सीताराम ओझा- २०३० सालमा डडेल्धुरामा जन्मिएका चन्द्र प्रकाश पाण्डेय ५ बर्षकै उमेरमा धनगढी झरे । कक्षा ६ सम्म धनगढीकै ऐश्वर्य विद्या निकेतनमा पढे । विद्यालय तहकै पढाईकै क्रम उनी काठमाण्डौं लागे । सिद्धार्थ वनस्थलीबाट एसएसलसी दिएपछि उनी विज्ञान विषय पढ्न अमृत साईन्स कलेजमा पढे । त्यहाँबाट उत्तिर्ण भएपछि डाक्टर वनेर सेवा गर्ने सपना बोकेर त्रिभुवन शिक्षण अस्पताल महाराजगंज पुगे । एमवीवीएस र एमडी त्यहीबाट पुरा गरे । विशेषज्ञता हासिल गरेपछि एक बर्षको अनिवार्य रुपमा काम गर्नुपर्ने भएका कारण पाटन अस्पतालमा काम गर्न थाले । जागीरको सुरुवात भने उनले नेपाल मेडिकल कलेज जोरपाटीबाट थाले । हुन त एमडी गरे पनि उनी लोक सेवा दिएर सरकारी डाक्टर बन्न चाहन्थे । तर उनले सेवा सेवा दिन पाएनन् ।
पढेर डाक्टर त बनियो तर पढेकोभन्दा पनि परेर वढी थाहा हुन्छ भन्ने सोचमा प्रायः रहीरहन्थे चन्द्र प्रकाश । त्यसै क्रममा उनले नेपालगंज मेडिकल कलेज कोहलपुरमा काम गर्ने मौका पाए । केही बर्ष काम गरिसकेको अनुभव संगालेका उनले कोहलपुरमा भरपुर मेहनत र आफ्नो क्षमता र दक्षता देखाए । त्यहाँ उपचारका लागि जानेमध्ये कैलाली कञ्चनपुरका धेरै जना हुन्थे । यहाँ राम्रो अस्पताल र उपचार नहुँदा कोहलपुर नपुगि नहुने वाध्यता सुनाउँथे त्यहाँ उपचारका लागि पुगेकाहरु । आफ्नै ठाउँका मान्छे, कतिपय हाफन्तहरु पनि कोहलपुर धाएको देख्दा उनलाई पिरोलि रहन्थ्यो । कोहलपुरमा काम गर्दा चन्द्र प्रकाश धनगढी आई रहन्थे । यहाँ अस्पतालहरु त खुलेका थिए । तर त्यो वेला सामान्य सेवाहरु मात्रै दिईरहेका थिए ।
धनगढीमा नेपालगंज मेडिकल कलेजका डाक्टर हप्तामा एक दुई दिन वोलाउने चलन थियो । उनलाई पनि आई दिन केही अस्पताल सञ्चालकहरुले आग्रह गरेका थिए । आउन तयार थिए उनी । आफ्नै ठाउँमा काम गर्न पाउँदा गर्वको महसुस हुने भनाई थियो उनको तर उनी आएर मात्रै केही हुनेवाला थिएन् । उनलाई विरामीहरुको उपचारका लागि उपकरणहरु आवश्यक पर्थे । ती उपकरण कसैले पनि किनेका थिएनन् । उनका लागि मात्रै पनि किन्ने आँट कसैले गरेनन् । अप्रेशन गर्नका लागि उपकरण नभएकै कारण सामान्य शल्यक्रियाका लागि भारत जानुपर्ने वाध्यता थियो धनगढी र सुदुरपश्चिमवासीहरुको । कतिपय भने काठमाण्डौं धाएर पनि महँगोमा उपचार गर्थे । तर चन्द्र प्रकाशलाई कम खर्च गरेरै हुने उपचारका लागि अन्यत्र जानुपर्ने, महँगो पसा तिनुपर्ने देखेर त्यो वेला अचम्म लागिरहेको थियो की स्वास्थ्य क्षेत्रमा यस्तो राम्रो स्कोप छ कोही किन लगानी गर्दैनन् ।
अरुले सम्भावना नखोजेका वेला उनलाई पनि यही आएर काम गर्ने आँट आएन । त्यसपछि उनी ५ बर्षसम्म नेपालगंज मेडिकल कलेजमा काम गरेर चितवनतिर लागे । चितवन मेडिकल कलेजमा सँगै पढेका साथीहरुसँगै काम गर्न थाले । झण्डै ५ बर्षसम्म त्यहाँ काम गर्दा उनलाई धनगढीले भतभतीले पोलिरह्यो । सँगै पढेका र सँगै काम गरेका डाक्टरहरुसँग पनि सल्लाह गरे । धनगढी जाउ भनेर । मेहनत वेकार भयो । कोही पनि आउन तयार भएनन् । अन्ततः उनले आफै फर्किएर आफ्नो ठाउँमै केही गर्छु भन्ने अठोट वोकेर धनगढी फर्किए । धनगढी आवतजावत भएपनि १० बर्षसम्म कोहलपुर र चितवनमा काम गरेर फर्किदा पनि धनगढीमा स्वास्थ्य क्षेत्रमा केही परिवर्तन भएको देखेन । अब अरुले गर्लान भनेर कुर्नुभन्दा आफै लागौं भन्ने सोचे । सेती प्रादेशिक अस्पतालको अगाडी विकास मौनी र आशिष खड्काले मिलेर भार्गव मेडिकल चलाएका थिए । उनीहरुसँग चन्द्र प्रकाशको भेट भयो ।
केही समय सामान्य रुपमा अन्य मेडिकल जस्तै विरामी हेर्ने काम गरे उनले त्यहाँ । त्यस क्रममा विरामी हेर्दा सामान्य किसिमका समस्या भएकाहरुको आफुले पनि अप्रेशसन गर्न सक्छु लाग्थ्यो उनलाई । तर समस्या थियो अप्रेशनका लागि आवश्यक पर्ने उपकरणकै । धनगढी फर्किएपछि उनले केही समय सेती अस्पतालमा पनि जागीर गरे । मेडिकलमा पनि विरामी हेरे । कतै काम गर्दा पनि उनले ईच्छाईएको काम गर्न सकेनन् । अन्ततः मेडिकलकै साथीहरुसँग सल्लाह गरे । उनीहरु पनि तयार भए अस्पताल खोल्न, उपकरण ल्याउन र शल्यक्रिया सेवा दिन । अनि त्यहीबाट जन्मियो सीपी अस्पताल । हुन त डाक्टर चन्द्र प्रकाश पाण्डेयकै नामको संक्षिप्त रुप सिपी नै हुन्छ । तर उनको नामबाट भने अस्पतालको नामाकरण भएको होईन् । सिपीको पुरा रुप हो केयरिंङ आवर प्यासन अर्थात विरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने नशा । हुन त धनगढीको चटकपुरमा रहेकोले सीबाट चटक र पी बाट पुर यानिकी चटकपुर अस्पताल पनि हुन्छ । तर सवैले चिन्ने नाम भनेकै सिपी अस्पताल भनेर हो ।
सिपी अस्पतालको जन्म भएदेखि नै त्यसलाई हुर्काउने वढाउने र विस्तारको काम पनि तिव्र गतिमै भयो । संरचना निर्माण भए । उपकरण थपिए । प्रयोगशाला बन्यो । अप्रेशन ठियटर तयार भयो । जे जे सकिन्छ त्यही अप्रेशनको काम सुरु भयो सिपी अस्पतालबाट । अप्रेशसन गर्न थाले डाक्टर चन्द्र प्रकाश पाण्डेय अर्थात सिपी पाण्डेयले । ईन्डोस्कोपी, भिडियो ईन्डोस्कोपी सेवा भित्रियो धनगढीमा । सेतीमा काम गर्दा एक महिनामा चालिस पचास जना एपेन्डिसको अप्रेशनका लागि आउथे ।
त्यहाँ समयमै उपचार नहुने । हप्तौसम्म कुर्नुपर्ने । अन्य ठाउँमा जानुपर्ने । अप्रेशन गर्न सकिने हुँदा हुँदै पनि सर्जनहरु डराउने । अप्रेशन गर्न सकिनेलाई पनि रेफर गर्ने । उपचार नपाएर पनि मर्नुपर्ने स्थितिको सिर्जना भईरहेको थियो । जे जे गर्न सकिन्छ गर्नु पर्यो भनेर आँट गरे उनले । अन्य स्वास्थ्य क्षेत्रमा भएकाहरुले पनि ढाडस दिए । शल्यक्रिया गर्न सुरु गरेपछि उनलाई पत्याउने कोही पनि दिएनन् । धनगढीमा उनको नाम पनि नयाँ थियो । विशेषज्ञता थियो, अनुभव थियो । वस थिएन त धनगढीमा उनको नाम चलेको । उनी आत्तिएनन् । डराएनन् । विचलित भएनन् ।
नचिनेको र नाम नसुनेको डाक्टरमा उपचारका लागि आउँदैनन् भन्ने उनलाई रत्तिभर पनि लागेको थिएन् । चिनेको छैन भने चिनौंला । राम्रो काम गरेर विरामीहरुको विश्वास जितौला । धर्यता गरेर पर्खिन्छु केही न केही पक्कै हुने छ भन्ने कुरा उनको मनको एक कुनामा डरले डेरा जमाउँदा पनि डगमगेको थिएनन् । सिपी अस्पतालमा उनले अप्रेशन सुरु गरे । अस्पताल सुरु गरेको ५ बर्षमै उनले नाम बनाए । अस्पताल बनाए । आफु बने र साथीभाईलाई बनाए । सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा सर्जनहरुको नाम आउने ब्रान्ड बनिसकेको छ डाक्टर सीपी पाण्डेय अर्थात चन्द्र प्रकाश पाण्डेय । अस्पताल लाईनबाट सुरु भएको अस्पतालले नाम कमायो । उनले विश्वास कमाए । त्यहाँ अस्पताल चलाउन ठाउँ अपुग भयो । अन्य स्वास्थ्य सुविधा थप्न पर्ने स्थिति पनि आईसकेको थियो ।
त्यहाँबाट अस्पतालाई चटकपुरमा आयल निगम अघिको सुविधा सम्पन्न अस्पतालमा सर्यो । उपचारका लागि ठाउँ होईन विरामीहरुको मन जित्नुलाई ठुलो मान्थे उनी । टाढा हुन्छ की विरामीहरु उपचार गर्न आउँदैनन् की भन्ने चिन्ता थिएन् उनलाई । धनगढी वसाईले उनलाई राम्रो पाठ सिकाईसकेको थियो । हुन पनि त्यस्तो केही भएन् । सेवा थपेपछि आउनेहरु वढे । ल्याप्रोस्कोपी, भिडियो ईन्डोस्कोपी सेवाहरुबाट धेरै विरामीहरु लाभान्वित भए । त्यसमै चन्द्र प्रकाशले कोर्नोस्कोपी सेवा थपे । जुन सेवा आजसम्म सुदुरपश्चिममा अन्य अस्पताल खुले पनि त्यो सेवा सुरु भएको छैन् । कोर्नोस्कोपी भनेको ठुलो आन्द्रा हेर्ने र उपचार गर्ने प्रविधि हो ।
अस्पतालको सुरुवात डाक्टर पाण्डेय र एक जना मेडिकल अधिकृतबाट भएको थियो । आजको दिनसम्म आईपुग्दा दुई जना सर्जन, विभिन्न विशेषज्ञ सहित ६५ जना स्वास्थ्यकर्मी र कर्मचारीहरुले अस्पताल चलाएका छन् । अस्पताल यहाँसम्म आईपुग्नमा उनले धेरै आरोह अवरोह पार गरे । अस्पताललाई सुविधायुक्त त बनाए तर आफुले गर्न सकिने अप्रेशन पनि अन्त पठाउनुपर्ने । कारण थियो एनेस्थेसिया नभएर । उपकरण त किन्न सकिन्छ । एनेस्थेसिया कसरी ल्याउने । हत्तपत्त सुदुरपश्चिममा कोही आउन नचाहने । सरकारी अस्पतालमा पनि कोही नआउने स्थितिमा उनले एउटा जुक्ती निकाले । चितवनमा सँगै काम गरे साथीहरुलाई एनेस्थेसिया पठाउन आग्रह गरे । आफै पनि खोजे । यहाँको सम्भावना देखाए । बल्ल एक जना एनेस्थेसिया डाक्टर आए, डाक्टर सन्तोष खनाल । उनले वोलाएका ती डाक्टर लामो धनगढी वसाईपछि अहिले अष्टेलियामा रहेका छन् । उनले वोलाएर धनगढी आएका खनालसँग राम्रो कम्बिनेस मिल्यो । वाहिर पठाउनुपर्ने अप्रेशनहरु आफै गर्न थाले । दिनमा चार पाँच अप्रेशन नगरेको दिन हुन्थेन उनको । यहाँका धेरै विरामीले राहत पाए । यसअघि अप्रेशन गर्न जानका लागि धेरै खर्च लाग्थ्यो । अप्रेशनको खर्च कम लाग्दा पनि जान आउन खान वस्नको खर्च धेरै नै हुन्थ्यो । अहिले त्यो समस्या हटेको छ ।
धनगढीमा सिपी अस्पताल खुलेको ६ बर्षको अवधिमा झण्डै ५ हजारको गम्भीर प्रकृतिका अप्रेशन गरिसकेका छन् उनले । सामान्य अप्रेशनको त कुनै लेखाजोखा नै छैन । त्यसमा सवैभन्दा वढी उनले एपिन्डीसाईडको अप्रेशन गरेका छन् । अहिले पनि अधिकांश समय अप्रेशनकै लागि अस्पतालमा विताउने सिपीलाई आफ्नो उर्जावान समय आफ्नै ठाउँमा खर्च गर्न पाएको गर्व महसुस भईरहेको छ । अधिकांश मानिसहरु जीवनको उत्तरार्धमा आउने परिपाटी रहेको भएपनि आफ्नो उर्जावान समय आफ्नै ठाउँका लागि दिन पाउँदा उनी आफुलाई भाग्यमानी ठान्छन् । उनले आजभोली पनि महिनामा एक सयभन्दा वढी अप्रेशन गर्नु परिरहेको छ ।
विरामीहरुको कमि छैन । अस्पतालहरुको कमि छैन । पछिल्ला दिनहरुमा थप अस्पतालहरु खुलेका छन् । स्वास्थ्य क्षेत्रमा अस्पतालहरु वढी खुल्नुलाई उनी सकारात्मक मान्छन् । सुदुरपश्चिममा स्वास्थ्य क्षेत्रमा स्कोप छ भनेर आधुनिक सेवाहरु थपिरहेका छन् । अस्पतालहरु थपिरहेका छन् । तर अस्पताल थपिदा व्यवसायिक रुपमा पनि कुनै फरक नपर्ने तर्क उनको छ । यसले विरामीहरुलाई उपचारका लागि छान्ने मौका दिएको मान्छन् उनी । जसले राम्रो सेवा दिन्छ, जसले राम्रो उपचार गर्छ विरामीहरुले उसैलाई पत्याउने उनको विश्वास छ ।
२०७० सालमा स्थापना भएको सिपी अस्पतालले आफुलाई समय अनुसार सेवाहरु थप गरिरहेकै छ । त्यसैमा सेवाहरु परिमार्जित र थप गर्दै गएका छन डाक्टर पाण्डेय । १५ शैय्याको अस्पताललाई ५० शैय्यामा पुराउने योजनामा छन उनी । आईसियु, एनआईसियु, सिटी स्क्यान लगायतका सेवाहरु पनि थप हुदैछन् सिपी अस्पतालमा । युरोलोष्टि, न्युरोलोष्टिक सेवा दिने सोचमा छन । किड्नीको पनि दुरविन विधिबाट उपचार सेवा धनगढी ल्याउन लागिरहेका छन् उनी । अस्पताललाई ५० शैय्यामा स्तरोन्नतिको काम सुरु भईसकेको छ । धनगढीकै वोराडाँडीमा आफ्नै जग्गामा अस्पताल भवन निर्माणको काम लडकाउनले ढिलो भएको छ । हुन त गर्न चाहेको भए उनी अहिले नै गर्न सक्ने । कागजमा अस्पताल ५० शैय्याको बनिसक्थ्यो । तर उनलाई कागजमा होईन वास्तविकतामै बनाउँनुछ ।
अधिकांश समय अस्पतालमै वित्ने गरेका कारण उनी कमै सामाजिक संस्थामा अवद्ध छन् । सामाजिक कामका लागि सहयोग गर्न पछि हट्दैनन् । तर ती सामाजिक संस्थामा वस्दैनन् । कारण समय दिन नसकेर । लाईन्स क्लब लगायतमा उनको आद्धता थियो । संस्थाहरुमा पदािधकारी पनि थिए । आफै समय दिन नसक्ने भएका कारण अहिले सामान्य सदस्य त छन् मुख्य पदहरुमा कहिकतै छैनन् । अस्पतालको तर्फबाट पनि विभिन्न सहयोग र सामाजिक कामहरुमा भने सक्रिय भएरै लागिरहेका हुन्छन् । पहाडी जिल्लाहरु, कैलाली कञ्चनपुरमा निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेर समाजका लागि पनि योगदान दिईरहेका छन् उनी र उनी सहितको सीपी अस्पताल । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले गत पुसमा आयोजना गरेको प्रथम सुदुरपश्चिम स्पोर्टस अवार्डमा पनि सह प्रायोजकको रुपमा सिपी अस्पतालले सहयोग गरेको थियो । आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाईसकेका छन डाक्टर पाण्डेयले ।
कैलाली कञ्चनपुरका सीमावर्ती वजारकामा उपचारका लागि जाने देखेर उनलाई दया लाग्छ । धनगढीका सामान्य मेडिकलभन्दा पनि नराम्रो सेवा सीमावर्ती क्षेत्रमा दिएर नेपालीहरुलाई समस्यामा पारिरहेकोमा उनी दुःखी पनि छन् । नेपालीहरु आफै वुझेर जानुपर्ने तर भनेकै भरमा जाँदा थप समस्याहरु आएपछि आफ्नोमा पनि उपचारका लागि आउने गरेको उनको अनुभव छ । भारतका ठुला शहरमा ठुला अस्पतालहरुले राम्रो सेवा दिईरहेको अवस्थामा अधिकांश सेवाहरु धनगढी पनि भित्रिएका छन् । भित्रिने तयारीमा पनि छन् । उनी स्वयम पनि भित्र्याउने तयारीमा छन् । आफ्नो ठाउँका लागि योगदान गर्न पाएकोमा गर्वले छाती फुलाउने डाक्टर चन्द्र प्रकाश पाण्डेय अर्थात सिपी पाण्डेयको सल्लाह एक भारतीय डिटरजेन्ट पाउडरको विज्ञापनसँग मिल्छ । पहिले ईस्तेमाल करे, फिर विश्वास करे अर्थात पहिले सीपी अस्पतालबाट डाक्टर सीपी पाण्डेय लगायतका स्वास्थ्यकर्मीहरुको उपचार लिनुहोस्, त्यसपछि मात्रै विश्वास गर्नुहोस ।