दुना टपरी बनाउने तालिम लिएर उद्यमी बन्दै धनगढीका महिला
2023/04/03, 1:25
 
ss

पछिल्लो समय कैलालीको धनगढी उप महानगरका महिलाहरु दुना टपरी उत्पादनमा जुटेका छन् । घरको काम सकेर बचेको समयलाई सदुपयोग गर्दै महिलाहरु सामुहिक रुपमा दुना टपरी उत्पादनमा जुटेका हुन् । दुना टपरी उत्पादनमा जुटेका महिला समुहहरुलाई धनगढी उप महानगरपालिकाले तालिम संगै मेशिन समेत उपलब्ध गराएपछि उनिहरुको उद्यमशिलतामा थप टेवा पुगेको छ ।

घरको चुलो चौकामा सिमित रहने गृहणीहरु पछिल्लो समय उत्पादनमुलक ब्यवसायतिर लम्किन थालेका छन् । घरको काम संगै आर्थिक उपार्जन हुने कामतर्फ मििहलाहरु लम्किरहेका हुन् । कैलालीको धनगढी उप महानगरपालिकामा पनि महिलाहरु सामुहिक रुपमा दुना टपरी उत्पादनमा लागेका छन् । धनगढी उप महानगरपालिकाले दुना टपरी बनाउने तालिम संगै मेशिन समेत उपलब्ध गराएपछि उनिहरु दिन रात खटिएर दुना टपरीको उत्पादनमा लागेका छन् । दुना टपरी बनाएर उनिहरुले धनगढी बजारमा बिक्रि गर्ने गरेका छन् । पुजामा काम लाग्ने दुना संगै बजारमा मः मः, चाउमिन लगायतका खाजामा प्रयोग हुने टपरीहरुपनि महिलाहरुले उत्पादन गरिरहेका छन् ।

धनगढी उप महानगरपालिका १३ हिमाली दुना टपरी उधोगकी अध्यक्ष ममता बानियाले गत माघबाट दुना टपरी बनाउन शुरु गरेको बताइन् । हामीहरुलाई उप महानगरपालिकाले तालिम दियो उनले भनिन् “तालिममा मात्रै सिमित नराखी उद्यमशिलतासंग जोड्ने उपमहानगरको योजना अनुसार हामीलाई टपरीका लागी एउटा मेशिन उपलब्ध भयो त्यसपछि हामीले उत्पादन शुरु गरेका हौँ, अहिले करिब ३० जना महिलाहरु दुना टपरी बनाइरहेका छौँ ।”

करिब ३० जनाको समुह रहेको उधोगबाट हाल कच्चा पदार्थ, तथा बिजुली बिलसम्मको आम्दानी भइरहेको उनिहरु बताउँछन् । धेरै ठुलो टिम भएका कारण शुरुको आम्दानी नदेखिएपनि बिस्तारै राम्रो आम्दानी हुने उनिहरुको अपेक्षा छ । पहिला खाली समय बसेर बिताउने महिलाहरु हाल फुर्सद मिल्ने बित्तिक्कै दुना टपरी बनाउन उधोगमा पुग्छन् । उनिहरुले थप मेशिन सहयोग भए उत्पादन बढ्ने र आम्दानीपनि बढ्ने अपेक्षा राखेका छन् ।

धनगढी १३ की सितादेवी चौधरीले बिगतमा घरको चुलो चौकोमा सिमित भएपनि हाल घरको काम सकेर दुना टपरी बनाउनमा समय बिताइरहेको बताइन् । बिगतमा काम थिएन बसेर समय बिताइन्थ्यो उनले भनिन् “हाल दुना टपरीको उत्पादनमा लागेपछि रातीसम्म काम गरिरहेका छौँ, अहिलेनै धेरै आम्दानी भयो त भन्न सकिदैन, बिस्तारै आत्मनिर्भर बन्छौँ भन्ने अपेक्षा छ ।” धनगढी १३ कै रजनी कुँवरले तालिम पाएपछि सहजै दुना टपरी बनाउन सकिएको बताइन् । तर धेरै महिलाहरु भएका कारण थप एक मेशिन आवश्यक रहेको उनले बताइन् । हामी उत्पादन माग अनुसार गर्न सक्छौँ उनले भनिन् “हामीलाई आवश्यक साधन सरकारले दियो भने सहज हुने छ ।”

धनगढी उप महानगरपालिकाले पछिल्लो बर्ष मात्रै १ सय ८० जना महिलाहरुलाई दुना टपरी उत्पादन सम्बन्धी तालिम दिइसकेको छ, भने ५० जना तालिम लिइरहेका छन् । तालिम संगै उत्पादनसंग जोड्नका लागी धनगढी उप महानगरपालिकाले समुहगत रुपमा ९ वटा मेशिन उपलब्ध गराएको छ । दुना टपरी उत्पादनमा जोड दिएको उप महानगरले हरेक काममा प्लाष्टिकको बिकल्पमा दुना टपरी प्रयोगमा ल्याउने उपमहानगरका मेयर गोपाल हमालले बताए ।

दुना टपरी उत्पादनले एउटा त धनगढी उपमहानगरको प्लास्टिक मुक्त धनगढी बनाउन मद्दत पुग्छ उनले भने “अर्को फाइदा महिलाहरु आत्मनिर्भर बन्दै गएका छन्, धनगढीको उत्पादन धनगढीमै खपत भइरहेको छ, हाम्रो रकम बाहिर जाने अवस्था छैन, समग्र रुपमा फाइदा हुने दुना टपरी उधोगको प्रबद्र्धनमा हामी जुटेका छौँ ।”

बढ्दो शहरीकरण संगै प्रदुशण बढिरहेका बेला धनगढी उप महानगरपालिकाले प्लास्टिक मुक्त अभियान सफल पार्न दुना टपरी उत्पादनमा जोड दिएको छ । यसले एकातर्फ प्लास्टिक मुक्त धनगढी बन्नुका साथै महिलाहरुलाई आत्मनिर्भर बनाउनमा महत्वपुर्ण भुमिका खेल्ने छ ।