धनगढीका निजी विद्यालयले शुल्क वृद्धि गर्न नपाउने
2023/04/18, 10:59
 
ss

धनगढी उपमहानगरपालिका भित्र रहेका निजी विद्यालयले चालु शैक्षिकसत्रमा शुल्क वृद्धि गर्न नपाउने भएका छन् । धनगढी उपमहानगरपालिकाको नगर शिक्षा समितिको बैठकले निजी विद्यालयले यो शैक्षिकसत्रमा शुल्क वृद्धि गर्न नपाउने निर्णय गरेको हो । चैत २४ गते बसेको समितिको बैठकले सो निर्णय गरेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जानकारी दिए । निजी विद्यालयले शैक्षिकसत्र २०७९ मा कायम गरेको शुल्क लिनेछन् । 

यसैगरी, निजी विद्यालयले पाँच वर्षसम्म पाठ्यपुस्तक पनि परिवर्तन गर्न नपाउने निर्णय गरिएको छ । विद्यालयहरूले वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमा व्ययभार थपिएको गुनासो आएपछि त्यसलाई सम्बोधन गर्न पाठ्यपुस्तक पाँच वर्षसम्म परिवर्तन गर्न नपाउने निर्णय गरिएको जनाइएको छ । बर्सेनि पाठ्यपुस्तक परिवर्तन हुँदा अभिभावकले हरेक वर्ष नयाँ पुस्तक खरिद गर्नुपर्ने बाध्यता रहेको थियो । 

चालु शैक्षिकसत्रमा कुनै पनि निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा कारबाही गर्ने धनगढी उपमहानगरपालिकाले जनाएको छ । विद्यालयहरूले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गरे खबर गर्नसमेत प्रमुख हमालले नगरवासीलाई आग्रह गरे । 

धनगढी उपमहानगरपालिकामा ११० वटा निजी तथा संस्थागत विद्यालय छन् । जसमा ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको धनगढी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले जानकारी दिएको छ । नगर शिक्षा समितिले गरेको निर्णय कार्यान्वयन गर्न महाशाखाले सबै निजी विद्यालयलाई पत्राचार गरिसकेको जनाएको छ ।