डल्फिन मन पराउने पर्यटकलाई कोरोनाले रोक्न सकेन्
2020/07/01, 12:20
 
dopphin

कोभिड–१९ का कारण पर्यटन वर्षसमेत प्रभावित भए पनि प्रकृतिप्रेमी पर्यटकलाई कोरोनाले रोक्न सकेको छैन । वर्षायाममा कैलालीका नदीमा देखिने डल्फिनलाई विदेशी पर्यटकले पनि अवलोकन गरेका छन् । बन्दाबन्दीमा नेपालमै रहेका इङल्याण्डका दुई र नेडरल्याण्ड्सका एक जना पर्यटक टीकापुर नगरपालिका–७ बैदी पुगेर डल्फिन अवलोकन गरेका हुन ।

 बर्दियाको ठाकुरद्वारमा बसेका उनीहरु डल्फिन अवलोकन गरी रमाएको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए । ‘नजिक–नजिक डल्फिन देखिएपछि उनीहरु खुशी भए’, उनले भने । करिब पाँच वटा बच्चा र १० वटा वयस्क गरी हालसम्म १५ वटा डल्फिन देखा परिरहेका छन् । मोहना, पथरैया, काँढा गरी तीन वटै नदी र गैरी खोलाको दोभानमा डल्फिन देखा परिरहेको जनाइएको छ ।

विश्वमै दुर्लभ मानिने गङ्गेटिक प्रजातिको डल्फिन अवलोकनका लागि कैलालीमा हरेक वर्ष विदेशी पर्यटक पुग्ने गरेका छन् । कोरोना भाइरसका कारण मुलुककै पर्यटन यसवर्ष प्रभावित भए पनि डल्फिन अवलोकनका लागि विदेशी पर्यटक पनि आइपुग्दा उत्साह थपिएको ढुङ्गानाले बताए । ‘हरेक दिन आन्तरिक पर्यटक पनि डल्फिन अवलोकन गर्नका लागि पुगिरहेका छन’, उनले भने, ‘कोरोनाले पर्यटक आगमनलाई रोक्न सकेको छैन ।’ मनसुन सिजनभरि यहाँका नदीहरुमा देखिने डल्फिनले पर्यापर्यटनमा ठूलो टेवा पु¥याउने डल्फिन देखिने क्षेत्रका स्थानीयको अपेक्षा छ । ‘पर्यटक आएमा स्थानीयको आयआर्जनमा वृद्धि हुन सक्छ’, संरक्षणकर्मी समेत रहेका स्थानीय नरेन्द्रप्रसाद रेग्मीले भने ।