ क्षयरोगी छन्।

कञ्चनपुरमा ४४८, डोटीमा ११२, बैतडीमा ११४, बाजुरामा ८९, बझाङमा ७९, दार्चुलामा ८७ र अछाममा ७८ जना क्षयरोगीहरु छन्। प्रदेशमा श्रावणदेखि फागुनसम्ममा उक्त संख्याका क्षयरोगी फेला परेका छन्। स्वास्थ्य निर्देशनालयका क्षय कृष्ठरोग अधिकृत मनोज ओझाले श्रावणदेखि फागुनसम्म एक हजार आठ सय ३४ जना क्षयरोगका बिरामी फेला परेको बताए। उनले भने, ‘श्रावणदेखि फागुनसम्म सुदूरपश्चिममा १८३४ जना क्षयरोगी फेला परेका छन्। उनीहरु उपचारमा आएका छन्।

कैलालीमा सबैभन्दा बढी छन्।’ उनले चालु आर्थिक वर्षको चार महिना अझै बाँकी रहेकाले संख्या बढ्ने बताए। सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा तीन हजार चार सय २४ जना क्षयरोगी फेला परेका थिए। प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा दुई हजार आठ सय २६ जना क्षयरोगी फेला परेका थिए। प्रदेशमा गत आर्थिक वर्षमा एक सय १० जना क्षयरोगीको मृत्यु भएको थियो।

आर्थिक वर्ष २०७८/७९ मा एक सय १९ तथा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म थप ६१ जना क्षयरोगीको मृत्यु भएको सरकारी तथ्याङ्क छ। त्यस्तै, चालु आर्थिक वर्षको फागुन मसान्तसम्म थप ६१ जनाको मृत्यु भएको छ। क्षयरोगका कारण यो भन्दा बढीको मृत्यु भएको हुन सक्ने आंकलन गरिएको छ। ओझाले भने, ‘प्रतिशनको हिसाबले हेर्ने हो भने, ‘एक वर्षमा तीन प्रतिशतको मृत्यु हुँदै आएको छ।

संख्याको हिसाबमा यो वर्ष ६१ जनाको मृत्यु भएको छ। गत आर्थिक वर्षमा उपचारमा आएका बिरामीहरुमा मृत्यु भएको हो। सुदूरपश्चिममा एक वर्षमा एक सय १० देखि एक सय २० सम्मको संख्यामा क्षयरोगीको मृत्यु हुँदै आएको छ।’ स्वास्थ्यकर्मीका अनुसार उपचार पाएका क्षयरोगीहरुमा ९० प्रतिशतमा निको हुन्छ।

तर, प्रदेशमा क्षयरोगीको संख्या धेरै भएपनि परीक्षण गर्ने गरेका छैनन्। समुदायस्तरमा क्षयरोगीहरुले परीक्षणसमेत गर्ने गरेका छैनन्। स्थानीय तहहरुले रोगको पत्ता लगाउन विभिन्न स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको भए पनि प्राप्त भएको छैन्। प्रदेशमा क्षयरोगीको रोगको पहिचानसमेत नभएर मृत्यु हुँदै आएको छ।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले सबै क्षयरोगीको उपचार नभएको बताए। उनले लक्ष्यअनुसारको कामसमेत नभएको बताए। उनले भने, ‘यो वर्ष फागुनसम्म मात्र सात सय बढी बिरामी फेला परेका छन्। उनीहरु उपचारमा छन्। लक्ष्य पूरा भएको छैन। समुदायमा रहेका टिभीका बिरामीलाई खोज्न सहकार्य गर्छौँ।’

क्षयरोगीको पहिचान र उपचार निःशुल्क हुन्छ। प्रदेश सरकारले रोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ। सुदूरपश्चिम प्रदेशभित्र क्षयरोगका कारण वर्षेनि ज्यान गुमाउनेको संख्या बढ्दै गएको पाइएको छ। हरेक वर्ष औसतमा क्षयरोगकै कारण एक सय १९ जनाको मृत्यु हुने गरेको पाइएको छ। प्रदेश सरकारको तथ्याङ्कअनुसार वार्षिक तीन हजारको संख्यामा नयाँ क्षयरोगी फेला गर्ने गरेका छन्।