धनगढी जेसिजले नयाँ वर्षमा हाफ म्याराथन आयोजना गर्ने 
2023/03/28, 1:45
 
धनगढी जेसिजले नयाँ वर्षमा हाफ म्याराथन आयोजना गर्ने 

धनगढी – नयाँ वर्षको अवसर पारेर सधैँ झैँ यो बर्षपनि धनगढी जेसिजले हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ । ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका साथ धनगढी जेसिजले नवौं संस्करणको हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

धनगढी जेसिजले आज पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुराको जानकारी गराएको हो । धनगढी जेसिजका अध्यक्ष मोहन ओझाले प्रतियोगिता बैशाख १ गते बिहान ७ बजे धनगढी रंगशालाबाट शुरु हुने बताए । उनले म्याराथन प्रतियोगितामा विभिन्न ४ बिधा समाबेश गरिएको जानकारी दिए । 

म्याराथन प्रतियोगितामा खुला (२१.१ किलोमीटर), कर्पोरेट र संचार (५ किलोमीटर), ट्राइसाइकल रेस (५ किलोमीटर) र महिला (५ किलोमीटर) गरि चार बिधा आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक मनिष कुंवरले बताए ।

म्याराथन प्रतियोगितामा खुला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः  ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ नगद प्राप्त गर्नेछन । त्यस्तै कर्पोरेट र संचार तर्फ ५ हजार ५५५, ३ हजार ३३३ र २ हजार २२२ रुपैयाँ पुरस्कार राखिएको धनगढी जेसिजका महासचिव महेश्वर ओझाले जानकारी दिए । 

यसैगरी, ट्राइसाइकल तर्फ सहभागी सबैलाई पुरस्कार दिइने बताउदै अध्यक्ष ओझाले महिलातर्फ बिजयीहुनेले क्रमशः ५ हजार ५५५, ३हजार ३३३ र २ हजार २२२ रुपैया पुरस्कार दिइने बताए ।