धनगढीमा काँग्रेस नेतृ आरजुद्धारा १२ करोड बढीका तीन संरचनाको उद्घाटन
2023/04/18, 6:57
 
dd

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले आज संघीय सरकार र धनगढी उपमहानगरपालिकाको आर्थिक लगानीमा निर्माण भएका तीन आयोजनाको उद्घाटन गरेकी छिन्।

धनगढी उपमहानगरपालिका–८ मा निर्माण भएको तौलाहा तालका संरक्षण, धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयको भवन र वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिर परिसरमा निर्माण भएका विभिन्न संरचनाहरुको राणाले उद्घाटन गरेकी हुन्। काँग्रेसकी नेतृ देउवाले धनगढीमा १२ करोड ३७ लाख बढीका तीन भौतिक संरचनाको उद्घाटन गरेकी छन्।

धनगढी उपमहानगरपालिका–१६ को बेहडाबाबा मन्दिर परिसरमा तीन करोड ९४ लाख तीन हजार ८ सय ८१ लगानीका संरचनाको उद्घाटन गरिएको छ। मन्दिर परिसारमा विभिन्न संरचना निर्माणमा संघीय सरकारको दुई करोड ७५ लाख र उपमहानगरपालिकाको एक करोड ३६ लाख खर्च भएको छ। रिटिनिङ्ग वाल, पर्खाल, ब्लक लगायतका संरचनाहरु बेहडाबाबा मन्दिरमा निर्माण गरिएका छन्। 

देउवाले मंगलवार नै धनगढी उपमहानगरपालिका–८ को तौलाहा तालमा निर्माण गरिएका संरचनाको समेत उद्घाटन गरिन्। उनले ताल क्षेत्रमा दुई करोड ३४ लाख ८५ हजार पाँच सय १५ रुपैयाँमा निर्माण भएका संरचनाको उद्घाटन गरेकी हुन्। तौलाहा तालमा धनगढी उपमहानगरपालिकाको बजेटमा संरक्षणका लागि संरचनाहरु निर्माण गरिएको छ।

धनगढी नमुना प्राविधिक माध्यामिक विद्यालयको भवन समेत उद्घाटन गरिएको छ। धनगढी उपमहानगरपालिका–८ मा रहेको ६ करोड ८ लाख ३० हजार दुई सय ७० रुपैयाँ लागतमा निर्माण गरिएको विद्यालयको ३६ कोठे भवनको प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले उद्घाटन गरेकी छन्। सो भवन निर्माणमा संघीय सरकारको तीन करोड ७७ लाख र उपमहानगरपालिकाको दुई करोड ३० लाख खर्च भएको छ।